५ पुस, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्त ट्राई नेशन्स सिरिज खेल्नुअघि सिरिज गराउने तयारीमा नेपाल क्रिकेट संघ क्यान लागेको छ ।
नेपालले आगामी वर्ष मार्चमा ओमानमा विश्वकप लिग २ अन्तर्गत सिरिज खेल्दैछ । जसमा नेपालसहित ओमान र अमेरिका छन् । लिग २ मा नेपालले खेल्न लागेको यो दोस्रो सिरिज हो ।
यसअघि घरेलस मैदानमा फेब्रुअरीमा नेपालले यही दुई टिमसँग सिरिज खेलेको थियो । जसमा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो भने ओमानसंग दुवै खेलमा पराजित भएको थियो ।
२०२० मै हुनुपर्ने सिरिजहरु कोभिडका कारण स्थगित भएपछि आईसीसीले नयाँतालिका सार्वजनिक गरेको हो । २०२० मै नेपालले अर्को एक सिरिज पनि खेल्नेछ । लिग २ अन्तर्गत मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा नेपालले सिरिज खेल्नेछ । यस्तै जुलाईमा स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्न नेपाल स्कटल्याण्ड जानेछ ।
ओमानमा गएर सिरिज खेल्नुअघि नेपाल क्रिकेट संघले तयारीस्वरुप एउटा सिरिज खेलाउने तयारी गरिरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । ‘मार्चमा हुने सिरिजको तयारीका लागि एउटा सिरिज आयोजना गर्ने योजना हो । कम्तीमा हामीभन्दा बलियो कुनै ए टिम नै भए पनि बोलाए खेलाउने प्रयासका लागि लागिरहेका छौँ,’ क्यान अध्यक्ष चतुर बहादुर चन्दले अनलाइनखबुरसँग भने ।
‘ओडीआई नेशन वा आफ्नै लेभलको टिमलाई ल्याएर ट्राई सिरिज वा दिपक्षिय सिरिज गर्ने प्रयास हो त्यो नभए पनि हामीभन्दा बलियो ए टिम ल्याउन प्रयास हुनेछ । त्यो भयो भने हाम्रो खेलाडीले पनि सिक्ने अवसर पाउनेछन् ।’
कोभिडका कारण नेपालको घरेलु प्रतियोगिताहरु पनि प्रभावित बनेको छ । क्यानले गत मंसिर ११ गतेदेखि आधिकारिकरुपमा राष्ट्रिय टिमका खेलाडीलाई क्याम्पमा बोलाएर प्रशिक्षण सुरु गरेको थियो । तर चितवनमा मंसिर २७ देखि ३० सम्म भएको गौतम वुद्ध कपका लागि क्याम्पबाट खेलाडीहरु रिलिज गरेको थियो । अहिले खेलाडीहरु रेस्टमा छन् ।
अब पीएम कप राष्ट्रिय प्रतियोगिता खेलेपछि मात्र खेलाडीहरु क्याम्पमा प्रशिक्षण गर्ने सम्भावना रहेको छ । क्यानले यसअघि यही पुष ११ बाट महिला र पुरुषको पीएमकप गराउने तयारी गरेको थियो । तर अब पहिला मिहलाको प्रतियोगिता गराएर अनी पुरुषको प्रतियोगिता गराउने क्यान अध्यक्ष चन्दले बताए ।
क्यानले केही दिनअघि मात्रै अष्ट्रेलियन डेभ ह्वाटमोरलाई मुख्य प्रशिक्षकसमेत नियुक्त गरेको छ । उनको सम्झौता २०२१ जनवरी १ देखि लागू हुनेछ र उनी जनवरी पहिलो साताभित्रमा नेपाल आइसक्ने क्यानले जनाएको छ ।
प्रतिक्रिया 4