Comments Add Comment

दौलतपुरमा आगो आतंक, दैनिक १० ठाउँमा आगलागी हुनुको कारण के हो ?

२९ मंसिर, सप्तरी । तराई-मधेशका जिल्लामा आगलागीका घटनाहरु बढी हुने गर्दछ । खासगरी हावाहुरीको समयमा सावधानी नअपनाउँदा आगलागीका घटना भएर कतिपय गाउँ नै सखाप हुने गर्छ । अर्काे लामखुट्टे धपाउन बालिएको घुरबाट समेत आगलागीका घटना धेरै हुने गरेको छ ।

तर, सप्तरीको सुरुंगा नगरपालिकामा न त आगोजन्य सामग्रीबाट कुनै लापर्वाही गरिएको छ । न त सलाई, लाइटर जस्ता सामान प्रयोग नगर्दा अथवा आगो बालिएको खरानी नफालिएको अवस्थामा पनि दैनिक १० ठाउँमा आगलागी भइरहेको छ । यसरी एक्कासी आगलागी हुँदा नगरपालिकाको वडा नम्बर ३ दौलतपुरका बासिन्दा त्रसित भएका छन् ।

‘जुनसुकै बेला दैनिक आगलागी भइरहेको छ,’ वडा अध्यक्ष रुद्रबहादुर कार्की भन्छन्, ‘एक ठाउँमा निभाउँछौं, अर्काे ठाउँमा लागिहाल्छ ।’

बिहान ७ बजेदेखि दैनिक रुपमा आगो लागिरहेको छ । रातिको समयमा पनि आगलागीका घटना भइरहेको उनले बताए । निरन्तर भइरहेको आगलागीका कारण यस गाउँका बासिन्दा रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।

वडाध्यक्ष कार्कीका अनुसार एकै पटक १० ठाउँमा आगलागी भएको छ । आगलागीले एक जनाको घर नै जलिसकेको छ । स्थानीय सुगादेवीले एक्कासी लागेको आगोले आफ्नो घर नै जलेको बताइन् ।

धेरैजसो आगलागी परालको टाल (पराल राख्ने ठाउँ) मा लागिरहेको छ । ‘जति आगो लागेको छ, ती सबै परालको टालमा लागेको छ,’ वडा अध्यक्ष कार्कीले भने । परालको टालको नजिकै राखिएका दाउरा समेत जलेको स्थानीयको भनाइ छ ।

पछिल्लो दुई सातादेखि गाउँमा नियमित आगलागीका घटना हुँदै आएको छ । आइतबार मात्रै ५ ठाउँमा आगलागी भएको स्थानीयले बताएका छन् । एक ठाउँको आगो निभाउन नपाउँदै अर्काे ठाउँमा आगलागी हुँदा गाउँकै सबै परालको टाल जलेर नष्ट भइसकेको वडा अध्यक्ष कार्कीले बताए ।

‘गाउँमा बस्ने अधिकांश व्यक्तिले चौपाया पालेका छन् । केही दिनअघि काटिएको धानको पराल थुपारेर यहाँका बासिन्दाले राखेका थिए । तर, सबै पराल जल्दा गाईभैंसीलाई के खुवाउने भन्ने चिन्तामा उनीहरु छन् । गाउँको सबै पराल जलिसकेकाले अब खेतमा छरिएर रहेका पराल बटुल्ने विकल्पमात्रै बाँकी रहेको स्थानीयको भनाइ छ ।

एक्कासी लाग्ने गरेको आगोबारे स्थानीय प्रशासनलाई पनि जानकारी गराइएको वडा अध्यक्ष कार्कीको भनाइ छ । ‘आगलागीका घटना हुँदा प्रहरी पनि आउँछ । दमकल पनि आउँछ,’ उनले भने, ‘एक पटक लागेको आगो निभाएर त उनीहरु जान्छन् । तर, हामीलाई पुनः आगलागीको सामना गर्नुपरिरहेको छ ।’

स्थानीयहरु देउता रिसाएको भन्दै निरन्तर पूजापाठ गरिरहेका छन् । धामीलाई बोलाएर समेत बोलाएर पूजापाठ गराइएको भए पनि आगलागी हुने क्रम नरोकिएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment