Comments Add Comment

५० अर्बको शोधभर्ना खातामा जुट्यो १५ अर्ब ५० करोड

८ पुस, काठमाडौं । व्यावसायिक निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा जम्मा गर्न १५ अर्ब ५० करोड रुपैयाँ जुटेको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २ अर्ब रुपैयाँ यस खातामा जम्मा गर्ने गरी रकम सुनिश्चित भएको हो ।

यसैगरी नेपाल पुनर्बिमा कम्पनी लिमिटेडबाट १ अर्ब, कर्मचारी सञ्चय कोषबाट १ अर्ब, नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बिमा संस्थानबाट ५० करोड रुपैयाँ खातामा जम्मा हुने गरी निश्चित गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा ३० अर्ब रुपैयाँको प्रतिबद्धता प्राप्त भइसकेको छ । उनले निश्चत भएको रकम आवश्यकता अनुसार खातामा जम्मा हुने र कर्जा प्रवाह थालिने जानकारी गराएका छन् ।

अर्थ मन्त्रालयले जारी गरेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ अनुसार कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरता दिन सरकारले प्रवाह गर्ने कर्जाका लागि ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नु पर्छ । यसै रकमबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सहुलियतपूर्ण कर्जालाई राष्ट्र बैंकले सोधभर्ना गर्नेछ ।

यसै साताबाट कर्जा प्रवाह

अर्थ मन्त्रालयमा बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिकको बैठकले बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदन मध्येबाट यसै साताबाट कर्जा प्रवाह थाल्ने निर्णय गरेको छ । आजको बैटकले व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा जम्मा भएको रकम र यसको अवस्थाबारे पाक्षिक रुपमा नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराउने निर्णय समेत भएको छ ।
व्यवसाय सञ्चाालन निरन्तरता कर्जा प्रवाहको विवरण नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकमार्फत साप्ताहिक रुपमा अर्थ मन्त्रालयलाई उपलब्ध गराउने निर्णय समेत आजको बैठकले गरेको छ ।

यो पनि पढ्नुहोस कोभिडबाट अतिप्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment