
१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने बताएका छन् ।
जंगीअड्डामा आइतबार रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डल र नेपाली सेनाबीचको छलफलमा उनले उच्च स्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने आश्वासन दिएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
छलफलमा कोभिड १९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदान नियमित गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा कुराकानी भएको सेनाले जनाएको छ । चिनियाँ रक्षामन्त्री फेङ्हेले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगको प्रतिबद्धतासमेत जनाएका थिए ।
आइतबार जंगीअड्डामा रक्षामन्त्री फेङ्हेको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उनले जंगी अड्डाको निरीक्षण भ्रमण र प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
सो भेटवार्तापछि चिनियाँ रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसपछि चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच छलफल भएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया 4