+
+
Shares

विद्युतको तार छुँदा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते ११:५५

७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट -सुस्तापूर्व) त्रिवेणी गाउँपालिका-२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छुँदा दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा उक्त दुर्घटना भएको थियो ।

स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइनेछ ।

प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ ।

प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार कानुनी व्यवस्था र विगतका नजीरहरुका आधारमा पीडित बालकको परिवारलाई सहयोग गर्न लागिएको हो ।

हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षतिको तथ्यांक डरलाग्दो रहेको उल्लेख गर्दै मन्त्रालयले प्राधिकरणलाई आफ्ना संरचनाहरुको मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई जनचेतना तथा पूर्व सूचनाका कार्यलाई तीव्रता दिन निर्देश गरेको छ ।

साथै विद्युतीय दुर्घटना न्यूनीकरण गर्न नागरिकको सचेतना पनि अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?