Comments Add Comment

११ प्रतिशतले बढ्दै चार महिनामा भित्रियो ३ खर्ब ३७ अर्ब रेमिट्यान्स

६ पुस, काठमाडौं । विदेशबाट भित्रने रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्स आप्रवाह बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । चार महिनाको अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment