Comments Add Comment

परमाणु गतिविधि बढाउँदै इरान, वैज्ञानिकको हत्यापछि बनायो नयाँ कानुन

Photo Credit : EPA

१८ मंसिर, काठमाडौं । इरानको संसद्ले मुलुकको परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघले गर्ने निरीक्षणमा रोक लगाउन सक्ने एक नयाँ कानुन पारित गरेको छ । कानुनअनुसार इरानले अब यृुरेनियम सम्बर्द्धन कार्यक्रम पनि अगाडि बढाउने भएको छ । नयाँ कानुनअनुसार इरान सरकारले २० प्रतिशत युरेनियम सम्बर्द्धन गर्ने काम पुनः सुरु गर्न सक्छ । सन् २०१५ मा भएको परमाणु सम्झौतामा यसलाई तीन दशमलव ६७ प्रतिशतमा सीमित पारिएको थियो ।

सन् २०१५ मा भएको सम्झौताअनुसार इरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित पार्न र अन्तर्राष्ट्रिय निरीक्षकहरुलाई निरीक्षणको अनुमति दिन सहमत भएको थियो । यसको बदलामा इरानमाथि लगाइएको प्रतिबन्ध हटाइएको थियो ।

यद्यपि अहिले ल्याइएको नयाँ कानुनको विषयमा राष्ट्रपति हसन रौहानीले भने आफू यो कानुनसँग असहमत रहेको बताएका छन् । यो कानुनले मुलुकको कूटनीतिमा असर पर्ने उनको भनाइ छ । इरानको संसद्ले इरानका मुख्य परमाणु वैज्ञानिक मोहसिन मखरीजादेहको गत शुक्रबार भएको हत्यापछि नयाँ कानुन पारित गरेको हो । इरानले इजरायल र निर्वासित विपक्षीले मिलेर फखरीजादेहको हत्या गरेको आरोप लगाएको छ । इरानले बारम्बार आफ्नो परमाणु गतिविधि शान्तिपूर्ण रहँदै आएको बताएको छ । नयाँ कानुनअनुसार इरानले उक्त परमाणु सम्झौतामा सामेल भएका मुलुकहरुलाई आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन २ महिनाको समय दिएको छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँगको परमाणु सम्झौताबाट बाहिरँदै इरानमाति प्रतिबन्धको निर्णय गरेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment