Comments Add Comment

भोलिदेखि चिडियाखाना खुल्ने, अवलोकनकर्तालाई कडाइ

काठमाडौं । गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिले जस्तो चिडियाखानामा खुल्ला तरिकाले घुम्न भने पाइने छैन ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएको चिडियाखाना ९ महिनापछि खुल्दा बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार कोरोना महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने हुनाले अवलोकनकर्तालाई पहिले भन्दा कडाइ महसुस हुन सक्छ । ‘हामीले सकेसम्म भिडभाड नहुने र सुरक्षित हिसाबले चिडियाखानाको अवलोकन गर्ने व्यवस्था मिलाएका छौं, त्यसले गर्दा पहिलेभन्दा चिडियाखानाभित्र केही कडाइ पनि हुन्छ’ पोखरेलले अनलाइनखबरसँग भने ।

कस्तो छ चिडियाखानाको व्यवस्थापन ?

चिडियाखाना प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन गरिएको छैन । एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ । भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जतिजना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइनेछ ।

‘हामीले चिडियाखानाभित्र ८०० जनाभन्दा धेरै अवलोकनकर्ता नहुने व्यवस्था मिलाएका छौं, पहिलो लटमा ८०० जनालाई प्रवेश दिन्छौं, त्यसपछि जतिजना बाहिर निस्कन्छन् त्यति संख्यामा प्रवेश पनि दिने तयारी गरिएको छ’ पोखरेल भन्छन् ।

अब चिडियाखानाभित्र जाँदा बाहिरबाट खाना लैजान पाइँदैन । आफूलाई खान र वन्यजन्तुको लागि बाहिरबाट खाना लैजान कडाइ गरिएको चिडियाखाना व्यवस्थापनले जनाएको छ । साथमा प्रवेश गर्नुपूर्व मास्क अनिवार्य र स्यानिटाइजर अनिवार्य गरिएको छ भने तापक्रम नापेर मात्रै भित्र प्रवेश दिइने भएको छ ।

बुधबारदेखि नै अग्रिम टिकटको व्यवस्था

अब चिडियाखाना जाँदा पहिलेजस्तो टिकट काट्नको लागि लाइन बस्नुपर्दैन । पोखरेलका अनुसार चिडियाखाना जानको लागि बुधबारदेखि नै अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेल बताउँछन् ।

यसअघि मंसिरको पहिलो साता चिडियाखाना खोल्नको लागि प्रस्ताव गरिएको भए पनि सीसीएमसीको निर्णय नआउँदा अहिलेसम्म चिडियाखाना खुलेको थिएन ।

चिडियाखाना व्यवस्थापनले यसअघि नै मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० जनासम्मलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खाना खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार पारेर चिडियाखाना खोल्न प्रस्ताव गरेको थियो ।

सोही मापदण्डलाई सीसीएमसीले स्वीकृत गरेसँगै व्यवस्थापनलाई चिडियाखाना खोल्न बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment