+
+

शोक प्रस्ताव पारित गरेपछि नेकपा बैठक स्थगित हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते ९:३६

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ नबढाउने प्रचलन छ ।

संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार, आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित हुनेछ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।

बैठकको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संकटबारे छलफल गर्नु नै स्थायी कमिटी बैठकको कार्यसूची रहेको जनाएका थिए । स्थायी कमिटी उदघाटनमा अनुपस्थित रहँदै दुई पन्ने पत्र लेखेका ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।

पाँच वर्ष नै प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म ओली अध्यक्ष रहने, अनि कार्यकारी अध्यक्ष प्रचण्ड रहनेगरी भदौ २६ को स्थायी कमिटीले १५ बुँदे सहमतिको निर्णय गरेको ८६ दिन पछि नेकपा फेरि विभाजनतिर बढेको छ । दुवै पक्ष (ओली र प्रचण्ड–माधवकुमार नेपाल) को गुटगत भेला देशभर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?