Comments Add Comment

ओलीले ‘भावी प्रधानमन्त्री’ भन्दै वामदेवतिर पुलुक्क हेरेपछि !

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिनासाथ बुधबार साँझ उपाध्यक्ष वामदेव गौतमले आफू निकटस्थहरुसँग भने, ‘अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा सन्दर्भ नमिलाइकन मलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्नुभयो । उहाँले प्रधानमन्त्री छाड्ने कुरो गर्नुभयो ।’

के ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेकै हुन् त ? दुबै पदबाट नहट्ने अडान राख्दै आएका ओलीले स्थायी कमिटीको बैठकमा एकाएक प्रधानमन्त्रीको कुर्सी छाड्ने कुरो गरेकै हुन् त ?

आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आयो भनेर उपाध्यक्ष गौतम मख्ख परिरहेका बेला हामीले स्थायी कमिटी बैठकको ‘फ्याक्ट चेक’ गर्ने प्रयास गर्‍यौं ।

पहिले प्रधानमन्त्री भइसकेकाहरु नै फेरि किन प्रधानमन्त्री हुनुपर्‍यो ? भन्दै प्रधानमन्त्री ओलीले अर्को चुनावपछि अहिलेसम्म अवसर नपाएकालाई प्रधानमन्त्री बनाउनुपर्ने बैठकमा बताए । यसो भन्दैगर्दा प्रधानमन्त्री ओलीले वामदेव गौतमतिर हेर्दै संकेत गरेका थिए ।

स्थायी कमिटीका केही सदस्यहरुलाई सोधियो, बैठकलाई सम्वोधन गर्ने क्रममा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने कुरो गरेकै हुन् ?

एक सदस्यले अनलाइनखबरसँग भने, ‘होइन, प्रधानमन्त्री ओलीले पुरानै कुरो दोहोर्‍याउनुभएको हो । बैठकको अन्तिमतिर उहाँले महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्री छाड्दिनँ भन्नुभयो । मलाई किन हटाउने ? भनेर प्रश्न गर्नुभयो ।’

पहिले प्रधानमन्त्री भइसकेकाहरु नै फेरि किन प्रधानमन्त्री हुनुपर्‍यो ? भन्दै प्रधानमन्त्री ओलीले अर्को चुनावपछि अहिलेसम्म अवसर नपाएकालाई प्रधानमन्त्री बनाउनुपर्ने बैठकमा बताए । यसो भन्दैगर्दा प्रधानमन्त्री ओलीले वामदेव गौतमतिर हेर्दै संकेत गरेका थिए ।

बैठकमा सहभागी स्थायी कमिटीहरुका सदस्यका अनुसार प्रधानमन्त्री ओलीले चुनावअघि नै प्रधानमन्त्री छाडेर वामदेवलाई बनाऔं भन्ने प्रस्ताव गरेका होइनन् । विगतमा जस्तै, पुरानै भनाइ दोहोर्‍याएका मात्र हुन् ।

प्रधानमन्त्रीले यस्तो भन्दैगर्दा स्थायी कमिटी सदस्यहरुले यो विषयमा अहिले प्रवेश गर्न उपयुक्त नरहेको भन्दै बैठक विषयवस्तुमा केन्द्रित हुनुपर्ने बताएका थिए ।

तर, स्थायी कमिटीको बैठक सकिएलगत्तै नेता गौतमले उत्साहित हुँदै आफू निकटस्थहरुसँग ओलीले आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको बताएका छन् ।

रोचक कुरो त के छ भने प्रतिनिधिसभाको यही कार्यकालमा वामदेव गौतम प्रधानमन्त्री बन्न सम्भव छैन । किनभने, राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान संविधानमै छैन ।

वामदेवलाई प्रधानमन्त्री बनाउने हो भने संविधानै संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधन गर्न अहिलेजस्तो अध्यादेश ल्याएर पुग्दैन, संसदको दुई तिहाई बहुमत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment