Comments Add Comment

चिनियाँ चासो : नेकपा, सहमति कार्यान्वयन र राजनीतिक अस्थिरता

१२ पुस, काठमाडौं । नेपालमा अप्रत्यासित रुपमा भएको संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनप्रति उत्तरको छिमेकी मुलुक चीन चिन्तित देखिएको छ ।

चिन्ताकै बिच चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गहो येचौको आज नेपाल भ्रमणमा आउँदैछन् । नेपालको राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । समाचार स्रोतका अनुसार नेपालको राजनीतिक घटनाक्रमबारे वस्तुस्थिति बुझ्न सो टोली काठमाडौं आउन लागेको हो ।

समाचार स्रोतका अनुसार चीनको अहिलेको सबैभन्दा ठूलो चिन्ता नेकपा विभाजन हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको बिचमा एकता गराउन र त्यसपछि नेकपाको गठनपछि त्यसलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको चीन एकता भंगपछि चिन्तित छ ।

पछिल्ला महिनाहरुमा नेकपाभित्र शक्ति संघर्ष बढ्दै गएपछि चीनले नेकपामा उच्च नेतालाई भन्दै आएको थियो– प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्नेमा हाम्रो कुनै सुझाव छैन तर नेकपा एकताबद्ध भने होस् ।

यो पनि पढ्नुहोस काठमाडौं आउँदैछन् चिनियाँ उच्च प्रतिनिधि

केही महिनायता नेकपा जोगाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पाँच वर्षसम्म टिकाउन चीनले नेकपाका नेताहरुलाई सुझाव र दबाव दिँदै आइरहेको थियो । पूर्वसभामुख कृष्ण बहादुर महरासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विभाजनबारे चासो राख्दै एकताको सम्भावनाबारे पनि जिज्ञासा राखेकी थिइन् ।

चिनियाँ सरकारले केही नबोले पनि चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले भने नेपाल अस्थिरता र अनिश्चयतर्फ जाने उल्लेख गरेको छ

पछिल्लो समयमा नेकपाका नेताहरुसँगको भेटमा राजदूत यान्छीले पुनः मिल्न सुझाव दिएकी छन् । आज आउने चिनियाँ विदेशमन्त्रीले पनि विभाजनको कारणबारे छलफल गर्न र पुनः मिल्नको लागि सुझाव दिने बताइएको छ ।

नेकपासँगै जोडिएको चीनको अर्काे चिन्ता हो, नेपालमा फेरि राजनीतिक अस्थिरता कायम हुने भयो । राजनीतिक अस्थिरता कायम हुँदा नेपालमा आफ्ना सुरक्षा चासोहरु प्रभावित हुने चीनको बुझाइ छ ।

राजतन्त्रको अन्तदेखि नै आफ्ना संवेदनशीलता बुझ्ने र सम्बोधन गर्ने एक भरपर्दाे शक्तिको खोजीमा चीन थियो । जब माओवादी संविधान सभाको पहिलो निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा उदायो, चीनले माओवादीले विश्वासिलो शक्तिको रुपमा हेर्न थालेको थियो तर पछि माओवादी विभाजित भयो ।

त्यसपछि उसले लगातार नेपालका कम्युनिष्ट पार्टीहरुलाई मिल्न सुझाव दियो तर त्यसो हुन सकेन । अन्ततः २०१८ मा दुई कम्युनिष्ट पार्टी तत्कालीन एमाले र तत्कालीन माओवादीको मिलन भयो र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण भयो ।

त्यतिबेला चीन नेपालमा आफूले चाहेको शक्ति सत्तामा आएको र नेपालका राजनीतिक स्थिरता कायम भएकोमा निकै उत्साहित थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीले नेकपासँगको सहकार्यलाई निकै प्राथमिकता दिन थाल्यो । भ्रमणदेखि विचारको आदानप्रदान समेत हुन थाल्यो । तर यही साता नेकपामा विभाजन मात्र भएन, नेपालमा पुनः राजनीतिक अस्थीरता शुरु हुने चिन्ता बढ्यो ।

यस सम्बन्धमा चिनियाँ सरकारले केही नबोले पनि चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले भने नेपाल अस्थिरता र अनिश्चयतर्फ जाने उल्लेख गरेको छ ।

चीनको तेस्रो चिन्ता हो, विगतमा दुई देशको बिचमा भएका सहमति र सम्झौता कार्यान्वयन हुन्छ कि हुँदैन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयमा दुई देशको बिचमा थुप्रै सहमति र सम्झौता भएका छन् तर कोभिडको संकटका कारण ती  कार्यान्वयन हुन सकेका छैनन् ।

नेकपा नेता वर्षमान पुनसँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ लगानीको विषयमा चिन्ता व्यक्त गरेकी थिइन् ।

त्यसैगरी दुई तिहाइको सरकार बन्दा पनि अगाडि बढ्न नसकेको बेल्ट एण्ड रोड परियोजनाको भविश्य अझ संकटमा पर्ने चिनियाँ चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment