+
+
Shares

इरानको विवाह समारोहमा भएको विष्फोटबारे अमेरिकी सेनाले छानबिन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको विवाह समारोहमा भएको विस्फोटमा पाँच जनाको मृत्यु र ६७ जना घाइते भएपछि अमेरिकी सेन्ट्रल कमान्डले घटनाको समीक्षा थालेको छ।
  • सेन्टकमले नागरिक र सैन्य दुवै सञ्चारमा प्रयोग हुने सञ्चार टावरलाई लक्षित आक्रमणबारे ड्रोन फुटेज र लक्ष्य पहिचान प्रक्रिया पनि जाँच गरिरहेको छ।
  • उप राष्ट्रपति जेडी भान्सले घटनाबारे पूर्ण अनुसन्धान भइरहेको र गल्ती भए त्यसबाट सिक्ने बताए।

१९ भदौ, काठमाडौं । इरानमा मङ्गलबार भएको सैन्य आक्रमणका क्रममा एक विवाह समारोहमा नागरिक हताहत भएको घटनाबारे अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले समीक्षा सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका छन्।

उक्त घटना अमेरिकी आक्रमणकै कारण भएको पुष्टि भइनसके पनि यो छ महिनाअघि युद्ध सुरु भएयताकै ठूलो नागरिक हताहतीको घटनामध्ये एक हो। युद्धको पहिलो दिन एक विद्यालयमा भएको अमेरिकी आक्रमणमा १५० जनाको मृत्यु भएको थियो। तीमध्ये अधिकांश बालबालिका थिए। अमेरिकी अधिकारीका अनुसार सो घटनाको सैन्य अनुसन्धान छिट्टै अन्तिम चरणमा पुग्दै छ।

इरानी रेड क्रस संस्थाका अनुसार विवाह भइरहेको घरमा भएको विष्फोटमा पाँच जनाको मृत्यु भएको छ। उक्त घटनामा ६७ जना घाइते भएका छन्। इरानी अधिकारीहरूले अमेरिकी सेनाले भवनमा आक्रमण गरेर सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन्।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कूपरले बुधबार उक्त आक्रमणको आन्तरिक समीक्षा गर्न आदेश दिएका हुन्। सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भने, ‘हामी इरानी सरकारी मिडियाबाट आएका प्रतिवेदनहरूबारे जानकार छौँ र हामी तिनको अध्ययन गरिरहेका छौँ। आईआरजीसीको विपरीत अमेरिकी सेनाले कहिल्यै पनि सर्वसाधारणलाई लक्षित गर्दैन।’

उपराष्ट्रपति जेडी भान्सले बिहीबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘हामी यसको अनुसन्धान गरिरहेका छौँ किनभने स्पष्ट रूपमा हामीलाई चासो छ। हामी सत्य जान्न चाहन्छौँ र यदि हामीबाट गल्ती भएको छ भने यो नै हामी र इरानबीचको ठूलो फरक हो। जब हाम्रो सेनाले गल्ती गर्छ, उनीहरू सुधार गर्न त्यसबाट सिक्छन्। त्यसैले हामी यसको पूर्ण रूपमा अनुसन्धान गरिरहेका छौँ।’

उक्त क्षेत्रमा भएको आक्रमणले नागरिक र सैन्य दुवै सञ्चारका लागि प्रयोग हुने सञ्चार टावरलाई लक्षित गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानको हिस्सा स्वरूप सेन्टकमले आक्रमणको समयमा उक्त क्षेत्रको निगरानी गर्ने ड्रोनका फुटेजहरू र लक्ष्य पहिचान गर्न प्रयोग गरिएका प्रक्रियाहरूको समीक्षा गरिरहेको छ।

अमेरिकी सेनाले प्रहार गरेको हतियारले विवाहस्थलमा क्षति पुर्याएको हो वा इरानकै कुनै हतियार दिशा बिग्रिएर घर नजिकै खसेको हो भन्ने सम्भावनाबारे पनि अनुसन्धानले हेर्ने एक अमेरिकी अधिकारीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?