Comments Add Comment

अस्पताल शिलान्यास गर्न प्रदेश मन्त्रीले गरे हेलिकप्टर चार्टर

१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।

सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् ।

गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।

‘यो मन्त्रीज्यूकै निर्वाचन क्षेत्र हो । त्यसैले गाउँपालिकाले नै व्यहोर्ने गरी हेलिकप्टर चार्टर्ड गरेर मन्त्रीज्यूबाट नै अस्पतालको शिलान्यास गरिएको हो’ गाउँपालिका स्रोतले भन्यो ।

मन्त्री रावल गाउँपालिकामा बन्न लागेको १५ शय्याको अस्पताल शिलान्यास गरेर सुर्खेत फर्किएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले बताए ।

‘मन्त्रीज्यू अस्पतालको शिलान्यास गरेर सुर्खेत फर्किसक्नुभएको छ । उहाँ गाउँपालिकाले चार्टर गरेको हेलिकप्टरमा जानुभएको थियो । मन्त्रालयले चार्टर गरेको हैन,’ रोकायाले अनलाइनखबरसंग भने, ‘हुम्लामा अझै गाडी पुगेको छैन । हेलिकप्टरमा जाँदैमा यसलाई अन्याथै मान्नु पर्दैन ।’

पछिल्लो समय कर्णालीका हिमाली जिल्लाहरुमा सानादेखि ठूला कामसम्म मन्त्रीहरु हेलिकप्टर लिएर जाने गरेका छन् । संघीय सरकारको कार्यक्रममा पनि आफ्नो नाम जोड्न प्रदेश सरकारका मन्त्रीहरु खर्च गरेरै गाउँ पुग्ने प्रवृत्ति देखिएको सर्केगाडका एक स्थानीयले बताए ।

‘गाउँका स्वास्थ्य चौकीमा सिटामोल छैन । मन्त्रीज्यू भने गाउँमा प्रभाव जमाउन हेलिकप्टर चार्टर्ड गरेर शिलान्यास गर्नुहुन्छ’ ती स्थानीय भन्छन् ।

कर्णालीमा ४२ अस्पतालको एकसाथ शिलान्यास

कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिँदै छ । प्रदेशका दश जिल्लामा ५, १० र १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास गर्न लागिएको हो ।

प्रदेशमा पाँच शय्याको एक, १० शय्याको नौ र १५ शय्याका ३२ वटा स्वास्थ्य चौकी सोमबार शिलान्यास गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सल्यानमा आठवटा, सुर्खेत र दैलेखका सात/सातवटा, जाजरकोट र हुम्लामा चार/चारवटा, रुकुमपश्चिम र डोल्पाका तीन÷तीनवटा, जुम्ला र कालिकोटका दुई/दुईवटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment