Comments Add Comment

खेलाडी प्रतिभा पुरस्कारबाट ७ खेलाडी पुरस्कृत

७ पुस, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ । ७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

सोही अवसरमा २ प्रशिक्षक तथा समान १-१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरियो । २ प्रायोजक पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मानित भए ।

शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित सम्मानित भए । समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

समान १-१ लाख नगदसहित सम्मानित हुनेमा गोल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन् । १३ औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मी बाहेक तीनै खेलाडी १३औं सागका दोहोरो स्वर्ण विजेता हुन् । मन्डे, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए ।

प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए । १३ औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । दुवैलाई समान ५०-५० हजार नगद प्रदान गरियो । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गोल्फ संघ सम्मानित भए । तीनैलाई समान १-१ लाख नगद दिइयो ।

प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मान गरियो । कतार एयरवेजले शहीद स्मारिक ए डिभिजन फुटबल लिग प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगर भित्रका ए डिभिजन फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले उनीहरुलाई खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment