+
+

विवेकशील र साझा पार्टीको एकता घोषणा बुधबार

मिश्र अध्यक्ष र पाण्डे संयोजक

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते २०:३२

२२ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने टुंगो लागेको छ । साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राख्ने गरी सहमति भएपछि बुधबार एकीकरणको घोषणा गरिँदैछ ।

अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको विवेकशीलकी नेतृ रञ्जु दर्शनाले अनलाइनखबरलाई बताइन् । ‘समितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने समेत टुंगो लागेको छ’, दर्शनाले भनिन्, ‘पार्टीको नाम पहिले जस्तै विवेकशील साझा पार्टी रहनेछ ।’

उनका अनुसार कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गरेरै एकीकरण घोषणा गर्ने विषयमा छलफल भइरहेको छ ।

साझासँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएपछि विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने जनाएका थिए । उनीहरुले १८ मंसिरमा प्रेस विज्ञप्ति समेत जारी गर्दै तत्काल एकता गर्न उपयुक्त समय नभएको बताएका थिए ।

तर रञ्जु दर्शनाले भने यसपटक दुई पार्टीबीच एकीकरणको जग बलियो भएको बताउँदै उनले अब आमनागरिकको वैकल्पिक शक्तिप्रतिको आशा र भरोसालाई टुट्न नदिने बताइन् ।

यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । त्यसबेला विवेकशीलका उज्जवल थापाले रवीन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए । पार्टी फुट्नु १६ महिना अघि मात्रै दुई पार्टीबीच एकता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?