२७ मंसिर, बुटवल । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारको नेतृत्व पार्टीको नीति, योजना विपरित गलत बाटोमा हिँडेको भन्दै उनीहरुले ‘समाजवादी अभियान’ सुरु गरेको घोषणा गरेका छन् ।
‘सरकार र पार्टी नेता विशेषको स्वार्थ र लहडको भरमा टपरटुइयाँ तालले चलेका छन्’ प्रदेश सांसद विष्णु पन्थीले शनिबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै भने, ‘पार्टीको नीति एकातिर, व्यवहार अर्कोतिर भयो, नेतृत्व गलत बाटोमा गयो, कांग्रेससँग कत्ति पनि फरक भएन ।’ केन्द्र, प्रदेश र स्थानीय तह सबैतिर नेकपा वहुमत सहित सत्तामा रहेपनि कार्यकर्तामा निराशा र अन्योलता छाएको पन्थीले औंल्याए ।
केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले संविधान र पार्टीको चुनावी घोषणापत्रले समाजवाद उन्मुख समाज निर्माण गर्ने भने पनि सरकार र पार्टी नेतृत्वको एउटा समूह ठीक उल्टो बाटो हिँडेको बताए । जनताले झण्डै दुई तिहाई वहुमत दिएपनि सरकार एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिंदै गएको र जनभावना विपरित चलेको उनले बताए । ‘पार्टी र सरकारले शिक्षा, स्वास्थ्य, भूमि जस्ता महत्वपूर्ण सवालमा समाजवादी वहस कहिल्यै गरेन, बरु सिमित आसेपासे ब्यापारिक समूहको स्वार्थपूर्तिमा केन्द्रित भयो’ उपाध्यायले भने, ‘यो तरिकाले न कम्युनिष्ट पार्टी चल्छ, न सरकार ।’
अर्का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले कम्युनिष्ट पार्टीको विचार र दर्शनमै खोट रहेको महसुस हुन थालेको बताए । अब समाजवादी धारमा रुपान्तरण नगरे पार्टी संकटमा पर्ने उनको विश्लेषण छ ।
पूर्व माओवादी पक्षको वाहुल्यता रहेको भेलामा डा. कृष्ण खनाल, लिलाबल्व ढकाल, सिद्विचरण भट्टराई, कमल चुदाली, मिना न्यौपाने, पे्रमनारायण गैरे,जीवलाल पन्थी, ठाकुर विक, घनश्याम यादवलगायतले पार्टीमा वैचारिक र नेताहरुमा कार्यशैलीमा विचलन देखिएको धारणा राखेका थिए । भेलाले वामदेव क्षेत्री संयोजक, डोरप्रसाद उपाध्याय सहसंयोजक रहेको २५ सदस्यीय समाजवादी अभियान नेपाल गठन गरेको छ ।
अभियानमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराई विषयगत विज्ञहरु समेत राखेर समाजवादमा आधारित अध्ययन, अनुसन्धान अघि बढाइने गुनाराम घिमिरेले बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4