News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी संसद्ले होर्मुज स्ट्रेट हुँदै जाने अनुमति प्राप्त देशका जहाजबाट समुद्री सेवाबापत शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ।
- इरानले शुल्कका बदलामा सुरक्षा, बिमा, वातावरणीय सेवा र विशेष अवस्थामा इन्धन उपलब्ध गराइने जनाएको छ।
- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासन इरानविरुद्धको आर्थिक युद्धको अन्तिम चरणमा पुगेको र दबाब बढाइने बताएका छन्।
८ भदौ, काठमाडौं । इरानको संसद्ले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूसँग टोल अर्थात् शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानको मेहर समाचार एजेन्सीका अनुसार, होर्मुजबाट आवतजावत गर्ने अनुमति पाएका देशहरूका जहाजहरूबाट समुद्री सेवाहरूबापत शुल्क लिइनेछ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन काश्कवीका अनुसार, शुल्कको बदलामा समुद्री सेवा, सुरक्षा र बिमा जस्ता सुविधाहरू दिइनेछ। यसबाहेक वातावरणीय सेवाहरू र विशेष परिस्थितिहरूमा इन्धन पनि उपलब्ध गराइनेछ। भुक्तानी इरानी रियाल वा इरानले रोजेको अन्य कुनै मुद्रामा गर्न सकिनेछ।
अमेरिकाले के भन्यो ?
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासन अब इरानविरुद्धको आर्थिक युद्धको अन्तिम चरणमा पुगेको बताएका छन्। बेसेन्टका अनुसार अमेरिकाको मुख्य उद्देश्य इरानको आम्दानीका ठूला बाटाहरू बन्द गर्नु हो।
बेसेन्टका अनुसार, अमेरिकाले इरानमाथि दबाब बढाउन आफ्ना सबै सरकारी निकाय र अधिकारहरूको प्रयोग गर्नेछ। उनले यस अभियानलाई ‘इकोनोमिक डी-डे’ को संज्ञा दिए।
यसअघि ट्रम्पले यसलाई कुनै पनि विरोधी देशविरुद्धको सबैभन्दा ठूलो आर्थिक कारबाही बताएका थिए र अन्य देशहरूलाई इरानलाई एक्ल्याउन साथ दिन अपिल गरेका थिए।
खाडी देशहरूलाई इरानको चेतावनी
इरानले अमेरिकाको आर्थिक कारबाहीमा साथ दिने खाडी देशहरूलाई चेतावनी दिएको छ। इरानका नयाँ राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन अमेरिकालाई साथ दिने देशलाई शत्रु मानिने बताए।
रेजाईले त्यस्ता देशहरूको आर्थिक हितलाई निसाना बनाउन सकिने चेतावनी दिएका छन्। उनले यदि अमेरिकाको आर्थिक दबाब जारी रह्यो भने इरानले यस क्षेत्रबाट एक थोपा पनि तेल बाहिर जान नदिने बताए ।
ट्रम्पले होर्मुजलाई बताइसकेका छन् अमेरिकी क्षेत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटलाई ‘न्यु युएस टेरिटोरी’ अर्थात् नयाँ अमेरिकी क्षेत्र बताइसकेका छन्। अगस्ट १८ मा उनले पहिलो पटक होर्मुजमाथि अमेरिकी नियन्त्रणको कुरा गरेका थिए।
त्यसपछि उनले आइतबार पुनः यस्तो तस्बिर सेयर गरे, जसमा होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाइएको थियो।
युद्धपछि दुई बाटोमा बाँडियो होर्मुज
युद्ध सुरु हुनुअघि होर्मुजलाई एउटै समुद्री मार्ग मानिन्थ्यो। जहाजहरू निर्धारित बाटोबाट आवतजावत गर्थे। उनीहरूको बाटो बन्दरगाह, जहाजको सम्झौता र सुरक्षालाई हेरेर तय गरिन्थ्यो।
तर अमेरिका र इरानबीच तनाव बढेपछि यहाँ दुई फरक बाटोको कुरा हुन थालेको छ ।
इरानी मार्ग: यो होर्मुजको उत्तरी भागमा इरानको तट नजिक पर्छ। यो लारक र केश्म टापुहरूको नजिकैबाट गुज्रिन्छ र इरानका बन्दरगाह तथा तेल टर्मिनलहरूसम्म जान्छ।
ओमानी मार्ग: यो होर्मुजको दक्षिणी भागमा ओमानको नजिक पर्छ र इरानको तटबाट टाढा छ। अमेरिकाले जहाजहरूलाई यही बाटोबाट आवतजावत गर्न जोड दिन्छ। अमेरिकी नौसेनाको सुरक्षामा चल्ने धेरै व्यापारिक जहाजहरूले पनि यही बाटोको प्रयोग गर्छन्।
प्रतिक्रिया 4