Comments Add Comment

बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्ने

१९ मंसिर, काठमाडौं । बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् ।

मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।

पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ ।

मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।

शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए ।

उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह/व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।

यस वर्ष माघ महिनामा किन जुरेन त लगन ? सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र शुक्र अस्त भएकोले माघ र फाल्गुनमा विवाहको साइत जुरेको छैन ।’

पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो ।

कसरी जुराइन्छ विवाहको लगन ?

विवाहको लगन जुराउने पञ्चाङ्ग निर्णायक समितिको आफ्नो छुट्टै विधिविधान छ । सोही विधानका कारण यो वर्षको मंसिर महिनामा पनि १६ गतेमात्रै लगन जुर्यो । अब २१, २२ र २६ गते लगन छन् । १० दिनको बीचमा ४ वटा लगन  जुरेपछि झण्डै चार महिनाको लागि लगनविहीन बन्न लागेको छ ।

पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलका अनुसार एउटा विवाहको लगनलाई अयन, महिना, तिथि, नक्षत्र, अधिकमास, क्षयमास, चतुर्मास लगायतले प्रभावित बनाएको हुन्छ । शुभ वा अशुभ दिन भनेर निर्धारण गर्ने आधारको रुपमा यिनीहरुलाई लिइन्छ भने विवाहको मुहूर्त जुराउने सवालमा पनि महत्वपूर्ण मान्ने गरिन्छ ।

विवाहको लगन जुराउँदा सबैभन्दा पहिले अयनलाई ध्यान दिइन्छ । एक वर्षमा उत्तरायण र दक्षिणायन गरी २ वटा अयन हुन्छन् । विवाह र व्रतबन्धको लागि उत्तरायणको ५ महिना र दक्षिणायनको एक महिना गरेर एक वर्षमा ६ महिना मात्रै शुभ मुहूर्त जुर्ने गर्छ । उत्तरायणको चैत महिना भने विवाहको लागि अयोग्य मानिन्छ । व्रतबन्धको लागि भने उत्तरायणका ६ वटै महिना शुभ हुन्छ ।

चतुर्मासमा पनि विवाह गर्नु शुभ हुँदैन भन्ने मान्यता छ । यही चतुर्मासका कारण नै यस वर्ष मंसिर १५ गतेसम्म विवाहको लगन जुर्न नसकेको हो । उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह/व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।

यसरी ६ महिनामा सबै उदय अस्त मिलाएपछि दिनको शुभ अशुभ हेर्ने गरिन्छ । यसको लागि कुन–कुन नक्षत्र शुभ र कुन–कुन अशुभ भन्ने तय गरिन्छ । कुल २७ वटा नक्षत्र हुन्छ । त्यसमध्ये ११ वटा नक्षत्रलाई मात्रै शास्त्रले विवाह र व्रतबन्धको लागि शुभ तोकेको छ । शास्त्रानुसार विवाह हेतु रेवती, तीनै उत्तरा (उत्तर फाल्गुनी, उत्तराषाढा र उत्तरभाद्रपदा), रोहिणी, मृगशिरा, मूल, अनुराधा, मघा, स्वाति लगायत ११ नक्षत्रमा मात्रै विवाह गर्न शुभ मानिन्छ ।

यसबाहेक पनि कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको प्रतिपदासम्म विवाह गर्न हुँदैन । यी बाधाहरुले नछुने गरी विवाहको लगनको दिन जुराइने गरिन्छ । व्रतबन्धको हकमा भने बार पनि मिलाउनुपर्छ । जस्तो मंगलबार र शनिबार व्रतबन्ध गर्नु शुभ मानिन्दैन ।

नेपाली परम्परामा माथि उल्लेखित संयोग मिलेपछि त्योभन्दा गहन रुपमा लगन जुराउने गरिएको छैन । माथि उल्लेखित विषय जुरिसकेपछि लगन अनुसार शुभ मुहूर्त खोज्ने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिले तोकेको मितिमा पनि व्यक्तिको कुण्डलीको लग्न अनुसार शुभ अशुभ मुहूर्त जुराउने गरिएको ढुंगेल बताउँछन् । सबै व्यक्तिलाई सबै लगनमा विवाहको लागि जुराएको हुँदैन ।

यसबाहेक पापग्रहमा बसेका नक्षत्रको दिन पनि विवाह निषेध गरिएको हुन्छ । त्यसपछि नक्षत्रसँगै शुभ तिथि पनि मिलाउनुपर्ने हुन्छ । विवाह र व्रतबन्धको लागि शुभ र अशुभ तिथिको आधारमा पनि लग्न जुरेको नजुरेको हेर्ने गरिन्छ । जस्तो शुक्लपक्षको द्वितीया, तृतीया, पञ्चमी, दशमी, एकादशी र द्वादशी तिथि मात्रै व्रतबन्धको लागि शुभ मानिन्छ भने कृष्णपक्षमा माथि उल्लेखितमध्ये पनि पञ्चमीलाई समेत अशुभ तिथि मान्ने गरिन्छ । यी सबै संयोगलाई मिलाएपछि लग्न हेर्ने गरिन्छ ।

सो दिनको लग्न पापग्रह वा आठौं स्थानमा भयो भने त्यो विवाहको लागि शुभ हुँदैन भन्ने मान्यता छ । त्यस्तै, लग्नको मालिक ६, ८ १२ औं स्थानमा एवं पाप ग्रहमा बस्न नहुने जस्ता शर्तहरु पूरा गरेपछि बल्ल विवाहको लग्न जुर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment