Comments Add Comment

बिमा समितिमा नेतृत्वका लागि दौड सुरु, हालका अध्यक्षदेखि डेपुटी गभर्नरसम्म आकांक्षी

२३ मंसिर, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको ४ वर्षे कार्यकाल आगामी २३ पुसमा सकिँदैछ । चापागाईंको कार्यकाल सकिन लाग्दा समितिको नेतृत्वमा पुग्न आकांक्षीहरुले दौडधुप बढाएका छन् ।

मुलुकमा ३९ निर्जीवन बिमा र एक पुनर्बिमा कम्पनी सञ्चालिनत छन् । यिनलाई नियमन गर्ने समितिको अध्यक्ष बन्ने आकांक्षीको लर्को छ । दोस्रो कार्यकालका लागि चापागाईं आफैं पनि आकांक्षी हुन् । आफ्नो कार्यकालमा बिमाको पहुँच विस्तारमा सुधार भएका कारण पुनः सरकारको रोजाइमा पर्ने उनको आशा छ ।

पछिल्लो समय कोरोना बिमा भुक्तानीमा भएको ढिलाइलाई लिएर भने बिमा समिति आलोचित छ । यो मुलतः बिमा कम्पनीहरुको कमजोरी हो । समग्र मूल्यांकन गर्दा चारवर्षमा सुधार भएको र अझै केही काम गर्न बाँकी रहेकोले पनि आफूले दोस्रो कार्यकाल पाउनु पर्ने चापगाईंको आग्रह छ ।

उनी अध्यक्ष नियुक्त हुनुअघि ७ प्रतिशत रहेको बिमा पहुँच अहिले २५ प्रतिशतभन्दा माथि पुगेको छ । यसले पनि आफूलाई पुनर्नियुक्तिका लागि योग्य देखाएको चापागाईं ठान्छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी अर्का बलिया दावेर हुन् । गभर्नरको दौडमा महाप्रसाद अधिकारीले उछिनेका सिवाकोटीलाई सरकारले बिमा समितिको अध्यक्ष बनाउन सक्ने सम्भावना समेत छ ।

लगानी बोर्डका सीईओ रहेका अधिकारीलाई गभर्नर बनाएपछि सिवाकोटीलाई कतै न कतै ‘एडजस्ट’ गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना रहेको नेकपाका नेताहरु बताउँछन् । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सिवाकोटी डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

अर्का आकांक्षी डा. रामशरण खरेल हुन् । नातामा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ उनी पनि राष्ट्र बैंकमै कार्यरत छन् । खतिवडा मन्त्री हुँदा खरेललाई काजमा अर्थमन्त्रालयमै खटाइएको थियो । तर अहिले विष्णु पौडेल अर्थमन्त्री रहेकाले चापागाईं र सिवाकोटी बढी बलिया आकांक्षी मानिएका छन् ।

अन्य आकांक्षीमा चापगाईंसँगै अध्यक्षमा सिफारिस भएका डा. रवीन्द्र घिमिरे र रमेशकुमार भट्टराई छन् । त्यसबेला घिमिरे नियुक्त भएको समाचारहरु आए पनि अन्तिम समयमा चापागाईं अध्यक्ष बनेका थिए । घिमिरे बिमा विषयकै विद्यावारिधि हुन् भने भट्टराई नेपालमा बिमा कम्पनीको पहिलो नेपाली सीईओ हुन् ।

नेपाल स्टक एक्सचेञ्ज अध्यक्ष भइसकेका टंक पनेरु, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक र कृषि विकास बैंकका वर्तमान अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, चाटर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद आचार्य र महेश गुरागाईं लगायत पनि विमा समिति अध्यक्षको आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment