Comments Add Comment

कालिगण्डकी करिडोर कालोपत्रे गर्न सुरु

पत्रे शुभारम्भ

१६ मंसिर, गुल्मी । कालिगण्डकी करिडोर अन्तरगत गुल्मीको रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे गर्ने कामको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडानम्बर–१ को रिडीबाट कालोपत्रेको शुभारम्भ गरेका हुन् ।

कालोपत्रे निर्माण कार्यको सुरुवात गर्दै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला विशेषको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताए । उनले भारत र चीन जोड्ने करिडोरले जिल्लाका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताए ।

आयोजना प्रमुख सुवोध कुमार देवकोटाका अनुसार ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ लागतमा कालोपत्रे गर्न सुरु भएको छ र यो काम ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

सडकको सम्झौता अनुसार सडक ११ मिटर चौडाइको हुने छ । आठ मिटरको डबल लेन, एक मिटर चौडाइ नाली, दुई मिटर भाग सोल्दर हुने छ ।

कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत र बाग्लुङ गरी ६ जिल्लामा सडक निर्माणको काम भइरहेको छ ।

कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एक घण्टामा आउ–जाउ गर्न थालेको बताए । करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याएको उनको भनाइ छ ।

२०७० सालदेखि कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल गठन गरेर सेनाले सडक बनाउँदै आएको छ । करिडोरअन्तर्गत रिडी– पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा–टाकुर–पालुङ्गखोला खण्ड ३८ किलोमिटर गरी ८० किलोमिटर लामो ट्र्याक नेपाली सेनाले खोलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment