Comments Add Comment

अध्यादेश सर्वसत्तावादतर्फको अर्को कदम : विवेकशील साझा पार्टी

३० मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई संविधानको मर्ममाथि ठाडो  प्रहार र सर्वसत्तावादतर्फको अर्को कदम भनेको छ ।

उक्त पार्टीले मंगलबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रमाथि नै जोखिम बढेर गएको टिप्पणी गरेको छ ।

सरकारले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई प्रधानमन्त्रीसहित ३ जना सदस्यको उपस्थितिमा बैठक गर्न सक्ने व्यवस्था राखेको छ । ६ सदस्यीय परिषदमा अब विपक्षी दलको नेता  र सभामुखबिनै बैठक बस्न सजिलो हुने गरी सरकारले अध्यादेश ल्याएका बेला विवेकशील साझा पार्टीको यस्तो धारणा आएको हो ।

उक्त पार्टीले उक्त अध्यादेश तुरून्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । ‘संवैधानिक परिषद् ऐनको यसअघिको प्रावधान अनुसार शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका आधारमा संवैधानिक अंगहरूमा सक्षम र योग्य व्यक्तिहरू नियुक्त गर्न हामी जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी र अलोकतान्त्रिक कदम चाल्न बन्द गरी संसद्को अधिवेशन तत्काल आह्वान गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment