Comments Add Comment

सार्वजनिक स्थलबाटै चोरी हुन्छन् मोटरसाइकल, सतर्क रहन ट्राफिकको अनुरोध

फाइल फोटो

२३ मंसिर, काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पछिल्लो एक बर्षमा पक्राउ गरी कारबाही गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा १४ जनालाई पक्राउ गर्दै महाशाखाले हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनिलाई जिम्मा दिएको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बिगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरिएको बताए । धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यकाबाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको बताउँदै उनले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको सुनाए ।

सोमबार मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने बर्ष २५ का सुजन तामाङ्गलाई बास्तबिक नम्बर प्र.३-०२-००१प९०४१ भइ प्र.३-०२-००३प६५०६ नंम्बर राखी चलाएको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको छ । थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाइएको छ ।

सो मोटरसाइकल काठमाण्डौंस्थित सेतोपुलबाट १० दिनअघि मात्र हराएको थियो ।

बिशेषगरि काठमाण्डौँका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिएको भट्टराई बताउँछन् ।

मोटरसाइकल चोरी भएर उपत्यकामा नै किनबेच भएका र मोटरसाइकल चोरले नै नम्बर प्लेट परिबर्तन तथा सरसामान पार्टपुर्जा फेरेर नचिनिने गरी चलाउने गरेको समेत देखिएको उनको भनाइ छ । त्यस्ता मोटरसाइकलहरुलाई बिशेष संकेतको आधारमा पहिचान गरी पक्राउ गरिने गरेको महाशाखाले बताएको छ ।

प्रहरी निरीक्षक जितेश दाहालले भन्छन्, “हामीले पक्राउ गर्दा कतिपय अबस्थामा सम्बन्धित चालकलाई उसले चलाएको मोटरसाइकल चोरीको हो भन्ने समेत थाहा हुदैन, धेरै घटनामा सस्तोमा किनेको र पछि नामसारी गर्ने भनी अग्रिम केही पैसा दिने गरेको भेटिन्छ ।

अधिकांश चोरी भएका मोटरसाइकलहरुको बास्तबिक नम्बर परिबर्तन गरेको हुने र कतिपय पक्राउ परेका मोटरसाइकलको नक्कली ब्लुबुक समेत हुने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment