
४ पुस, चितवन । चितवनमा २०/२५ वर्षअघि निकै खस्किँदै गएको तोरीको उत्पादन पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष तोरीको क्षेत्रसहित उत्पादन पनि वृद्धि भएको हो ।
आर्थिक वर्ष २०५२/०५३ सालतिर जिल्लामा तोरीको उत्पादन दयनीय अवस्थामा घट्यो । तोरीमा लाग्ने रोग किरा र जमिनको तीव्र खण्डीकरणका कारण तोरी खेती गर्ने किसानहरुले पेशा नै परिवर्तन गर्न थाले । जसले गर्दा कुनै समयमा १८ हजार हेक्टरमा तोरी हुने जिल्लामा तोरी खेती ४५ सय हेक्टरमा झर्यो । अहिले तोरी १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जानकारी दिए । चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढ्ने देखिएको ढकालले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार माडी र पूर्वी चितवन क्षेत्रमा तोरी ब्यापक रुपमा लगाइएको छ । २०६४ सालपछि जिल्लामा तोरी लगाउने कृषक बढ्न थालेका हुन् । चितवनमा करीव १५ सय मेट्रिक टनभन्दा बढी तोरी उत्पादन हुँदै आएको छ । चितवनमा करीब २० हजारदेखि २५ हजार तोरी किसान रहेको अनुमान छ । तर, व्यावसायीक खेती गर्ने किसान भने छैनन् । सबै असंगठित छन् ।
तोरीबाली भन्दा अन्य बाली लगाउनतिर आकर्षित बनेका किसानहरु पुनः तोरी खेतीमा नै फर्किंदा उत्पादन वृद्धि भएको ढकालको बुझाइ छ । सरकारले केही वर्षअघि तोरी खेतिलाई प्रोत्साहन गर्न थालेपछि चितवनमा लोप हुन लागेको ठाउँमा पुनः तोरी फूल्न थालेको हो । सरकारले तोरी किसानलाई स्रोत बीउमा ५० प्रतिशत र तेल मिलमा ५० प्रतिशत अनुदान दिँदै आएको थियो ।
तर, अहिले भने तोरीलाई प्रोत्साहन गर्ने कुनै पनि सरकारी कार्यक्रम छैन । चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली जितपुर क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।
माटोमा तोरीका लागि चाहिने सुक्ष्म खाद्य तत्व सल्फर, बोरन, क्याल्सिमयको कमी भएको देखिए पनि माटोमा यी पदार्थहरु राखेर तोरी खेती गर्न थालियो । तोरीमा लाग्ने लाही र अल्टेनेरिया डडुवाको समेतको प्रभावलाई नियन्त्रण गर्न थालेपछि जिल्लामा तोरीको उत्पादन पुनः बढ्न थालेको विज्ञहरु बताउँछन् ।
कुखुरापालन, माछापालन, बाख्रापालन, पशुपालनमा या अन्य तरकारी खेतीबाट बढी लाभ पो लिन सकिन्छ की भनेर मन डुलाएका किसानहरु पुनः तोरीमा नै फर्किएकाले उत्पादन बढेको हुनसक्ने ज्ञान केन्द्र चितवनका प्रमुख ढकालले बताउँछन् ।
तोरीमा देखिएको रोग किरा र समस्या पत्ता लागेपछि किसानहरु यसतर्फ आर्कषित बन्न थाले । कम लगानी, एकपटक छरेपछि गोड्न नपर्ने हुँदा किसान तोरी बाली लगाउन आकर्षित भएको बताउँछन्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना । तिमिल्सिनाका अनुसार किसानहरुले पछिल्ला वर्षमा चाँडो पाक्ने धान लगाउँदा समयमा नै तोरी लगाउने समय पाएकाले आकर्षण बढेको हो । आफैंले लगाएर शुद्ध तोरीको तेल खाने वा अरु आफन्तलाई पठाउने र लगानी अनुसारको आम्दानी पनि पाउने देखिएकाले किसानहरु तोरी खेतीमा फर्किएको तिमिल्सिनाले बताए ।
माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले यस वर्ष धानमा लागेको रोग र किराको कारणले किसानहरु तोरीबाट घाटा पूर्तिका लागि यसतर्फ आकर्षित भएको दावी गर्छन् । उनका अनुसार माडीमा चक्लाबन्दी गरेर समूहमा समेत तोरी खेती गरिएको छ । पहिले ५ सय हेक्टरमा तोरी खेती भएकोमा यसपटक सो बढेर १ हजार हेक्टरभन्दा बढी पुगेको उनले बताए ।
पछिल्ला वर्षमा तोरीको भाउ पनि किसानले राम्रै पाउन थालेका छन् । अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
८० देखि ९० दिनमा तोरी खेती तयार हुन्छ । यसले गहुँबाहेक अन्य कुनै पनि बालीका लागि असर गर्दैन । पानीको खास आवश्यकता तोरीलाई हुँदैन तर सामान्य चिस्यान भने जरामा चाहिने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।
तोरी बजारको समस्या नभएको नगदे बाली हो । ‘मूल्य पनि राम्रो आउने, छोटो समयमा तयार हुने, सागको रुपमा समेत प्रयोग गर्न सकिन्छ,’ ढकालले भने, ‘तोरी भएको ठाउँमा वातावरण पर्यटन समेत राम्रो हुन्छ । ढकमक्क तोरी फूल्दा त्यसले दिने सौन्दर्यताले लोभ्याउने गर्छ । मानिस मात्रै होइन तोरीका कारण मौंरी समेत आकर्षित हुन्छन् । मौरीपालन व्यवसायलाई माथि उठाउन तोरी खेतीको महत्वपूर्ण भूमिका हुन्छ ।’
मौरीपालक किसानहरुले मौरीका घारहरु तोरी खेती भएका ठाउँमा ल्याइ राख्ने गर्दछन् । तोरी लगाउने किसानले सँगसँगै मौरीपालन पनि गरे त्यसले थप फाइदा हुने किसानहरु बताउँछन् । तोरीसहितका बालीहरुमा पारागसेचन गराउन मौरीको भूमिका निकै महत्वपूर्ण रहने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया 4