Comments Add Comment

सरकारविरुद्ध पर्सा र बारामा पनि कांग्रेसको प्रदर्शन

२९ मंसिर, वीरगञ्ज । सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पर्सा र बारामा पनि प्रदर्शन गरेको छ । पर्साको वीरगञ्ज र बाराको कलैयामा कांग्रेसले प्रदर्शन गरेको हो हो ।

वीरगञ्जको घण्टाघरबाट सुरु गरिएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमै आएर विरोध सभामा परिणत भएको थियो ।

विरोधसभामा बोल्दै नेपाली कांग्रेसका नेताहरुले कम्युनिष्टको नाममा दम्भी, अत्याचारी र भ्रष्ट सरकार बनेको बताए । कम्युनिस्ट सरकारले लोकतन्त्र खतरामा पार्न लागेको भन्दै उनीहरुले त्यसको विरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । कोरोना महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनीहरुको आरोप थियो ।

कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रमेश रिजालले कम्युनिस्ट सरकारले प्रजातन्त्रको अपहरण गर्ने दिवा सपना देखेको बताए । ‘भारतबाट विवाह गरेर बुहारी ल्याउने वित्तिकै नागरिकता पाइन्थ्यो, अब ७ वर्षपछि मात्रै पाउने प्रावधान ल्याइएको छ । कम्युनिस्ट सरकार राणा सरकार भन्दा पनि बर्बरता देखिएको छ,’ नेता रिजालले भने, ‘प्रजातन्त्रको अपहरण गर्ने दिवा सपना देखेको छ, नेपाली कांग्रेसले त्यो पूरा हुन दिँदैन ।’

भावनामा बगेर कम्युनिस्ट र मधेसवादी दललाई जिताएको तर उनीहरुको पालामा भ्रष्टाचारले पराकाष्ठा नाघेको दावी उनको छ । ‘कोरोना रोकथाम र नियन्त्रणको रकममा पनि भ्रष्टाचार गरे, वाइडबडी, टेलिकम, एनसेल प्रकरणमा पनि रकमको चलखेल भएको छ । सरकारलाई जनताको माया छैन,’ उनले भने, ‘उनीहरुलाई कसरी तह लगाउने जनताले जानेका छन्, भावनामा बहेर हुँदैन, प्रजातन्त्र, संघियता र जनताको प्रजातान्त्रिक अधिकारको रक्षा गर्नुपर्छ ।’ धेरै ज्यादती गरे नेपाली जनताले नसहने उनको भनाइ छ ।

अर्का केन्द्रीय सदस्य अजय चौरसियाले सरकारले आफ्नो रबैया परिवर्तन नगरे जनताले मध्यावदी चुनाव गराउने दावी गरे ।

‘सरकारले मल दिन सक्दैन, किसानले भारत गएर एक बोरा मल ल्याउँछ । प्रहरी प्रशासन नेकपाको कार्यकर्ता बनेर समातिदिन्छ,’ उनले भने, ‘१७ सय किलोमिटर खुला सीमा छ । सिमावर्ती क्षेत्रका जनताबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध छ, भारतले खोलिसक्दा पनि कम्युनिस्ट सरकारले नाकाबन्दी गरेको छ, पैदल आउन जान दिन्छ, गाडीमा आउजाउ गर्न दिएको छैन । यस्तै रवैयाबाट अघि बढे मध्यावदी चुनाव हुन्छ ।’ लोकतन्त्र खतरा आउँदा काँग्रेस नै त्यसको रक्षाका लागि अघि सर्ने उनको भनाइ छ ।

बारामा पनि प्रदर्शन

त्यस्तै बारामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय कलैयाको राम मन्दिर छेउबाट विरोध र्‍याली निकालिएको थियो । विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, राधेचन्द्र यादव लगायतका नेताहरुले कम्युनिस्ट सरकारले देशलाई बर्बाद बनाएको आरोप लगाए ।

जनतामा कांग्रेस नपुगोस् भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिएको, कम्युनिस्ट सरकार तानाशाही बनेको लगायतका आरोप उनीहरुले लगाएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment