
२८ मंसिर, वीरगञ्ज । पर्साका सबै सरकारी कार्यालय पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । कोभिड–१९ महामारीका कारण पर्साका कतिपय सरकारी कार्यालयहरुले आंशिक सेवा दिँदै आएकोमा पूर्ण सेवा दिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योगको कार्यालय लगायतका कार्यालयहरुले पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्दै आएका थिए ।
मंसिर १८ गते बसेको कार्यालय प्रमुखहरुको बैठकले सरकारी कार्यालयहरुले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गर्दै पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले समेत पुस १ गतेदेखि पूर्णरुपमा सेवा प्रदान गर्न लागेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले समेत पुस १ गतेदेखि पूर्ण रुपमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् । प्रशासनले समेत स्थानीय निकाय अनुसार सेवा प्रवाह गर्दै आएको थियो ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने भनेर निर्देशन दिने गरिएपनि जिल्ला प्रशासन कार्यालयमै सामाजिक दूरी कायम नगरी भिडभाड हुने गरेको छ । नागरिकता लिन, पासपोर्ट बनाउन वा अन्य कामले प्रशासन गएका मानिसहरुले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड पालना नगर्ने गरेका छन् । सेवा ग्राहीलाई व्यवस्थित नगरेर प्रशासन पनि मुक दर्शक बनेर बसेको अरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया 4