Comments Add Comment

सभामुखको स्पष्टीकरण : संवैधानिक परिषदमा पर्याप्त परामर्श भएन

३० मंसिर, काठमाडौं । पर्याप्त गृहकार्य र परामर्श नभएका कारण सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएको उनको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सापकोटा अनुपस्थित भएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा गुटको सल्लाहमा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको भन्दै सभामुखको आलोचना भएको छ ।

तर सभामुखको निजी सचिवालयले भने पर्याप्त गृहकार्य र परामर्श नभएकाले बैठकमा नगएको स्पष्टिकरण दिएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी वक्तव्यमा भनिएको छ, जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।’

राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको मान्यता रहेको उनले बताए ।

‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नुभएको छ’ वक्तव्यमा भनिएको छ ।

सरकारले भने अध्यक्षसहित बहुमत सदस्यको उपस्थितमै बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

यो पनि पढ्नुहोस सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद : देउवा यो पनि पढ्नुहोस संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment