Comments Add Comment

भुवन केसीसँग गौरी मल्लको मजाकः ‘तँ रोमान्स किङ रे ?’

भुवन केसी र गौरी मल्ल नेपाली चलचित्रका समकालिन कलाकार हुन् । उनीहरुले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । यो जोडीको मित्रता खुलेर प्रकट भयो हालै एक टिभी रियालिटी शोमा ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्सिङ विथ स्टार्सको २३ औं एपिसोड (सेमिफाइनल) मा अतिथिको रुपमा उपस्थित भएका थिए भुवन । गौरी उक्त रियालिटी शोकी निर्णायक हुन् । डेढ घन्टा लामो कार्यक्रमका दौरान दर्शकले भुवन र गौरीबीचको केमेन्ट्रीलाई मज्जाले नियाल्न पाए ।

नेपाली चलचित्र क्षेत्रमा ‘रोमान्स किङ’ को छवि छ भुवन केसीको । कार्यक्रमका प्रस्तोता सुमन कार्कीले पनि उनलाई ‘रोमान्स किङ’ को संज्ञा दिएपछि गौरीले जोक गरिन्, ‘के रे सुमन, रोमान्स किङ रे यो ?’

त्यसपछि भुवनतिर फर्किएर हाँस्दै भनिन्, ‘तेरो र मेरो रोमान्स त कहिल्यै भएन, त्यत्रो फिल्म सँगै खेलेर पनि के भाको ?’

भुवन पनि के कम । आफ्नै शैलीमा जवाफ दिए, ‘अब हुन्छ, अब हुन्छ, डन्ट वरी । पहिले मौका दिइस र ?’

गौरीले झन् कडा जवाफ फर्काइन्, ‘तेरो र मेरो रोमान्स सपनामा पनि हुँदैन के । कन्यादानमै सकियो हाम्रो रोमान्स त ।’

अर्को सन्दर्भमा पनि गौरीले भुवनलाई फेरि घोचपेच गरिन् । भुवनले आफूलाई खासै राम्रो नृत्य गर्न नआउने बताइरहेका थिए । गौरीले छेड हान्दै भनिन्, ‘खासै आउँदैन रे ? आउँदै आउँदैन भन् न ।’

यसरी पाका कलाकारहरु बीच ‘तँ–तँ र म म’ शैलीमा संवाद भइरहँदा कतिपय दर्शकले भने अनौठो मानेका छन् । यसको भिडियो क्लीप टिकटकमा पनि भाइरल भएको छ । राष्ट्रिय टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा गौरीले भुवनलाई तँ नभनेको भए हुन्थ्यो भन्ने एकथरिको विचार देखियो । अर्काथरिले चाहिँ उनीहरुले औपचारिकता निभाउनुभन्दा आफूहरुको स्वभाविक मित्रतालाई उजागर गरेको भन्दै प्रशंसासमेत गरेका छन् ।

भुवन केसी र गौरी मल्ल करिब ४ वर्षको अन्तरालमा नेपाली चलचित्र उद्योगमा भित्रिएका हुन् । उनीहरुको उमेरमा पनि धेरै अन्तराल छैन । भुवनले २०३९ सालमा निर्मित ‘जुनी’ चलचित्रबाट डेब्यू गरेका थिए । त्यसको ४ वर्षपछि २०४३ मा बनेको ‘सन्तान’ बाट गौरीले डेब्यू गरिन् । सन्तानमा भुवन केसीकै मुख्य भूमिका थियो । यद्यपि चलचित्रमा गौरीको जोडी अर्जुनजंग शाही थिए । नायिका करिश्मा मानन्धरले पनि यही चलचित्रबाट डेब्यू गरेकी हुन् ।

सन्तानपछि भुवन र गौरीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘कन्यादान’ अविस्मरणीय छ । प्रकाश थापा निर्देशित यो चलचित्र व्यवसायिक रुपमा जति सफल भयो, उत्तिकै प्रशंसित पनि । भुवन र गौरी दुवै कुशल अभिनयका लागि चिनिन्छन् । उनीहरुबीचको अन्तराल भनेको चाहिँ नृत्य नै हो । गौरी नृत्यमा पारंगत छिन् भने भुवनको नृत्य दयनीय छ । नृत्यका नाममा हात मात्रै्र हल्लाउन जानेको उनी स्वयम् स्वीकार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment