Comments Add Comment
प्रचण्डलाई ओलीका १७ प्रतिप्रश्न : :

‘फौजदारी’ आरोप लगाएको भन्दै प्रचण्डमाथि कारवाहीको माग

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका छैनन्, प्रचण्डमाथि नै प्रतिपश्नहरु गरिएको छ ।

प्रचण्डको ‘प्रस्ताव’ नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको भन्दै उनले भनेका छन्, यो प्रथम दृष्टिमै खारेजयोग्य छ ।’ साथै पार्टीका बैठकलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुन नहुने समेत अध्यक्ष ओलीले प्रस्तावमा उल्लेख गरेका छन् ।

प्रचण्डको प्रस्तावमा आफूमाथि लागेको आरोपको विना कुनै आग्रह र आक्रोश आफ्ना विषयहरु राख्ने भन्दै उनले प्रचण्डमाथि प्रतिप्रश्न गरेका छन् ।

पहिलो प्रश्न : बहस कि वारपारको लडाइँ ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले सुरुमै प्रचण्डलाई प्रश्न गरेका छन्, सुरुमै तपाईँलाई मेरो प्रश्न छ- पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ?’ अन्तरविरोध नै हो भने पनि मित्रतापूर्ण कि शत्रुतापूर्ण भन्दै उनले प्रचण्डलाई वाद-प्रतिवाद-संवादको कि वाद-प्रतिवाद र विग्रहको बाटो रोजेको भनेर प्रश्न गरेका छन् ।

एकतर्फी लिखत प्रस्ताव ल्याएर प्रचण्डले पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको र कम्युनिष्ट आन्दोलनलाई गंभीर सङ्कटमा धकेलेको आरोपको आरोप छ । प्रचण्डको प्रस्ताव राजनीतिक नभई आफ्नै सहयोद्धामाथि लगाएको अभियोगपत्र भएको भन्दै उनले भनेका छन्, यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।’

प्रचण्डको प्रस्तावले राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएको, विपक्षीहरुले हातहातमा बोकेर हिँड्न थालेको भन्दै उनले यसलाई यस्तै हो भनेर छाड्न नमिल्ने बताएका छन् ।
प्रचण्डले आफूमाथि फौजदारी प्रकृतिको आरोप लगाएको बताउँदै प्रधानमन्त्री ओलीले यसमा आत्मालोचना गरेर प्रचण्ड उम्कन नमिल्ने र उनीमाथि कानूनी एवं पार्टी विधानअनुसार कारवाही हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेका छन्, ‘तपाईंले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकषिर्त हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनुभएको छ ।’

यति गम्भीर आरोप लागेको मान्छे (आफू) ‘आत्मालोचना’ गरेर उम्किन नसक्ने भन्दै उनले भनेका छन्, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्वाहीको भागिदार बन्नुपर्छ ।’

उनले अघि भनेका छन्, तपाइर्ँलाई मेरो चुनौती छ- कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

दोस्रो प्रश्न : कसको इशारामा दाउपेच ?

प्रधानमन्त्री ओलीले पहिलो संविधानसभा निर्वाचनपछि भएको राष्ट्रपति निर्वाचनको प्रशंग ल्याएर प्रचण्डलाई प्रश्न गरेका छन् ।

निर्वाचनमा पाएको सफतलताको उन्मादमा पहिला गिरिरजाप्रसाद कोइराला र पछि माधवकुमार नेपाललाई धोका दिएको भन्दै उनले भनेका छन्, उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला । कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच ?’

त्यसका बाबजुद जनादेशको कदर गर्दै माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भनेर तत्कालीन एमाले उभिएको तर प्रचण्ड संविधान निर्माणको साटो राज्यसंयन्त्रमा हस्ताक्षेपमा लागेको उनले बताएका छन् । दोस्रो संविधानसभामा निर्वाचन परिणाम स्वीकार गर्न गाह्रो भएपछि छानविन गरेर फेस सेभिङ गर्नु परेको भन्दै ओलीले भनेका छन्, ‘सबै सम्झना छ नि, होइन र ?’

संविधान निर्माण र यसप्रतिको प्रचण्डको ‘निष्ठा’ नभई परिवर्तित शक्ति सन्तुलनले निर्माण गरेको वाध्यात्मक परिस्थितिको उपज भएको ओलीले बताएका छन् । तपाईंको रुचि आज पनि संशोधनको नाममा निरन्तर प्रयोग एवं परिक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्ने छ भन्ने कुरा धेरै तथ्यहरुले पुष्टि गर्छन्’ ओलीको प्रस्तावमा भनिएको छ ।

तेस्रो प्रश्न : नैतिकताका प्रश्नले अलिकति पनि छोएन ?

उनले आफ्नो नेतृत्वको अघिल्लो सरकार ढालेको तथा एमालेबिहीन मुलुक बनाउने प्रयासको अगुवाई गरेको विषय पनि प्रस्तावमा उल्लेख गरेका छन् । स्थानीय चुनावमा एमाले पहिलो शक्ति भएर आएको र जातीय-क्षेत्रीय अतिवाद निस्तेज भएको भन्दै उनले भनेका छन्, अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्‍यायो ।’

त्यसबेला प्रचण्डसामू कांग्रेससँग गगठबन्धन गर्दै विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने भन्ने बाटो रहेको र त्यही बेला चुनावी गठबन्धनको सहमति भएको ओलीले बतँएका छन् । उनले भनेका छन्, ‘मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन- कमरेड, आफै सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन ?

‘म आज पनि यो प्रश्न सोध्दिनँ, किनभने यो राम्रो कामको लागि तपाईंले लिएको जोखिम हो भनेर मैले अनुमान गरेँ । तर जब आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरुले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ, गंभीर नैतिक प्रश्न त उठ्छ नै ।’

चौथो प्रश्न : सूर्य चिन्हको सहमति किन तोड्नुभयो ?

ओलीले अर्का अध्यक्ष प्रचण्डमाथि सूर्य चुनाव चिन्हमा चुनाव लड्ने सहमति तोडेको आरोप लगाएका छन् । २०७४ असोज १४ गते तत्कालीन एमाले र माओवादीबीच चुनाव गठबन्धन गर्ने सहमति भएको थियो ।

त्यसबेला सूर्य चुनाव चिन्हमा सहमति भएपनि प्रचण्डले २४ घण्टामै तोडेको र त्यसको मूल्य चुनावमा व्यहोरेको ओलीको प्रस्तावमा उल्लेखअ छ । यसबारे आफूले कहिल्यै प्रश्न नगरेको, तर अहिले पार्टी एकताको औचित्यमाथि नै प्रश्न उठेकाले सोध्न मिल्छ होला नि भन्दै उनले भनेका छन्, ‘२४ घण्टामै सहमति उल्ट्याउने यो निर्णय तपाईंले कसको दबाब र प्रभावमा गर्नुभएको थियो? अनि, यसले पनि तपाईं सधैभरि सहमतिको पक्षधर भएको पुष्टि गर्छ र ?’

पाँचौं प्रश्न : चुनावलगत्तै प्रधानमन्त्री बन्ने प्रयास किन ?

चुनावमा बाम गठबन्धनको बहुमत आएपछि प्रचण्डले कांग्रेससँग मिलेर सरकार प्रधानमन्त्री बन्न खोजेको आरोपको आरोप छ । निर्वाचन सकिएको दुई महिनासम्म परिणाम निकाल्न अस्वीकार गरेको र गठबन्धनको पक्षमा बहुमत हुँदाहुँदै पनि सरकार बन्न कृत्रिम अवरोध सृजना गरिएको उनले बताएका छन् ।

सरकार बन्ने अवस्था बनेपछि पनि ७ फागुन २०७४ मा दुई अध्यक्ष र आलोपालो प्धानमन्त्तीको लिखित सहमति नगरेसम्म सरकारले पूर्णता नपाएको भन्दै उनले भनेका छन्, एउटै चुनावी घोषणापत्र सहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयाश गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो ? चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाइर्ँभित्र सुषुप्त रुपमा लुकेको सत्तालिप्सा ?’

नयाँ सामझदारी (आलोपालो)सँगै आफू प्रधानमन्त्री बनेको र प्रमुख पदमा त्यसरी नै समझदारी गरेको भन्दै उनले भनेका छन्, यहाँले ‘महान त्याग’ को कुरा गर्नु अगाडि निर्वाचन परिणाम के थियो ? दुई पार्टीलाई प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फको लोकपि्रय मत कति थिए ? एकचोटी स्मरण गर्नु राम्रो हुने छ ।’

निर्वाचन परिणाम, नयाँ सरकार गठन र पार्टी एकीकरणले ल्याएको उत्साहमा चिसो पानी खन्याउने गरी आलोपालो प्रधानमन्त्रीको सहमति भएको ‘खुलासा’ गरेको, मन्त्रिपरिषद् पुनर्गठनबारे बोल्दै हिँडेको भन्दै उनले प्रचण्डलको ध्यान दृष्टि प्रधानमन्त्रीमा मात्र रहेको बताएका छन् ।

छैटौं प्रश्न : खुला प्रतिस्पर्धा गर्न तयार हो ?

आफूलाई अलिकति पायक परेको हिसाब गरेर प्रचण्डले कमिटीमा अल्पमत र बहुमतको विधि कार्यान्वयनको वकालत गर्न थालेको नेकपा अध्यक्ष ओलीको आरोप छ । केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या रहेको स्मरण गराउँदै उनले प्रश्न गरेका छन्, बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’

साथै अल्पमत र बहुमतको विधि प्रयोग गर्ने भए एकताको आधार फेरेर विधान संशोधन गर्नुपर्ने उनले बताएका छन् । पार्टी होस् कि राज्य, हरेक जिम्मेवारी-प्रतिस्पर्धामा आफुले विजय हासिल गरेको भन्दै उनले प्रचण्डलाई चुनौती दिएका छन्, महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो ? म त तयारै छु ।’

सातौं प्रश्न : पार्टीले मलाई बर्खास्त गरेको थियो र ?

मंसिर २०७६ मा नेकपा सचिवालयले ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने सहमति भएको थियो । तर निर्णय भएको दुईदिनपछि नै ओलीले त्यसविरुद्ध बोलेको प्रचण्डको आरोप छ ।

ओलीले भने त्यो निर्णयमा आफ्नो असहमति नभएको तर टेलिभिजन कार्यक्रम ‘फायरसाइड’ लाई दिएको अन्तर्वार्तामा पनि आफूले दुबै जना कार्यकारी अधिकारसहितकै अध्यक्ष हौं भनेर मात्र भनेको स्पष्टीकरण दिएका छन् । उनले प्रचण्डलाई प्रश्न गरेका छन्, के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र ?’

तैपनि प्रचण्डलाई काम गर्न सहज होस् भनेर आफू त्यसपछि भएको केही बैठकमा नगएको उनले बताएका छन् । तर प्रचण्डले खुमलटारमा पार्टीका केही नेताहरुसँग बस्न थालेपछि समस्या भएको भन्दै ओलीले भनेका छन्, मसँग छलफल गर्नु पर्दा या कमिटीमा कुनै निर्णय गर्नु पर्दा आफ्नाहरुबीच साझा धारणा बनाएर मात्रै आउनु पर्ने र कमिटी बैठकहरु गुटका निर्णय अनुमोदन गर्ने असहाय थलो जस्तो हुनु पर्ने स्थितिप्रति मैले आपत्ति जनाएको हुँ ।’

‘आज पनि मेरो प्रश्न छ, कमिटीमा खुल्ला खुलस्त छलफल गरेर निष्कर्षमा पुगिने ठाउँ हुँदाहुँदै, नेताहरुलाई निश्चित मान्यतामा ‘खः’ गराएर मात्रै बैठकमा आउनु पर्ने यस्तो अविश्वास र दाउपेचको आवश्यकता किन पर्‍यो ? कमिटीमा विषयगत रुपमा हुने छलफल, सहमति र असहमति तथा त्यस आधारमा हुने गतिशीलतालाई बन्धित बनाउनु पर्ने आवश्यकता किन पर्‍यो ?’

दुई नेताबीच असमझदारी बडेपछि २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले दुई अध्यक्षको काम बाँडफाँट गरेको थियो । सरकार सञ्चालनसम्बन्धी सबै कामको जसअपजस आफूले लिने भन्दै उनले प्रचण्डलाई आफ्नो भागमा परेकबो काम के गर्नुपयो भन्ने प्रश्न पनि दोहोर्‍याएका छन् ।

आठौं प्रश्न : यो भन्दा के त्याग गर्नु ?

प्रचण्डले आफ्नो प्रस्तावमा अब ओलीले त्याग गर्ने बेला आएको बताएका थिए । तर ओलीले भने आफूले औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको बताएका छन् । र, सोधेका छन्, यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ?’

नकेपा अध्यक्ष ओलीले चार महिनापछि हुने महाधिवेशनबाट सहन नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर नेतृत्व परिवर्तनको खेलमा किन लागेको भनेर अर्का अध्यक्षलाई प्रश्न गरेका छन् ।

साथै प्रस्ताव गरेका छन्, त्यागको यो सिलसिला आजै सुरु गरौँ Û बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’

नवौं प्रश्न : कारबाहीको दायरामा ल्याउने म कसरी दोषी ?

प्रचण्डले आफ्नो प्रस्तावमा पारदर्शीता, भ्रष्टाचार लगायतका विषयमा जनताले प्रश्न उठाएको भन्दै प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका थिए । तर ओलीले पूर्वाग्रह राखेर आफूलाईर् केही केसमा जोड्ने धृष्टता भएको बताएका छन् ।

उनले भनेका छन्, वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो ? ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो ? सबै स्पष्ट छैन र ?’ सुरक्षण मुद्रण प्रेस स्थापनाबारे सम्झौता नै नभएको विषयमा आफूलाई जोड्नु हद दर्जाको पूर्वाग्रह भएको उनले बतँएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा जोडिएको ओम्नी समूहका बारेमा अख्तियार र अदालतले अनुसन्धान अगाडि बढाइरहेकै भन्दै उनले यसमा अनियमितता भएको रहेछत भने दोषीले उन्मुक्ति नपाउने बताएका छन् ।

यसलाई राजनीतिकरण गरेर प्रचण्डले आफूभित्रको तुषमात्रै पोखेको भन्दै उनले भनेका छन्, मैले त विगतमा भएका विभिन्न अपचलनहरुको उत्खनन गर्ने, दोषीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउने र विगतमा फोहोर गरिएको स्थितिलाई सुधार्ने काम गरेको हुँ । सम्झौता गर्नेहरुलाई चोख्याउने र त्यसको उत्खनन गरेर कार्बाहीको दायरामा ल्याउनेलाई चााहिँ दोषी बनाउने ?’

भ्रष्टाचारका थुपै विषय जनस्तरमा चर्चामा रहेको र कतिपयमा प्रचण्डलाई पनि जोडेको उनले स्मरण गराएका छन् । साथै कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको टिप्पणी रहेको भन्दै उनले भनेका छन्, त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र ? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’

दशौं प्रश्न : कुन प्रचण्ड सक्कली, कुन नक्कली ?

नेकपा अध्यक्ष ओलीले नयाँ नक्सा जारी गरेको विषयमा पार्टी स्थायी कमिटीको निष्कर्ष र प्रचण्डको प्रस्ताव बाझिएको बताएका छन् ।

२६ भदौको स्थायी कमिटी बैठकको निर्णयमा ‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधन सहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ‘ भनिएको र अहिले प्रचण्डको प्रस्तावमा आफ्नो निष्ठामाथि प्रश्न उठाएर ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको’, ‘विदेश मामला र कुटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै… देशलाई क्षति पुर्‍याएको’ जस्ता आरोप लगाएको भन्दै ओलीले भनेका छन्, कुन चाहिँ सक्कली र कुन नक्कली हो ? म साँच्चै नै कन्फ्युज्ड भएको छु ।’

साथै उनले आफूभन्दा पहिला प्रचण्ड दुई पटक प्रधानमन्त्री भएको बेला लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो ? भनेर प्रश्न समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भएको भेटबारे उठाइएको प्रश्नमा समेत असन्तुष्टि जनाएका छन् । विशेष अवस्थामा राष्ट्राध्यक्ष/सरकार प्रमुखले पठाएका गैर कुटनीतिक क्षेत्रका प्रतिनिधिलाई उनको पदीय हैसियत सोधेर भेट्ने नभेट्ने तय नगरिने उनको तर्क छ । तर जसले विदेशी गुप्तचर पदाधिकारीहरुसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत बसेको छ, उनीहरुले नै आफूमाथि प्रश्न उठाउँदा निकै दुःख लागेको ओलीले बताएका छन् ।

एघारौं प्रश्न : एमसीसी खारेज गर्ने हो ?

अध्यक्ष ओलीले अमेरिमी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)बारे तत्कालीन नेकपा माओवादी र कांग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर भएको भन्दै प्रचण्डमाथि नै प्रश्न उठाएका छन् । हस्ताक्षरकर्ता ‘राष्ट्रवादी हुने, जसले हस्ताक्षर गरेपनि नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने आफू कसरी ‘राष्ट्रिय हित विरोधी’ भनेर उनले प्रश्न गरेका छन् ।

आफूले एमसीसीबारे पार्टीले दिन सुझावलाई ध्यानमा दिने, प्रष्ट पार्नु वा सुधार गर्नुपर्ने भए त्यसका लागि पनि प्रयास गर्ने भनेको स्मरण गर्दै उनले प्रचण्डलाई दोहोरो भूमिका नखेल्न आग्रह गरे । प्रचण्डले कहिले पारित गरिन्छ भन्ने कहिले सभामुखलाई अन्यौलमा राखेर, भ्रामक प्रचार गरेर जटिलता ल्याउने काम गरेको भन्दै उनले भनेका छन्, कि खुलस्त रुपमा यस सम्झौतालाई खारेज गर्नु पर्छ भन्नुस् ।

बाह्रौं प्रश्न : यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्नुहुन्छ ?

ओलीले शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा आफूलाई दोषी देखाएको भन्दै कडा आपत्ति जनाएका छन् ।

यो प्रक्रिया सकारात्मक टुंगोमा लगाउँछु भनेर हालै मात्र आफूले भनेको तथा तत्कालीन दुई पक्ष तत्कालीन माओवादी र कांग्रेस मिलेर जे विकल्प दिनुहुन्छ, त्यसलाई अगाडि बढाएको उनले बताएका छन् । यो मुद्धामा आफू निकै संवेदनशील रहेको भन्दै उनले भनेका छन्, म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ । तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ?’

तेह्रौं प्रश्न : आफैंलाई एकचोटि नियालेर हेर्नुहुन्छ ?

नेकपा अध्यक्ष ओलीले राजनीतिक निष्ुक्तिहरुमा आफैंले परिवार, व्यक्तिगत लाभ केही नहेरेको बताएका छन् ।

तर, आफूमाथि नातावादको आरोप लागेको भन्दै उनले प्रचण्डलाई एकपटक आफैंलाई नियालेर हेरेको भएको भए हुन्थ्यो भनेका छन् । न्यूनतम मानवीय सम्बन्ध र मर्यादालाई ध्यानमा राखेर उम्मेदवारी, मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिका विषयमा प्रचण्डले भनेका विषय सार्वजनिक नगर्ने उनले बताएका छन् । । उनले अघि भनेका छन्, ‘तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ? तपाईंले एकछिन एकान्तमा बसेर, आफैतिर नियालेर हेर्नुस् त, हिँजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ?’

आफूले जीवनभरि समाजमा पनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गर्दै आएको भन्दै उनले आफूमाथि ‘व्यक्तिवादी’ आरोप लगाउँदा म खिस्स हाँस्न बाहेक केही गर्न नसक्ने बताएका छन् ।

चौधौं प्रश्न : केन्द्रसँग परामर्श लिनुपर्दैन ?

नेकपा अध्यक्ष ओलीले संघीयताप्रपित आफ्नो निष्ठामाथि प्रश्न उठाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । संघीयता नेपालको यर्थाथ भएको र आफूले गएको साढे २ वर्ष्मा यसलाई कार्यान्वयन गर्न नेतृत्व गरेको उनले बतँएका छन् । संघीयताप्रति संन्देह गर्नेहरुलाई ओेठे जवाफले नदिई सङ्घीय प्रणाली स्वयंले डेलिभरी दिनुपर्ने उनले बताएका छन् । साथै प्रदेशहरुलाई निश्चित स्वायत्तता भएपनि समग्र राज्य प्रणालीका अङ्ग भएको बुझ्नुपर्ने उनले बताएका छन् ।

साथै कर्णाली प्रदेशका नेताहरुसँग भएको भेटमा आफूले ‘प्रदेशहरु राज्यका अङ्ग हुन्’ भन्दा ‘प्रदेशहरु केन्द्र सरकारको प्रशासनिक इकाइ हुन् भन्यो’ भनेर रिपोर्टिङ भएको उनले बताएका छन् ।

प्रदेश र प्रदेश सरकार सापेक्ष रुपमा स्वायक्त भएपनि नेकपा एकीकृत पार्टी भएको भन्दै उनले भनेका छन्, ‘कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन ? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरुलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ ? मैले कणर्ाली प्रदेशका नेताहरुलाई यही विषयमा ध्यानाकर्षण गरेको हुँ ।’ तर आफ्नो विरोध गर्ने नाममा प्रचण्डले जे तर्क अघि सारेका छन्, त्यो नजिका रुपमा स्थापित भए कालान्तरमा महंगो साकित हुने ओलीको चेतावनी छ ।

पन्ध्रौं प्रश्न : यति कमजोर हुनुहुन्छ नेताहरु ?

ओलीले प्रस्तावमा ‘सङ्कटकाल लगाउन खोजेको’, ‘संसद भङ्ग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरु व्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’ भन्ने आरोपहरुको समेत खण्डन गरेका छन् ।

लोकतन्त्र आफ्नेा बाध्यता नभई निष्ठा हो भएको र विधिको शासन ओठेभक्ति नभई आफ्नो छनोट भएको उनले बताएका छन् । सिधा र खुल्ला वहस, अनि आवश्यक परे सिधा लडाइँ लड्ने आफ्नो विशेषता भएको भन्दै उनले भनेका छन्, छलकपट र दाउपेच मेरो स्वभाव होइन । म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनु पर्ने कमजोर धरातलमा उभिएको छैन ।’

‘मैले लडाएर लड्ने त्यति कमजोर हुुनुहुन्छ र हाम्रो पार्टीका नेताहरु ? आफ्नै छायासँग पनि तर्सिनु पर्ने अवस्थाबाट मुक्त हुनुहोस् !’ उनले भनेका छन् ।

सोह्रौं प्रश्न : सैद्धान्तिक जवाफ दिनुपर्दैन ?

ओलीले जनताको बहुदलीय जतवाद -जबज)बारे पनि बोलेका छन् । महाधिवेशनसम्म यसलाई थाती राख्ने र जनताको जनवाद पदावली प्रयोग गर्ने निर्णय आफूले नभुलेको उनले बताएका छन् ।

तर नेपालको कम्युनिष्ट आन्दोलनलाई यस उचाइमा ल्याइपुर्‍याउन जबजले खेलेको भूमिकाको सकारात्मक चर्चा गर्दा प्रचण्डमा हुने छटपटी र व्यग्रता देखेर आफू अचम्भित भएको उनले बताएका छन् । ओलीले भनेका छन्, ‘अब हामी हिंड्ने बाटो कुन हो भन्ने कुरा स्पष्ट हुनु पर्दैन ? नेकपाको पहिचान र बाटोका बारेमा उठेका प्रश्नहरुको सैद्धान्तिक जवाफ दिनु पर्दैन ?’

सत्रौं प्रश्न : तपाई अर्को प्रहसनको पर्खाइमा हो ?

३७ पृष्ठ लामो प्रस्तावमा ओलीले अधिकांश समय अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपहरुको खण्डन र प्रतिप्रश्नमा खर्चिएका छन् । प्रचण्डमाथि लगातार प्रश्न गरेका उनले अबको बाटो प्रस्ताव गर्नुअघि प्रचण्डलाई सोधेका छन्, के तपाई अर्को प्रहसनको पर्खाइमा हो ?

प्रचण्डले आफ्नो अस्थिरतालाई गतिशीलताको रुपमा आत्मप्रशंसा गर्ने गरेको भन्दै उनले गतिशीलता र अस्थिरताका बीचमा रहेको भिन्नता बुझ्नु भएको छैन भने एकचोटी घोत्लिन आग्रह गरेका छन् । उनले भनेका छन्, गतिशीलता लक्ष्यमा निर्निमेष हेरेर अविचलित रुपमा अगाडि बढ्ने प्रक्रियाको नाम हो भने अस्थिरता जहाँ ढुङ्गा खस्यो त्यहीँ निशाना भने जस्तो अवसरवादी तरिका हो । म चाहन्छु, तपाईँ गतिशीलताका नाममा अस्थिरताको संवाहक नबन्नुस् ।’

तर अहिले पनि प्रचण्ड दुईवटा डुङ्गामा खुट्टा राखेर उभिनु ओलीको विश्लेषण छ । उनले भनेका छन्, सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्ष हुनुहुन्छ, तर यसको स्वामित्व लिनु हुन्न । विरोधी भन्दा चर्को गरी सरकारको विरोधमा उभिनुहुन्छ, सरकार ढाल्न भित्रभित्रै खेल खेल्नुहुन्छ ।’

उनले प्रचण्डलाई पार्टीभित्रका सहज बहसलाई स्वस्थ र मर्यादित बनाउन योगदान गर्नु, कटुता, विद्वेष र विग्रहको बाटोमा नहिँडाउन र पार्टी एकतालाई बलियो बनाउन आग्रह गरेका छन् । हिजो अलगअलग पार्टी भएर पनि भावनात्मक रुपमा एउटै पार्टी जस्तो भएको तर अहिले कानूनी रुपमा पार्टी एक भएपनि भावनात्मक रुपमा विभाजित भएको यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, भनिन्छ, इतिहास दुईचोटि दोहोरिन्छ- पहिलो चोटी दुखान्तका रुपमा, अर्को पल्ट प्रहसनका रुपमा । दुखान्तका रुपमा त इतिहास दोहोरिई नै सकेको छ, के तपाई अर्को प्रहसनको पर्खाइमा हो ?’

 

हेर्नुस् ‌‌ओलीको जवाफको पूर्णपाठ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment