Comments Add Comment

अवैध गिट्टी ओसार्न गएका ट्याक्टर चालकको मृत्युपछि दुम्किवासमा तनाव

फोटो : सामाजिक सन्जाल

२६ मंसिर, नवलपुर । ट्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् ।

मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको  मृत्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो । प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । स्थानीयवासीले भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै विरोधमा उत्रिएका छन् ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु ३ त ८१७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दाङको राजपुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए । ट्याक्टर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको उनले बताए ।

प्रहरीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् । राति ११ बजेको समयमा खोलामा घटना घटेको हो । चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बमले बताए ।

स्थानीयवासीले भने प्रहरीले खोलामा पिटेर घाइते बनाएका कारण उनको मृत्यु भएको भन्दै राति १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् ।

यस क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । राति झडपको अवस्था आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment