Comments Add Comment

अकस्मात् सडक चकित पर्‍यो !

शुक्रबार । दिनको १२ बजे । अकस्मात हजारौँ बुटहरु बज्रिए म (सडक)माथि ।

अकस्मात, यति धेरै मान्छेहरु किन आए ! अकस्मात, ममाथि आएर गजधम्म किने बसे ! अकस्मात किन यति चर्को कोकोहोलो मच्चाए !

बिहानसम्म त फाटेका जुत्ता लगाएका किसानहरु थिए यहाँ । उनीहरु चाहिँ अकस्मात कहाँ बिलाए ?

अकस्मात म चकित परेँ !

मैले राम्रैसँग नियालें । लाग्यो, कतै चिने–चिने जस्तो । कतै परिचय भए–भए जस्तो । कही देखे–देखे जस्तो । कतै लामै संगत गरे–गरे जस्तो । साँच्चिकै म चकित परेँ ।

तर, मलाई कताकता लाग्यो – यिनीहरु मेरा मित्र होइनन् । कदापि होइनन् । र, मेरा सारथीहरु पनि होइनन् । बरु मेरो हुर्मत लिन तम्सिएका जत्थाहरु हुन् । स्वार्थी, आफ्नै हैसियत बिर्सिने बुज्रुक, सडकलाई अबमुल्यन गर्ने बेसरम जत्था । मेरा धुमिल सम्झनाहरु एकाएक ताजा भएर आए ।

ए, यिनीहरुसँग त १५ वर्षअघि मेरो भेट भएको थियो । ०६२/६३ सालतिर । कसैलाई त ०४६ सालमा पनि भेटेको थिएँ । उनीहरु आत्तिएर मेरो सहारा माग्न आएका थिए । तर, यत्तिका समय कहाँ हराएका थिए यीनीहरु ?

फेरि, म चकित परेँ ।

त्यतिबेला यिनीहरुको खुुट्टामा अल्झिएको फाटेको जुत्ता फेरिएर आज चम्किलो भएछ । थोत्रीएका सुट र स्वीटरको स्तर बढेछ । बाबा ! कति सुकिला र कलिला भएका छाला । मलाई छोडेपछि यिनीहरुको दिन फिरेछ ।

र, पनि मेरा उस्तै निरश दिनहरुसँग साथ माग्न फेरि यिनीहरु आइछाडे । यसअर्थमा अलिकति खुशी लाग्यो कि अकस्मात परिचितहसँग भेट भयो । तर, मलाई बिर्सेर सत्तामा दार्इँ खेलेको सम्झेर भाउन्न छुट्यो । खपिनसक्नुको रिस उठ्यो । कन्सिरीका नशा टिनिक्क भए ।

के यिनीहरु मेरो दुःख सम्झेर मेरो अंगालोमा आएका होलान् त ? मलाई विश्वास गर्न गाह्रो परिरहेको छ ।

****

२४ चैत ०६२ को त्यो दिन । हातमा मासाल र मनमा राँको बाकेर हजारौँ मानिसहरु ममाथि उभिएका थिए । उनीहरुको चोर औँला नारायणहिटीतर्फ ठडिएको थियो । नारायणहिटी क्रुर थियो । उसको ड्याम बुट र लाठी बेपर्वाह नागरिकमाथि बर्सिँदै थिए ।

गणतन्त्रको सपनासहितको नागरिकको त्यो आवेगलाई नारायणहिटीको लाठी र बुटले कुल्चन सकेन । बरु वैज्ञानिक आइज्याक न्युटनको नियमजस्तै मेरो साथ आउने नागरिकहरुको संख्या दिनहुँ गुणाले बढ्न थाल्यो ।

त्यतिबेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल मात्र होइन, हतियारले सत्ता कब्जा गर्न सकिन्छ भन्दै रगतमा होली खेलिरहेका पुष्पकमल दाहाल प्रचण्ड पनि बन्दुक बिसाएर मेरै साथ माग्न आएका थिए । यी सबलाई साथ दिने म एक्लो बृहस्पति थिएँ ।

तर, नारायणहिटीको श्रीपेचले लाठी मात्र होइन, बन्दूक तेस्र्याउन थाल्यो । पानीका फोहोरा र अश्रुग्यास हान्न थाल्यो । हजारौँ टाउका ममाथि बज्रिए । मैले ती विवश नागरिकको रगतले नुहाएँ । आलो रगत सेलाउन नपाउँदै त्यसमाथि अर्को नागरिकको रगत बग्थ्यो । कोही चप्पल र जुत्ता छाडेर भाँचिएको हात र खुट्टा खच्याउँदै भागे । कोही कालकोठरीको चिसो छिँडीमा पुगे । र, त्यहीँ रक्ताम्मे बने । र, पनि म सतिसाल भएर उनीहरुको साथबाट खुट्टा लडखडाउन दिइनँ ।

किनकी तत्कालिन राजा ज्ञानेन्द्र शाहले १९ माघमा सम्पूर्ण शासन सत्ता जनताबाट खोसेर आफ्नो हातमा लिएका थिए । आफ्नै अध्यक्षतामा नयाँ मन्त्रिमण्डल गठन गरे । देशभरका टेलिफोन तथा मावाइल सेवा बन्द गरिदिए । सञ्चार माध्यमका न्युज रुममा सम्पादकलाई घचेटेर शाही नेपाली सेना परेड खेल्न पुगे । देशको संसद र स्थानीय तह भनेकै ज्ञानेन्द्रको श्रीपेच थियो । एउटा श्रीपेचले साढे दुई करोड नागरिकमाथि लाडेको प्रतिगमन मलाई पनि सैह्य थिएन । एउटा बंशले दुनियाँको तकदिर तय गर्ने नियम मलाई चित्त बुझेको थिएन । त्यसैले त म नागरिकको साथमा थिएँ ।

नारायणहीटिको गोलीले मकवानपुरका बासुदेव काठमाडौंको सडकमा ढले । त्यसपछि उनी उठ्नै सकेनन् । बाँकेका सेतु विकको छाती अश्र ग्यासको खोकाले फटाल्यो । सप्तरीका सडकमा गएका दर्शनलाल यादव घर फिरेनन् । निहत्था नागरिकले यसरी ममाथि सहादात प्राप्त गरेको देखेर मेरो दिमाग खल्वलिएको थियो । र, मेरा आँखाबाट भरेका आँशु रगतमा लत्पटिएको थियो ।

तर, स्वतस्फूर्त हजार होइन, लाखौँको संख्यामा देशभर आफ्नो अधिकारको लागि नागरिक ममाथि झुम्मिएको देख्दा विभोर भएको थिएँ । त्यसैले प्रण गरेको थिएकी यिनीरुको अधिकार दिलाएरै छाड्छु । जनताले जनतामाथि शासन गर्ने प्राणाली ल्याउन जस्तोसुकै परिस्थितिमा पनि साथ दिनेछु । चाहे म छियाछिया हुन किन नपरोस् ।

१९ दिनसम्म ममाथि उर्लिएका जनसागर मध्ये २५ जनाको घर उजाडियो । आफ्ना सन्ततिका लागि उनीहरुले हाँसी हाँसी प्राण त्यागेको देख्दा मेरो छाती गर्वले चौडा भयो । मलाई त्यतिबेला लागेको थियो, अब यसरी मृत्युवरण गर्न कोही नागरिक मसँग आउने छैनन् । यिनीहरुले नै संयौँ वर्षसम्मका मानिसको अनुहारमा मुस्कान फक्राउने छन् । यिनीहरुको रगत नै मेरो छातीमा लागेको अन्तिम टाटा हुनेछ ।

नभन्दै सडकको रापले ओइलिँदै गएका ज्ञानेन्द्रले ८ बैशाख २०६३ मा जनताको नाशो जनतामै फिर्ता गरेको घोषणा गरे । र, पनि सडकमा दक्कीएको आगो मत्थर भएन । ११ वैखाशमा विघटित संसद पुर्नस्थापित भएको घोषणा गरे । अनि देशमा लोकतन्त्रको उदय भयो । २४० वर्षीय श्रीपेच सदाका लागि संग्रहालयमा थन्किन पुग्यो । बंशकै आधारमा कोही राजा र कोही रैती बन्ने युगको अन्त्य भयो । मैले ठूलो सास फेरें ।

अविर जात्रा गर्न सडकमा निस्कीएका नागरिक र आशा, भरोशाका केन्द्रविन्दु भएका त्यतिबेलाको राजननीतिक नेतृत्वले मलाई गदगद पारेको थियो । मैले पनि उनीहरुसँग उत्सव मनाएको थिएँ । सडकको शक्ति प्रदर्शन गर्न पाएकोमा आफैंलाई गर्व लागेको थियो । लाग्यो, अब मेरा पनि दुःखका दिन गए ।

त्यसपछि कहाँ हराए यिनीहरु ? म चकित परें ।

मेरै शक्तिले सिंहदरबार र संसद भवनको ढोका उघारे । गाउँ गाउँ पुगेर फूलमालाले ढाकिए । भाडाको घरबाट हरिहरभवनमा भित्रिए ।

त्यतिमात्र होइन, सिंहदरवार छिर्नका लागि विचित्रको नाटक मञ्चन गरिरहे । संसद भवनमा हानाहान गरे । गाउँ-गाउँमा काटाकाट गरे । तर, मलाइ पुलुक्क पनि हेरेनन् । मात्र एउटा गुण पनि सम्झिएनन् । फाटेको मेरो छालालाई उनीहरुकै गाडीले छियाछिया पार्यो । तर, राम्रोसँग मलम लगाउन पनि आएनन् ।

त्यतिबेला पनि म चकित परेको थिएँ । सत्ताको उन्मादले आफ्नै हैसियतलाई धुलिसात् पार्दो रहेछ । आफू हुर्किएको घरलाई नै धुजाधुजा पार्दा रैछन्, खरानी बनाउन तम्सिँदा रहेछन् । आफू सुतेर आएको रछ्यानलाई नै दुरदुर गर्दा रैछन् ।

****

मैले सुखको सास फर्न नपाउँदै मसँग मितेरी गाँस्न फेरि तमाम नागरिकहरु आउन थाले । जसको अधिकार सुनिश्चित गर्नका लागि मैले सिंहदरबार पुर्‍याएको थिएँ, तिनैविरुद्ध पो धावा बोल्न थाले उनीहरु त । समावेशीको नारा घन्काउँदै मसँग फेरि सिंहदरबार र संसदविरुद्ध खबरदारी गर्न आइपुगे ।

शहीद परिवार पनि अधिकार माग्नका लागि मसँग आए । वेपत्ता भएका परिवार आएर मसँगै खोजी गर्न थाले । तर, जनयुद्ध र जनआन्दोलनमा घाइते भएका परिवारको दुर्दशा झन् बढ्दै गयो । शहिद परिवारका आफन्तहरु आँशु पुछ्दै खाडी छिर्न थाले । उत्पीडनमा परेकाहरु संविधानसभाले आफ्नो अधिकार कुण्ठित गर्‍यो भन्दै मैसँग आए ।

भूमिहीनहरु भूमिको माग गर्दै मेरो काँध चढ्न आए । कति भोकभोकै मैमाथि ढले । बेरोजगार युवाहरु रोजगारको अवसर सृजना गर्न बिलौना गरे । थारुहरुले आफूविरुद्धको दमन विरुद्ध हतियार नै उठाए आए । अहँ, सिंहदरबारले सुनेन ।

जनताको करमा सिंहदरबार र त्यही वरिपरिका मानिसहरु दाइँ गरेको भन्दै कुर्लिन आइपुगे । भ्रष्ट्राचारीलाई कानुनको कठघरामा उभ्याउन सयौंको संख्यामा मासिहरु मसँग आए । कहिले जातको आधारमा मानिस हत्या भएको सुनाउन आए । कहिले अन्तर्जातीय विहे गरेकै नाउँमा हत्या भएकाहरु न्याय माग्न आए । सयौँ निर्मला पन्तका आमाहरु मसँगै आएर दोषीलाई कारवाही गर्न माग गर्दै बलिन्द्रधारा आँशु बगाए । उनीहरुको पीडामा मल्हम लगाउन न प्रचण्ड, माधव, केपी, देउवाहरु आए, न उनीहरुका कार्यकर्ता ।

बरु माइतीघरजस्तो ठाउँमा प्रदर्शन र आन्दोलन गर्न नपाइने भन्दै मैमाथि खनिए । म आफैं चकित परेँ कि यस्तो हुन सक्छ ? क्रान्ति गरेर आएकाहरुले कसरी यति चाडै चेतना गुमाउन सक्छन् ?

चिकित्सा शिक्षामा भ्रष्टाचार र बेथिति मौलायो भन्दै स्वास्थ्यकर्मीहरु आए । डा. गोविन्द केसीले निरन्तर एक दशक आन्दोलन गरे । मेरै काखमा आएर अनसन बसे । तर, उल्टै डा. केसीलाई नै मूर्ख र सन्की कहलाउन उद्दात्त रहे । १९ औँ पटकसम्म अनसन बस्दा पनि सरकारले करिब–करिब बेवास्ता गर्‍यो ।

के कुनै समय आफ्नै अधिकारको मेरो साथ माग्न आएकाहरुले संघीय गणतान्त्रिक मुलुकका शासकले नागरिकको कुरा सुन्न सक्दैन ? नढाँटीभन्दा मैल अशुभ सोचेँ – के यिनीहरु श्रीपेचको अधिकार राजाबाट आफ्नो हातमा लिएको दूश्वप्न त देखिरहेका छैनन् ?

नत्र कोभिडको महामारीलाई छेउ लगाएर किन सत्ताको लुछाचुँडीमा शक्ति खर्च गरे ? किन जनताको घर–घरमा औषधी पुर्‍याउने बेला प्रधानमन्त्री र अध्यक्ष को बन्ने भनेर दौडधुप गरे ? के यही पाउनका लागि थियो जनताको बलिदानी ? हजारौँ शहीदको रगतमाथि टेकेर सत्तामा पुगेका उनीहरुलाई जनतामाथि यति धेरै बेइमानी गर्ने बल केले दियो ? यति सानो मुलुकमा यति कुरुप रहस्यमय जालसाझीको योजना आखिर कसका लागि ?

हो म चकित छु, आज अकस्मात प्रचण्ड, माधव, झलनाथ खनाल, नारायणकाजीहरुलाई देख्दा साँच्चीकै म चकित परेको छु । मसँग यति लामो दुरी बनाएर फेरि मैसँग टाँसिन कुन नैतिकता, हैसियतले आउने आँट गरे ? के म यिनीहरुको गोटी मात्र हुँ ? सीमित व्यक्तिको नीहित स्वार्थका बेला मात्र प्रयोगमा आउने ? मेरो पवित्र इतिहासलाई दुर्गन्धित बनाएकोमा म दुःखी छु । असाध्यै दुःखी ।

तर, जो जहाँ पुगे पनि परिवर्तनको अन्तिम गन्तव्य म नै रहेछु भनेर मैले फेरि अनुभूति गरेको छु ।

उता, केपी ओलीले आफूलाई अनन्त बादशाह सोच्दै अझै मेरो शक्तिलाई अवमूल्यन गर्दैछन् । फेरि म उदाउने हो भने उनी मसँग आउन नसक्दै बिलाउने छन् । उनले नभुलुन् कि – श्रीपेचलाई संग्राहालयमा पुर्‍याउने मात्र होइन, १०४ वर्षीय जहाँनिया राणा शासनलाई धुलो चटाउने पनि मै हुँ । सडक नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment