Comments Add Comment

जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले एक आपसमा बिहे गरे

काठमाडौं । भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।

आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले बाल विवाह निषेध ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै स्थानीय प्रहरीको ध्यानाकर्षण भएको थियो ।

अधिकारीहरुका अनुसार नाबालिक उमेरका विद्यार्थीबीच कक्षाकोठामा भएकोे बिहे अवैध भएको हुँदा रद्द गरिएको छ र केटाकेटी दुबैजनालाई मनोपरामर्श दिइएको छ । किशोरीलाई आन्ध्रप्रदेश महिला आयोगले संरक्षण गृहमा राख्ने भएको छ ।

कक्षाकोठाभित्र दुई विद्यार्थीको बिहे कसले गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत ती किशोर–किशोरीहरु एकै कक्षाका सहपाठी हुन् ।

भिडियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहिराइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो ।

कक्षाकोठाभित्रको उक्त बिहेको भिडियो उनीहरुकै सहपाठी एक अर्की किशोरीले खिचेकी हुन् ।

घटना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनले बिहे गर्ने ती किशोर–किशोरीलाई निष्कासन गरेको छ । उक्त घटनापछि किशोरीलाई उनीहरुका बुवा–आमाले घरमा छिर्न दिएनन् । जसका कारण उनलाई एक स्थानीय मनोपरामर्शदातृ संस्थामा लगियो । केटाका अभिभावकसँग पनि कुरा गरेर उसलाई मनोपरामर्श दिइयो ।

प्रहरीले उक्त घटनाका सम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले बिहे गरेको भनिएका किशोर–किशोरी तथा उनीहरुका अभिभावकका साथै विद्यालय प्रशासनको समेत बयान लिने छ । अनुसन्धानका क्रममा दोषी पाइएकाहरुलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment