Comments Add Comment

विद्युत प्राधिकरणका सञ्चालकमा निजी आयोजनाका सञ्चालक !

३ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा भक्तबहादुर पुन र कपिल आचार्य नियुक्त भएका छन् ।

प्राधिकरणका सञ्चालक चेतराज जोशी र भक्तबहादुर पुनको ४ वर्षे कार्यकाल यसैसाता सकिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुनलाई दोहोर्‍याएको छ भने जोशीको ठाउँमा आचार्यलाई नियुक्त गरेको छ ।

आचार्य कम्पनी हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक थिए । प्राधिकरणमा नियुक्ति पाउनु १३ दिनअघि मात्र हिमालय हाइड्रोपावरको सञ्चालकबाट राजीनामा दिएको पाइएको छ ।
हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले १२ मेगावाटको माथिल्लो खिम्ति आयोजनाको उत्पादन अनुमति पत्र पाएको छ ।

निजी आयोजना सञ्चालकलाई प्राधिकरणको सञ्चालक बनाउँदा स्वार्थ बझिने जलविद्युत विज्ञहरु बताउँछन् ।

प्राधिरकणले निजी आयोजनासँग पीपीए गर्नुपर्ने र निजी आयोजना सम्बद्ध विभिन्न नीतिगत निर्णयहरु गर्नुपर्ने भएकाले विद्युत प्राधिकरण ऐनको मर्म अनुरुप पनि निजी आयोजनाका सञ्चालकको नियुक्ति उपयुक्त नहुने प्राधिरकणका पूर्वकार्यकारी निर्देशक तथा पूर्वसचिव अर्जुनबहादुर कार्की बताउँछन् ।

विगतमा पनि यस्तो गलत अभ्यास भएको भन्दै यसमा कानूनीभन्दा पनि नैतिक प्रश्न खडा हुने बताए ।

विगतमा पनि निजी आयोजनाका प्रवर्द्धक रहेका गुरु न्यौपाने पनि प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए ।

अहिले सञ्चालक नियुक्त भएका आचार्य परामर्शदाता कम्पनी साइन टेक्नोक्र्याट्स लिमिटेडका कार्यकारी निर्देशक र प्रोफेसनल्स इन्जिनियर्स बिल्डर्सका प्राविधिक निर्देशक पनि हुन् । उनी उर्जासम्बद्ध परियोजनाहरुका परामर्शदाता र ठेकदार पनि भएकाले प्राधिकरणको सञ्चालक समितिमा आउनु नैतिक नहुने विज्ञहरुको मत छ ।

आचार्य गत वर्षको पुस २५ गते भएको साधारणसभाबाट हिमालयन हाइड्रोपावरमा सर्वसाधरण समूतर्फबाट सञ्चालक नियुक्त भएका थिए ।

आचार्य कम्पनीको सञ्चालक नियुक्त भएको जानकारी सहित कम्पनीले लेखेको पत्र

उनले गत मंसिर १९ गते सञ्चालक पदबाट राजीनामा दिएको र आफू अहिले हिमालय हाइड्रोपावरमा सञ्चालक नरहेको बताए । ‘मेरो परामर्शदाता र निर्माण कम्पनी कम्पनीहरुले प्राधिकरणको ठेक्कामा सहभागी छैनन्,’ उनले भने, ‘म निजी आयोजनामा सञ्चालकको भूमिकामा पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment