Comments Add Comment
पल्सर स्पोर्टस् अवार्ड :

पिपुल च्वाइस अवार्ड मनोनयनमा महिला खेलाडीको वर्चस्व

पल्सर स्पोर्टस अवार्डको मनोनयनमा परेका खेलाडीहरु बाँयाबाट क्रमश : अरुणा शाही, सावित्रा भण्डारी, सदिना श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ । यही विधामा मनोनयनमा परेकी पौडीकी गौरिका सिं‌ह भने लण्डनमा भएकाले सामूहिक तस्वीर खिच्दा अनुपस्थित भइन् ।

३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७७ एउटा विधा पिपुल्स च्वाइस अवार्डको मनोनयनमा महिला खेलारुको वर्चस्व रहेको छ ।

मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले अन्तिम ५ जनाको सूची तयार पार्दै शुक्रबार सार्वजनिक गरेको हो । जसमा ४ जना महिला खेलाडी छन् भने एक जना मात्र पुरुष खेलाडी छन् ।

१३ औं सागमा चार स्वर्ण जित्दै इतिहास रचेकी गौरिका सिंह, नेपाली भलिबल इतिहासमै पहिलो स्वर्ण जित्ने टिमका कप्तान अरुणा शाही, करातेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन् ।

दुई खेलाडी व्यक्तिगत विधाका र तीन खेलाडी टिम इभेन्टबाट छन् ।

गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा चार स्वर्ण जितेकी थिइन् भने मन्डेले २ स्वर्ण जितेका थिए ।

यस्तै भलिबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठले १३ औं सागमा रजत जितेका थिए ।

अरुणाको कप्तानीमा महिला भलिबल टिम र सदिनाको कप्तानीमा महिला बास्केटबल टिमले सागमा जितेको रजतको उपाधि अहिलेसम्मको उच्च हो । अरुणाको कप्तानीमा नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनमा उपाधि जितेको थियो । यस्तै सावित्रा महिला फुटबल टिमले रजत जित्दाको टिममा महत्वपूर्ण सदस्य थिइन् ।

जेठमै हुनुपर्ने अवार्ड कार्यक्रम यस पटक कोरोना महामारीका कारण प्रभावित बनेको थियो । महामारीले गर्दा ढिला गरी हुन लागेको अवार्ड कार्यक्रम यस पटक सेमी भर्चुअल माध्यमबाट हुने मञ्चले जनाएको छ । पल्सर स्पोर्ट्स अवार्डमा कूल १० विधामा अवार्ड वितरण हुनेछ ।

वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केहीदिनमै सार्वजनिक गर्ने छनोट समितिका संयोजक रेग्मीले जानकारी दिए । यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड पारा एथलिट अवार्ड स्पेशल अवार्ड र टिम अफ दी इअर अवार्डको घोषणा कार्यक्रमै दिन पुस २८ गते घोषणा गरिनेछ । यस पटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने मञ्चले जनाएको छ ।

मनोनयनमा परेका खेलाडीलाई ईसेवाबाट पनि भोट गर्न सकिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । ईसेवामार्फत भोटिङ, फेसबुक लाइक, मञ्चका सदस्य पत्रकारको मत र राष्ट्रिय संघका मुख्य प्रशिक्षकहरुको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट हुनेछ ।

खेलाडीहरुलाई शुक्रबार बेलुका ६ बजेदेखि पुस २७ गते राति १२ बजेसम्म मत दिन सकिने मञ्चले जनाएको छ । यसअघि एसएमएसबाट मत लिने गरिए पनि यस वर्ष ईसेवाबाट मत लिने व्यवस्था गरिएको हो । खेलाडीले ईसेवाबाट पाएको मतको भार ५० प्रतिशत रहनेछ भने फेसबुक लाइमको मतभार २५ प्रतिशत रहनेछ । यस्तै मन्चका पत्रकार र प्रशिक्षकहरुको मतको भार १२.५-१२.५ गरी २५ प्रतिशत रहनेछ ।

पिपुल च्वाइस अवार्डका लागि मनोनयमा परेका चार खेलाडीहरुले महामारीको जटिल अवस्थामा पनि मञ्चले अवार्ड कार्यक्रम गर्न लागेकामा खुशी व्यक्त गरे । मनोनयनमा परेकी गौरिका लण्डनमा भएकाले उपस्थित थिइनन् ।

पिपुल च्वाइस विधामा मनोनयनमा परेका खेलाडीले २०७६ मा पाएको सफलता र उपलब्धी यस्तो छ ।

१. गौरिका सिंह- पौडी

  • १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्णको कीर्तिमानसहित थप दुई रजत र दुई कास्य ।
  • आठौं राष्ट्रिय खेलकुदमा आफू सहभागी सबै १२ स्पर्धामा स्वर्ण पदक
  • करिश्मा कार्कीले बनाएको धेरै स्वर्ण जित्ने कीर्तिमानमा बराबर ।
  • दक्षिण कोरियामा आयोजित १८ औं फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा ।

२. अरुणा शाही- भलिबल

  • नेपाली महिला भलिबल टोलीकी कप्तान
  • एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण
  • १३ औं सागमा ऐतिहासिक रजत

३. मन्डेकाजी श्रेष्ठ- कराते

  • १३ औं सागमा टिम काता र एकल कातामा दुई स्वर्ण पदक
  • आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक र टिम कातामा रजत पदक
  • बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण पदक र एकल कातामा कास्य पदक
  • नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत, उत्कृष्ट खेलाडी घोषित

४. सदिना श्रेष्ठ – बास्केटबल

  • १३ औं सागमा रजत पदक ।
  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ३ टिमबाट रजत पदक
  • एनबीएल बास्केटबल लिगमा समृद्धि गोरिल्लाज टिमबाट रजत पदक

५. सावित्रा भण्डारी- फुटबल

  • १३ सागमा रजत पदक ।
  • आठौं राष्ट्रिय खेलकुदमा एपीएफबाट स्वर्ण पदक
  • इन्डियन वुमन्स लिग २०१८-१९ को विजेता सेथु एफसीबाट
  • प्रधानसेनापति कप विजेता एपीएफबाट
  • इन्डियन वुमन्स लिग २०१९-२० विजेता गोकुलम केरलाबाट
  • नाजेझ्दा कप उपविजेता
  • सहभागी अधिकांश प्रतियोगितामा सर्वाधिक गोलकर्ता
  • नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment