Comments Add Comment

किन रोकियो प्रचण्ड–माधव समूहको आन्दोलन घोषणा ?

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको थियो ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए भने अपराह्न ३ बजे पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर न बैठक बस्यो, न पत्रकार सम्मेलन भयो ।

संसद विघटनको विरोधमा रहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य एवं संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई भन्छन्, ‘भोलि र पर्सि अरु दलहरुसँग पनि छलफल गर्छौं, त्यसपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसमा आन्दोलनबारे अलमल देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले अझै पनि पर्ख र हेरको अवस्थामा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनमा जोड दिएको छ । आन्दोलन गर्नुपर्छ भन्नेहरुमा पनि कांग्रेस एकल रुपमा जाने कि प्रचण्ड–माधव समूह लगायतसँग मिलेर जाने भन्नेमा बहस छ ।

जनता समाजवादी पार्टी (जसपा)ले पनि एकल रुपमा आन्दोलनको घोषणा गरेको छ । जसपा नेताहरुका अनुसार नेकपा दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा पार्टी नफुटेकाले आन्दोलनमा सहकार्य गर्न गाह्रो भएको बताउँछन् । एक नेता भन्छन्, ‘नेकपासँग मिलेर नेकपाविरुद्ध कसरी आन्दोलन गर्ने ?’

यद्यपि प्रचण्ड माधव समूहका नेताहरुले अझैसम्म सहकार्य हुनसक्छ कि भन्ने आश गरेको देखिन्छ ।

नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको केन्द्रीय संघर्ष समितिले मंगलबार देशभर भएको प्रदर्शनको समीक्षा गरेको छ । प्रदर्शन उत्साहजनक भएको नेताहरुको निष्कर्ष छ । तर प्रदर्शनका क्रममा एकाध ठाउँमा संघर्ष समितिले तोकेको भन्दा फरक नारा लगाउनु कमजोरी भएको नेताहरुले स्वीकार गरेका छन् ।

समितिले मंगलबार नै दोस्रो चरणको कार्यक्रमबारे जनवर्गीय संगठनहरुसँग राय लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment