Comments Add Comment

सिड्नी सिक्सर्स १४५ रनले विजयी, रेनेगाड्स ६० रनमै अलआउट

२८ मसिर, काठमाडौं । साविक विजेता सिड्नी सिक्सर्सले मेलवर्न रेनगाड्समाथि १४५ रनको फराकिलो जित हात पार्दै अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) मा यस संस्करणको पहिलो जित हात पारेको छ ।

जोस फिलिपको ९५ रन मद्दतमा २०५ रन बनाएको सिक्सर्सले उत्कृष्ट बलिङ गर्दै रेनेगाड्सलाई ६० रनमै अलआउट गर्दै शानदार जित हात पारेको हो । बीबीएल इतिहासमै यो सबैभन्दा फराकिलो अन्तरको जित हो ।

यसअघि २०१५ मा मेलवर्न स्टार्सले रेनेगाड्सलाई नै ११२ रनले पराजित गरेको थियो । र त्यही खेलमा रेनेगाड्स ५७ रनमा अलआउट भएको थियो जुन बीबीएलमा सबैभन्दा कम स्कोर हो ।

२०६ रनको लक्ष्य पछ्याएको रेनेगाड्सको इनिङ्स सिक्सर्सको बलरको बलिङ सामु टिक्न नसक्दा १०.४ ओभरमै अलआउट भयो । रेनेगाड्सको पूरै टिमले सिक्सर्सका फिलिप भन्दा ३५ रन बनाए ।

रेनेगाड्सका लागि ओपनर शन मार्स, जेक फ्रेसर म्याकगुर्क र केन रिचर्डसनले समान १३ तथा कप्तान आरोन फिन्चले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा सिक्सर्सका बेन ड्वार्हुइसले २.४ ओभरमा १३ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै स्टिभ ओ केफीले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कार्लोस ब्रेथबेइटले २ ओभरमा १२ रन रख्चेर २ विकेट लिए । गुरिनेद सन्धुले १ विकेट लिए ।

त्यअसघि होबार्टस्थित बेलेरिभ ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो । सिक्सर्सका लागि ओपनर जोस फिलिपले ५७ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ९५ रन बनाए ।

यस्तै कप्तान ड्यानिएल ह्युजले ३२ रन जोडे । जोर्डन सिल्कले आक्रमक ब्याटिङ गर्दै अविजित ४५ रन जोडे । उनले १९ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । जेम्स भिन्सले १७ रन बनाए भने ड्यानिएल क्रिस्टियनले ३ बलमा अविजित ११ रन बनाए । उनले एक छक्का र एक चौका प्रहार गरे । रेनेगाड्सका पिटर हाट्जोग्लुले २ विकेट लिए ।

होबार्ट हुरिकेन्ससँग पहिलो खेल हारेको सिक्सर्सले पहिलो जितपछि २ खेलबाट ५ अंक जोडेको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । यस्तै पहिलो खेलमा पर्थ स्कोर्चर्सलाई सहजै पराजित गरेको रेनेगाड्सको यो पहिलो हार हो ।

होबार्टको लगातार दोस्रो जित

नेपाली लेगस्पीनर सन्दीप लामिछाने आबद्ध रहेको होबार्ट हुरिकेन्सले बीबीएलमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा होबार्टले एडेलेइड स्टाइकर्सलाई ११ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले ओपनर डी बर्ची सर्टको ७२ रन मद्दतमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा एडेलेइडले २० ओभर खेल्दै ९ विकेट गुमाएर १६३ रन बनायो । ड्यानिएल वोरलले अविजित ६२ र ड्यानी ब्रिग्सले अविजित ३५ रन बनाएपनि एडेलेइट जितसम्म पुग्न सकने । दशौँ विकेटका लागि यी दुईले अविजित ६१ रनको साझेदारी गरेका थिए ।

लगातार दोस्रो जितपछि होबार्टले २ खेलबा६ ७ अंक जोडेको छ र दोस्रो स्थानमा छ । एडेलेइडले पराजयबाट लिगको सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment