Comments Add Comment

नौ महिनापछि खुल्यो तम्घासको हाटबजार

१२ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गत वर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार नौ महिनापछि खुलेको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषिजन्य वस्तुहरुमा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न हाटबजार सञ्चालन गरेको थियो । तर, सञ्चालन भएको केही महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो ।

जिल्ला सदरमुकाम तम्घासमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले आफ्ना उत्पादन सहज रुपमा बिक्री गर्न पाएका छन् । फेरि रेसुङ्गा नगरपालिकाले नै हाटबजार सञ्चालनमा ल्याएको छ ।

सदरमुकाम तम्घासको चारीखोला भन्ने स्थानमा ५ टन क्षमताको शितभण्डारणसहित हाटबजार सञ्चालन आएको रेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीले बताए । हाटबजारका कृषि उपजहरु अन्यबजारको भन्दा धेरै सस्तो रहेको नगरपालिकाको दाबी छ ।

कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्लाका अन्य स्थानीय तहबाट समेत कृषि उपज खरिद गरी हाटबजार मार्फत बिक्री वितरण गरेको छ । कृषककै घरमा हप्तामा ६ दिन गाडि आउने भएकाले डोकोमा सामान बोकेर बजार-बजार पुग्नुपर्ने किसानहरुको बाध्यता अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment