+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माछापुच्छ्रेका अध्यक्ष र जोमसोमकी उपाध्यक्षको विवाह

एक्यापले भेट जुरायो, मन मिलेपछि बिहे

अमृत सुवेदी अमृत सुवेदी
२०७७ मंसिर २६ गते १८:५९

२६ मंसिर, पोखरा । कुनै कार्यक्रममा भेट्दा होस् कि पारिवारिक जमघटमा होस्, कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई लगातार पछ्याइरहेको प्रश्न हो, ‘विवाह गर्ने होइन र ?

कर्ण मुसुस्क हाँस्थे र भन्ने ‘गरम्ला नि एक दिन ।’

त्यस्तै प्रश्नको सामना गरिरहनुपर्थ्यो, मुस्ताङ घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले पनि । अब त ढिला भएन र भनेर प्रश्न गर्दा शर्मिला भन्थिन्, ‘मन मिल्ने पाए गरौंला, नत्र यतिकै ठिकै छ नि ।’

‘जनताको काम होस् वा कुनै समारोह । कुनै नेता, कार्यकर्ता होस् वा आफन्त विवाहको कुरा त आइहाल्थ्यो,’ घरपझोङकी उपाध्यक्ष शर्मिला भन्छिन्, ‘हाम्रोजस्तो समाजमा यस्तो प्रश्न अझै आइरहने रहेछ ।’

मान्छेहरु विवाह नगर्नुको कारण खोजिरहन्थे । अब भने माछापुच्छ्रेका अध्यक्ष कर्ण र शर्मिलाले यस्तो प्रश्नको सामना गर्नु नपर्ने भएको छ । यतिबेला उनीहरुलाई प्रश्न होइन, बधाई र शुभकामना आइरहेको छ । शर्मिलाले भने झैं दुवैले मन मिल्ने पाएपछि शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् ।

४७ वर्षीय कर्ण र ४६ वर्षीया शर्मिलाले गुरुङ परम्परागत खिमी बसाली पोखराको गुम्बामा लगन गाँठो कसेका हुन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपाका नेता, जनप्रतिनिधि र आफन्तको उपस्थितिमा हेम्जा तिब्बतियन क्याम्पको गुम्बामा विवाह भएको हो ।

एकअर्कालाई चिन्नेबुझ्ने अवसर मिलेपछि पारिवारिक सल्लाहमै विवाह गरिएको उपाध्यक्ष शर्मिलाले जानकारी दिइन् । ‘लभसब परेको चाहिँ होइन है ! एक अर्कालाई हामी नजिकबाट चिन्थ्यौं,’ शर्मिलाले भनिन्, ‘दुवैजना जनप्रतिनिधि भएपछि झनै कार्यक्रमहरुमा भेट हुने र बुझ्ने अवसर मिल्यो ।’

४६ सालदेखि राजनीतिमा होमिएका उनीहरुले पार्टीकै नेता कार्यकर्तालाई साँक्षी राखेर विवाह गरे । गाउँपालिका अध्यक्ष कर्णबहादुरले पारिवार, नेता, कार्यकर्ताको सुझाव र सल्लाहअनुसार विवाह गरिएको बताए । ‘हामी सामाजिक कामकै सिलसिलामा चिनिएका हौं । हाम्रो पाटीदेखि कार्यक्षमता र दृष्टिकोण पनि मिल्छ,’ गुरुङले भने, ‘जनप्रतिनिधिको जिम्मेवारीमा छौं, मिलेर काम गर्छौं ।’

एक्यापले जुराएको त्यो भेट

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)लाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को व्यवस्थापकीय जिम्मा दिएको थियो । एक्याप व्यवस्थापन गर्ने जिम्मा पाएको कोषको म्याद सकिँदै थियो । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीसम्म फैलिएको देशकै ठूलो संरक्षण क्षेत्रको व्यवस्थापन कसरी गर्ने भन्नेबारे एक्यापको केन्द्रीय कार्यालय पोखरामा छलफल थियो । यो २०७१ साल पुसतिरको कुरा हो ।

त्यही छलफलमा चिनजान भयो, माछापुच्छ्रेका कर्णबहादुर गुरुङ र जोमसोमकी शर्मिला गुरुङको । एक्याप सञ्चालन र व्यवस्थापन गर्ने तत्कालीन ५७ वटा गाविसमा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन भएका थिए । कास्कीको माछापुच्छ्रे गाविसस्तरीय समितिको अध्यक्ष थिए, कर्ण भने जोमसोमकी सदस्य थिइन्, शर्मिला ।

२०७१ साल माघ ४ गते समुदायमा हस्तान्तरण गर्ने भनिएको एक्याप व्यवस्थापनको जिम्मा ५ वर्षका प्रकृति संरक्षण कोषलाई दिने निर्णय हुँदा कर्ण र शर्मिला साथी बनेर कर्मथलोमै फर्किए । दुवैजना सामाजिक काममा थिए भने पार्टी तत्कालीन एमाले ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका कर्ण पर्यटन व्यवसायसँगै पार्टी र गैरसरकारी संघसंस्थामा आवद्ध थिए । बिएड गरेकी शर्मिला विद्यार्थी राजनीति, शिक्षण र गैरसरकारी संस्थाहरुमा थिइन् । स्थानीय तहको निर्वाचनमा कर्णले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षको टिकट हात पारे भने शर्मिलाले मुस्ताङको घरपझङ गाउँपालिकाको उपाध्यक्ष ।
चुनाव जितेर अध्यक्ष र उपाध्यक्ष बनेपछि भेटघाट बाक्लियो । उनीहरुले नजिक हुने र एक अर्कालाई बुझ्ने अवसर पाए ।

अन्तत पार्टीका नेताहरुको सुझाव, सल्लाह र परिवारको सहमतिमै उनीहरुले त्यो परिचयलाई विवाहमा बदले । ‘यो बीचमा हामीले एकअर्कालाई अझै धेरै बुझ्यौं । नेता, कार्यकर्ता र परिवारको राय सुझावमा १५ दिनअघि विवाहको निधो भयो,’ उपाध्यक्ष शर्मिलाले भनिन्, ‘एक्यापमा भेट भएदेखिको चिनजान आज विवाहमै परिणत गर्‍यौं ।’

तस्वीर सौजन्यः सुन्दरकुमार थकाली

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?