Comments Add Comment

तनहुँका नेकपा सांसदको आग्रह : रामचन्द्रजी, विमानस्थल पनि उद्घाटन गरेर फर्किनू !

१८ मंसिर, पोखरा । तनहुँको बुल्दीखोला पुल उद्घाटनसम्बन्धी विवाद देशैभरि चर्चाको विषय बनेको छ । निर्माण सकिएको २ वर्षपछि कसले उद्घाटन गर्ने भन्ने दुई नेताको टकराव र प्रतिष्ठाको लडाईंले व्यास नगरमा ठूलै तरंग आयो ।

नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकअन्तर्गत बुल्दीखोलामा पुल उद्घाटनको विषय राजनीतिक मुद्दा बन्यो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुलको उद्घाटन यस क्षेत्रका संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले गर्न चाहन्थे । सोही क्षेत्रका नेपाली कांग्रेसले वरिष्ठ नेता पौडेल पनि आफ्नै हातबाट पुल उद्घाटन गराउन चाहन्थे ।

नेकपा नेता श्रेष्ठ र कांग्रेस नेता पौडेल दुबै तनहुँ क्षेत्र नम्बर १ कै नेता हुन् । गत चुनावमा नेकपाका श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर यही क्षेत्रबाट कांग्रेस नेता पौडेललाई चुनाव हराएका थिए । पौडेलले २७ हजार ६९० मत मात्रै पाएका थिए ।

पौडेल पराजित नेता भएता पनि कांग्रेसको सरकार बनेका बेला बजेट निकासा भई पुल निर्माण भएकाले आफूले उदघाटन गर्न पाउनुपर्ने कांग्रेस पक्षको तर्क थियो । त्यस्तै, नेकपाले चाहिँ संघीय संसदमा विजय हासिल गरेका जनप्रतिनिधिले उदघाटन गर्नुपर्ने तर्क गर्दै आएको थियो ।

कांग्रेस र नेकपावीचको यही टकरावका कारण बुधबार दिनभर दमौली तनावग्रस्त बन्यो । कांग्रेस र नेकपा नेता–कार्यकर्ताबीच झडप नै हुने स्थिति भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञा तोड्न वरिष्ठ नेता पौडेलले नेतृत्व गरेपछि उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेर ३ घण्टापछि रिहा गर्‍यो ।

वरिष्ठ नेता पौडेल पक्राउ परेपछि देशभर यसले तरंग ल्यायो । कांग्रेसले आन्दोलनका कार्यक्रम नै घोषणा गर्‍यो । सरकारले अधिनायकवादी रबैया देखाएको भन्दै बिहीबार दमौलीमा प्रदर्शन गरेर विशाल जुलुसहित अन्ततः वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने सपना पूरा गरी छाडे ।

यो पनि पढ्नुहोस रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

बिहीबार गण्डकी प्रदेशका केन्द्रीय सदस्य, पूर्वसांसद, मन्त्री र कार्यकर्तासहित प्रदर्शन गर्दै कांग्रेसले पुल उद्घाटन गर्ने ईच्छा पूरा गर्‍यो । पौडेलले पुल उद्घाटन गरेपछि आक्रोशित देखिएका नेकपा सांसद श्रेष्ठले भने, ‘पुल उद्घाटन गर्ने लोभ रहेछ, अब पोखरा र लुम्बिनी विमानस्थल पनि उद्घाटन गरेर फर्किनू ।’

प्रस्तुत छ– पुल विवाद र उद्घाटनका सन्दर्भमा नेकपा सांसद श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी :

बुल्दीखोला पुल उद्घाटन विवादले व्यास नगर तनावग्रस्त बन्यो । यसमा संघीय सांसदको पनि हात छ भनिएको छ, किन यो अवस्था आयो ?

सबैभन्दा पहिले लोकतन्त्र, संविधान सबैले मान्नुपर्‍यो । संघ र प्रदेश सरकारले बनाएको पुल उद्घाटन गर्न समन्वय गर्नुपर्‍यो । त्यहाँका जनताले ०७४ साल मंसिर २१ गते भारी मतान्तरले विजयी गराएपछि त्यहाँका जनताले मलाई खोज्नु स्वाभाविकै हो ।

यो, अन्याय भयो भनेर त्यहाँका युवा संघका साथीले अवैधानिक कार्यक्रम गर्न पाइँदैन भनेर हिजो जुलुस निकाल्ने काम भयो । जुलुस निकालेपछि शान्ति सुरक्षा र आदरणीय तथा वरिष्ठ नेता रामचन्द्र पौडेलको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञा जारी गरेपछि उहाँहरुले नै बनाएको संविधान मान्दिन भनेर भन्न मिल्छ ? निषेधाज्ञा तोडेपछि उहाँकै सुरक्षाका लागि हिजो केही समय प्रहरीले नियन्त्रणमा लिएको हो, गिरफ्तार गरेको होइन ।

यदि उहाँलाई पुल उद्घाटन गर्नै पर्ने हो भने पनि विधि पुर्‍याएर गर्नुहोस् । वरिष्ठ नेता हो, यो देशका लागि मैले धेरै उमेर खर्च गरेको छु, त्यसैले जसले बनाएको भए पनि मैले नै पुल उद्घाटन गर्छु भन्नुहुन्छ भने पनि म मान्न तयार छु । उहाँलाई प्रमुख अतिथि बनाएर, म विशेष अतिथि बनेर उद्घाटन मान्न पनि तयार छु । तर, प्रक्रियाअनुसार हुनुपर्‍यो ।

तपाईंकै निर्देशनमा युवा संघलाई विरोधमा उतारेर प्रशासनलाईसमेत हातमा लिएर निषेधाज्ञा जारी गराउने र कार्यक्रम रोक्ने काम गर्नुभयो भन्छन् नि ?

स्थानीय प्रशासनले त नियम कानुन के छ, के भइरहेको छ भन्ने हेर्ने हो नि । उसले कानुन पालना गराउने हो, त्यहाँ मेरो के भूमिका हुन्छ र ? हाम्रा पार्टीका साथीहरु त कसैले अवैधानिक र नचाहिँदो काम गर्छ भने विरोध गर्नु त स्वाभाविक हो नि । यो माननीयकै निर्देशनमा भयो भनेर आक्षेप लगाएर मात्र भएन, कानुन पनि पालना गर्नुपर्‍यो ।

पुल उद्घाटन गर्न तपाईं लालायित हुनुहुन्थ्यो । तर, चुनावमा तपाईंकै प्रतिस्पर्धी कांग्रेसका वरिष्ठ नेता पौडेल आएपछि जसरी पनि कार्यक्रम हुन नदिन यहाँले शक्ति प्रयोग गर्नुभयो भन्छन् त ?

अचम्मको कुरा त के भने दुई महिना अगाडि नै माननीय भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई प्रमुख अतिथि बनाएर पुल उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको थियो ।

कोरोनाको माहामारीमा उद्घाटन नगरौं पछि गरौंला भनेर म आफैंले पछाडि धकेलेको हुँ । नत्र मलाई शिलापत्रमा नाम लेखाउन कुनै पनि रहर छैन । म त जनताको मान्छे हुँ, जनताले मलाई चुनेर पठाएका छन् । जनतालाई विकास दिन म जहिल्यै लागि राखेको छु ।

कार्यक्रम नगर्न भन्दाभन्दै हुने भएपछि तपाईंले पौडेललाई पक्राउ गरेर नेकपा र सरकारको शक्ति देखाउन चहानुहुन्थ्यो, त्यसैले प्रशासनको हात बाँधेर सुनियोजित रुपमै पक्राउ गरियो भन्ने नेता पौडेलकै आरोप छ नि ?

आदरणीय काका, वरिष्ठ नेता तथा कांग्रेसलाई म अनलाइखबरमार्फत नै के भन्न चाहान्छु भने पहिले कानुन, विधि र लोकतन्त्र पहिले तपाईंहरुले मान्नुपर्‍यो । मलाई आक्षेप लगाउनेभन्दा विधि र कानुन मान्नुपर्‍यो । लोकतन्त्रको रक्षा गर्ने ठेकेदार हौं भन्नेहरुले कानुन मिचेर निषेधाज्ञासमेत नमान्ने काम नगर्नुस् ।

म विनम्र अनुरोध गर्न चाहान्छु, यो २ वटामात्रै होइन, अरु १० वटा पुल बन्दै छ । रामचन्द्र पौडेलकै जन्मघरमा भोलि पुल शिलान्यास हुँदैछ, प्रदेश सरकारबाट । त्यसको पनि शिलान्यास गर्न चाहानुहुन्छ भने उहाँलाई लैजान तयार छौं । उहाँ शिलान्यास, उद्घाटन गर्नमै लालायित हुनुहुन्छ भने मैले गरेका हरेक विकास निर्माणमा उहाँलाई लगेर शिलान्यास, उद्घाटन गराउन तयार छु । तर, नियम, कानुन एउटै हो, सबैले मान्नुपर्छ ।

चुनावमा नेता पौडेललाई हराएपछिको दम्भ तपाईंमा छ र एकछत्र आफ्नो प्रभाव जमाउन चाहनुहुन्छ भन्ने कांग्रेस पक्षको गुनासो छ । त्यसैले, यो विवाद दुई नेताबीचको टक्कर र प्रतिष्ठाको लडाईं हो भनेर मान्न सकिन्छ ?

राजनीतिकरुपमा रामचन्द्र पौडेलजी र मेरो उचाई नै मिल्दैन । राजनीतिकरुपमा उहाँ मेरो आदरणीय व्यक्ति हो । लोकतन्त्र र प्रजातन्त्रका निम्ति उहाँ आदरणीय नै हो । म दम्भका साथ होइन, विनम्रताका साथ भन्छु, कहाँ किसान श्रेष्ठ, कहाँ रामचन्द्र पौडेल, दाँज्नै मिल्दैन । तर, २०७४ साल मंसिर २१ गते त ५ हजारभन्दा बढी मतले म विजयी भएको मान्छे हो नि । त्यसकारण अहिले त्यो क्षेत्रका जनताको मान्छे भनेको म हुँ । जननिर्वाचित सांसद भनेको म हुँ ।

मलाई त्यहाँका जनताले खोज्ने कुरा स्वाभाविक हो । तर, मैले हस्तक्षेप गरेको छ । प्रशासनले नियम, कानुन पालना गराउनु स्वभाविकै हो । पार्टीका साथीहरुले विरोध गर्नु पनि स्वभाविकै हो । म त जनताको काम गर्ने मान्छे हुँ, मेरो पकड त जनतासँग सदैव रहने छ ।

हिजोको विवाद, अवरोध र धरपकडको विरोधमा बिहीबार प्रदर्शन गर्दै ठूलो जुलुससहित पौडेलले नै पुल उद्घाटन त गर्नुभयो नि ?

हिँड्नेहरु त नियम, कानुन, संविधान मान्दिनँ भनेर बम पड्काउँदै पनि हिँडेका छन् नि ! त्यसरी नै उहाँहरु प्नि हिँड्नुहुन्छ भने मेरो भन्नु त केही छैन । तर, यदि रामचन्द्र पौडेललाई पुल, स्कुल, खानेपानी शिलान्यास र उद्घाटन गर्ने अवसर चाहिएको हो भने त्यस्ता सयौं योजनामा मेरो नेतृत्वमा उहाँलाई प्रमुख अतिथि नै बनाउँछु । नियमसंगत हुनुपर्‍यो ।

उद्घाटनको भोक नै हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी एयरपोर्ट पनि सकिन लाग्यो, अब त्यो पनि उद्घाटन गरेर फर्किनुस् । कसैसँग समन्वय र विधि नचाहिने रहेछ, यो सरकारले थुप्रै विकास निर्माणको काम गरेको छ, पौडेलजी तपाईंले उद्घाटन गर्दै हिँड्नुहोला ।

प्रमुख अतिथि बन्ने विषयमा तपाईंको विवाद यो पहिलो होइन । भानु नगरपालिकाका मेयरले शिलान्यास गर्ने भनिएको १५ शय्याको अस्पताल तपाईंले म प्रमुख अतिथि हुन पाउनुपर्छ भनेर अड्डी कस्नुभयो र कार्यक्रमै स्थगित भयो त ?

भानु नगरपालिकाको हकमा पनि मेरो अडान जायज छ । स्थानीय तहमा मेयर, उपमेयरदेखि अधिकांश नेपाली कांग्रेसले जितेको छ । तर, नगरस्तरीय अस्पताल भनिसकेपछि त्यसको अध्यक्षता सम्बन्धित नगरका मेयरले गर्नुपर्‍यो र संघीय बजेट भएका कारण संघीय सांसदले शिलान्यास गर्न पाउनुपर्छ भन्दा मैले अपराधै गरें ?

नगरकै कार्यपालिका बहुमत सदस्यले पनि मलाई नै प्रमुख अतिथि बनाउने भनेको थियो । मैले जनताको अभिमतअनुसारै काम गर्नै नपाउने ? जनताको अभिमतको धज्जी उडाउन पाइन्छ ? यही हो, प्रजातन्त्र र लोकतन्त्र ?

यो पनि पढ्नुहोस माननीय कि मेयर को विवादले अस्पताल शिलान्यास नै रोकियो

भानु नगरपालिकामा नेपाली कांग्रेसबाट विजयी उदयराज गौरी मेयर हुनुहुन्छ । मेयरले को हो संघीय सांसद ? भनेपछि मैले रोकेकै हो । फेरि भन्छु, रोकेकै हो । विधिसम्मत भएन भने रोकिन्छ ।

यो पनि पढ्नुहोस पुल बनेको २ वर्षपछि उद्घाटन गर्न रामचन्द्र र किसानको टक्कर ! यो पनि पढ्नुहोस ‘ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो, देशैभरि प्रतिवाद हुन्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment