+
+
Shares

हनुमान अंशका केही अंशहरू

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:०२

करिब पाँच दशकअघि संसार छ‍ाडिसकेका एक सन्त, उत्तराखण्डको डाँडाकाँडामा बनेको एक आश्रम र तिनै सन्तको जीवनबाट प्रेरित एक सिनेमा ।

सिनेमा हो – हनुमान अंश । जसले पछिल्लो समय भारतीय बक्स अफिसमा तहल्का नै पिट्यो । तर, सिनेमाको सुरुवातमा ठूला हिन्दी सिनेमाहरूको जस्तो व्यापक प्रचारप्रसार थिएन । तर पनि यो सिनेमा केही महिनायता चर्चामा रहिरहेको छ ।

यसको अर्को कारण लागत २ करोड रुपैयाँभन्दा कम हुनु पनि हो ।

सिनेमामा के देखाइएको छ ?

हनुमान अंश करौरी बाबाको जीवन र उनीसँग जोडिएका किस्साहरूमा आधारित छ । यसको कथा भोसले नामका एक व्यक्तिबाट सुरु हुन्छ । तिनले आफ्ना नातिलाई बाबासँग भएको भेटका बारेमा बताउँछन् । त्यसपछि कथा बाबाको बाल्यकालमा पुग्छ ।

सिनेमामा लक्ष्मी नारायण आफ्नी आमाको मृत्युपछि घर छाडेर हिँड्छन् । यदि आफू भगवानसम्म पुग्न सके सायद आफ्नी आमालाई पुनः भेट्न सकिन्छ होला भन्ने उनलाई लाग्छ । पछि गएर उनको यो खोज मान्छेहरूको सेवा गर्ने र भोकाहरूलाई भोजन दिनेसँग जोडिन्छ ।

सिनेमामा तिनै नीब करौरी बाबाको भूमिका शोभिनव सत्याले निभाएका छन् । फिल्मसँगै उनको अभिनयलाई लिएर पनि व्यापक प्रशंसा भइरहेको छ ।
तर, सुरुमा त्यस भूमिकामा शोनिनव अलमलमा परेका थिए । दर्शकहरूले त्यस भूमिमामा आफूलाई स्विकार गर्छन् कि गर्दैनन् भन्ने उनलाई लागेको थियो । तर, सिनेमा रिलिजपछि उनको अभिनयलाई लिएर दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिए ।

द इन्डियन एक्सप्रेसकी सिनेमा समीक्षक शुभ्रा गुप्ताका अनुसार शोभिनवले आफ्नो अनुहारको भाव, गाम्भीर्य र मौनतामार्फत चरित्रलाई न्याय गरेका छन् ।

कसरी टिक्यो सिनेमा ?

सिनेमाकी एक निर्माता रागिनी सोना पहिलेदेखि नै यो क्षेत्रमा सक्रिय थिइन् । २००४ का सिनेमाहरू कौन है जो सपनों में आया र शुक्रिया र २००५ को चकलेट उनले निर्माता गरेका केही फिल्महरू हुन् ।

यो सिनेमा सुरुवाती दिनमा हलमा खासै चल्न सकेको थिएन । तर, हनुमान अंशलाई सिनेमाघरहरूमा टिकाइराख्न रागिनीको महत्त्वपूर्ण भूमिका रह्यो । स्क्रीनलाई दिएको अन्तर्वार्तामा उनले दोस्रो हप्ता सिनेमा देखाउने सिनेमाघरहरूको सङ्ख्या निकै घटेको बताएकी थिइन् । तर, त्यससमय उनले र विशाल चतुर्वेदीले सिनेमालाई निरन्तर चलाउने निर्णय गरे ।

पछि त वर्ड अफ माउथ राम्रो हुँदा सिनेमा फेरि माथि उकासियो ।

यस सिनेमाकी अर्की निर्माता हुन्, नम्रता सिंह । उनले लामो समय डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा काम गरेकी छिन् । नम्रताले बलिवुड हङ्गामालाई बताए अनुसार यो कथाबाट तीन वटा सिनेमा बनाउने योजना थियो ।

त्यो अनुसार पहिलो भाग हनुमान अंश हो । यो सिनेमाको छायाङ्कन २२ दिनमा पूरा भएको थियो । जसमा दुई दिन मुम्बईमा र बाँकी छायाङ्कन चित्रकूटमा भएको थियो ।

जहाँ नीब करौरी बाबाको जन्म भयो

सेप्टेम्बर २०२६ मा उत्तर प्रदेश सरकारले नीब करौरी बाबासँग सम्बन्धित स्थानहरूलाई एउटा धार्मिक पर्यटन मार्गमा जोड्ने योजना अघि बढाएको थियो । इन्डियन एक्सप्रेसका अनुसार प्रस्तावित सर्किटमा फिरोजाबादको अकबरपुर, फर्रुखाबादको नीब करौरी धाम, लखनउको हनुमान सेतु मन्दिर र वृन्दावनमा बाबासँग सम्बन्धित स्थानहरू समेटिएका छन् ।

तर, यो विकास यस्तो समयमा भइरहेको छ- जब हनुमान अंशको सफलताले उनीसँग जोडिएका ठाउँहरू र इतिहासप्रति मानिसहरूमा नयाँ चासो जगाएको छ ।

यसै अकबरपुरमा बाबाको पैतृक घरलाई लिएर एउटा विवाद पनि सतहमा आएको छ । उनका ६ जना नातिनीहरूले जिल्ला प्रशासनसमक्ष उजुरी गर्दै एउटा ट्रस्टमाथि सम्पत्तिको नियन्त्रणलाई लिएर आरोप लगाएका छन् ।

ट्रस्टले ती आरोपहरूलाई अस्वीकार गरेको छ र फिरोजाबाद प्रशासनले दाबीहरूको छानबिनका लागि समिति गठन गरेको छ । हाल छानबिन जारी छ ।

अर्कोतिर, यो फिल्मका निर्माताहरूले भने दोस्रो भाग बनाउन काम सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?