Comments Add Comment

सेयर ब्रोकर कमिसन विवाद : अध्ययन रिपोर्ट थन्काएर अध्यक्ष अमेरिका !

१ पुस, काठमाडौं । सेयर खरिदबिक्री वापत तिर्नु पर्ने कमिसनका विषयमा चर्को बहस भइरहेका बेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अमेरिकामा पुगे । जब अध्यक्ष ढुंगाना अमेरिका पुगे, यता कमिसन घटाउनु पर्ने भन्दै पुँजी बजारका लगानीकर्ताहरु आन्दोलन सुरु गरे । उनीहरुले अघिल्लो साता धितोपत्र बोर्ड घेराउ पनि गरे ।

हाल सेयर किनेबेचमा ब्रोकर कम्पनीहरुले लिने कमिसन ०.६० प्रतिशतसम्म छ । यसलाई घटाएर ०.२५ प्रतिशतमा झार्नु पर्ने भन्दै लगानीकर्ताहरुले आन्दोलन थालेका हुन् ।

लगानीकर्ताहरुले बेलाबेलामा यो विषय उठाउँदै आएका छन् । गत वर्ष पनि कमिशन घटाउनु पर्छ भनेपछि बोर्डले डा. नवराज अधिकारीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो । समितिले गत भदौमै बुझाएको प्रतिवेदन भने बोर्डले गुपचुप राखेको छ ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरी अध्यक्ष ढुंगाना फर्किए लगत्तै कमिसनबारे निर्णय हुने बताउँछन् । उनका अनुसार प्रतिवेदनमाथि व्यवस्थापन तहमा छलफल भइसकेको छ ।

बोर्ड श्रोतका अनुसार डा. अधिकारी संयोजकत्वको समितिले कमिसन घटाउनुपर्ने निष्कर्ष निकालेको छ । अनलाइन कारोबार बढेको र कारोबार रकमसमेत निकै ठूलो भएका कारण कमिसन घटाउनुपर्ने प्रतिदेनको निष्कर्ष छ । अध्यक्ष ढुंगानाले पनि लगानीकर्तासँगको भेटमा आफू कमिसन घटाउने पक्षमा रहेको बताउने गरेका छन् । तर उनी करिब एक महिनाअघि अमेरिकातिर लागे ।

अहिले कति तिर्नु पर्छ कमिसन ?

अहिले लगानीकर्ताहरुले सेयर कमिसन वापत ०.६१५ प्रतिशत तिर्नुपर्छ । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नु पर्छ । ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत र त्यसभन्दा माथि पाँच लाख रुपैयाँसम्म ०.५५ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ ।

यसैगरी पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.४५ प्रतिशत र एककरोड रुपैयाँदेखि माथि ०.४० प्रतिशत ब्रोकरलाई कमिसन तिर्नुपर्छ । त्यसमाथि सेवा शुल्क भनेर नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत रकम तिर्नुपर्छ । डिपी शुल्क भनेर प्रत्येक कारोबारमा २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस ब्रोकर कमिशन घटाउन माग गर्दै आन्दोलनको घोषणा

ब्रोकर कम्पनी एकै दिन ६८ करोडसम्म कमाउँछन् 

पहिला लगानीकर्ताहरु खरिदबिक्रीका लागि ब्रोकर कम्पनीमै जाँदा कम्पनीहरुले कर्मचारी व्यवस्थापनलगायत खर्च गर्नु पर्थ्यो । अहिले अवस्था फरक छ । अनलाइनबाटै सेयर खरिद बिक्री हुन्छ ।

कमिशन घटाउन माग गर्दै अघिल्लो साता बोर्डको कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ताहरु

घरबाटै कारोबार हुने भएका कारण ब्रोकरले धेरै कमिशन लिन नमिल्ने लगानीकर्ताहरुको भनाइ छ । अर्कोतर्फ पछिल्लो समय एकै दिनमा ८-९ अर्ब कारोबार हुन थालेको छ । ठूलो कारोबार हुँदा ब्रोकर कम्पनीहरुलाई धेरै नै लाभ हुन थालेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार लगानीकर्ताले नोक्सानी बेहोरेर ब्रोकरलाई धेरै कमिसन तिर्नु परिरहेको बताउँछन् । उनी भन्छन्, ‘ब्रोकरहरुले एकैदिन ६८ करोड रुपैयाँसम्म कमाएका छन् भने लगानीकर्तालाई किन थप मार पारिरहने ?’

फर्किए अध्यक्ष नेपाल

अध्यक्ष ढुंगाना स्वदेश फर्किएका छन् । करिब एक महिना लामो अमेरिका बसाइँपछि उनी मंगलबार स्वदेश फर्किएका हुन् ।

नेपाल फर्किएपछि अनलाइनखबरको टेलिफोन सम्पर्कमा आएका अध्यक्ष ढुंगानाले आफू अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने पक्षमा नै रहेको बताए । आफूले पहिले नै प्रतिवेदन कार्यान्वयन गर्ने पक्षमा रहेको भए पनि त्यसतिबेलै कार्यकारी निर्देशन निरज गिरी लगायतलाई कोभिड संक्रमण देखिएपछि नसकिएको उनको भनाइ छ ।

तर आफू नभएको बेला आन्दोलन भएको खबरलाई आफूलाई दुःख लागेको उनले बताए । ‘म नभएको बेला आन्दोलन किन गर्नु ? मैले त सकरात्मक छु भनेकै थिएन नि’ अध्यक्ष ढुंगानाले भने, ‘अब म आइसके अहिले अफिस जादैछु, प्रतिवेदन कार्यान्वयनमा जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment