Comments Add Comment

पाकिस्तानमा अक्सिजनको अभावमा कोरोना संक्रमितसहित ६ बिरामीको मृत्यु

२२ मंसिर, काठमाडौं । पाकिस्तानमा समयमा अक्सिजन नपाउँदा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितसहित ६ जनाको मृत्यु भएको छ । जसमा पाँचजना कोरोना संक्रमित बिरामी थिए ।

पाकिस्तानको पेसावरको एक सरकारी अस्पतालमा आफ्नो आफन्त गुमाएका मानिसहरुले आफूहरुले अक्सिजनको लागि निकै हारगुहार गर्दा पनि सहयोग पाउन नसकेको बताएका छन् । अस्पतालमा अक्सिजनको आपूर्तिमा भएको ढिलाइको कारण दुई सयभन्दा धेरै बिरामी निकै कम आकिसजन वा विना अक्सिजन केही घण्टा बसेका थिए ।

अस्पतालका अधिकारीहरुले भने आपूर्तिकर्ता कम्पनीमा अक्सिजनको अभाव भएकाले यो अवस्था आएको बताएका छन् ।

पाकिस्तान अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीको सामना गरिरहेको छ । अहिलेसम्म पाकिस्तानमा चार लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने आठ हजारभन्दा धेरैको संक्रमणको कारण मृत्यु भइसकेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार खिबेर टिचिङ अस्पतालमा यो समस्या देखिएको हो । शनिबार साँझ उक्त अस्पतालमा आवश्यक अक्सिजन सिलिण्डरहरु आइपुगेनन् । ब्याकअपका लागि तीनसय सिलिण्डर अक्सिजन थियो तर त्यसले अस्पतालको भेन्टिलेटरमा रहेका बिरामीको माग धान्न सकेन ।

आफ्नी कोरोना संक्रमित आमाको उपचार गराइरहेका मुरीद अलीले भने, ‘अस्पतालभर नै हामीहरु आफ्नो बिरामी बचाउन दौडादौड गरिरह्यौं । मेडिकल कर्मचारीहरुसँग हारगुहार पनि गरिरह्यौं ।’ उनका अनुसार भेल्टिलेटरमा अक्सिजन अभाव भएपछि केही बिरामीलाई तत्काल इमर्जेन्सीमा लगिएको थियो । किनकि त्यहाँ अझै पनि केही अक्सिजन बाँकी थियो । यद्यपि बिस्तारै अक्सिजन आपूर्ति पर्याप्त हुन सकेन र केही बिरामीहरुको मृत्यु भएको थियो । साथै धेरै बिरामीहरुको अवस्था झन् खराब बनेको थियो ।

अस्पतालमा अक्सिजनको अभाव भएसँगै अस्पतालका कर्मचारीहरुले बिरामीका आफन्तलाई आफैंले कतैबाट अक्सिजनको व्यवस्था गर्न आग्रह गरेका थिए । तर, केही मानिसले मात्र आफैंले अक्सिजन किनेर ल्याउन सकेका थिए ।

अस्पतालका प्रवक्ताले अक्सिजनको कमीको कारण ६ जनाको मृत्यु भएको र त्यसमध्ये पाँचजना कोरोना संक्रमित रहेको पुष्टि गरे । अस्पतालका अधिकारीहरुले अक्सिजनको अभाव हुनुलाई ‘आपराधिक लापरबाही’ भएको बताए । यो घटनापछि केही मनिसहरु कामबाट निकालिएका छन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment