News Summary
Generated by OK AI. Editorially reviewed.- रविशङ्कर शर्मा उर्फ रविले हिन्दी सिनेमा संगीतमा ८० भन्दा बढी फिल्ममा काम गर्दै सरल धुन र निर्देशकको चाहनाअनुसार संगीत बनाएर ख्याति कमाएका थिए।
- रविले आशा भोसले र लता मङ्गेशकरका लागि थुप्रै चर्चित गीत बनाएका थिए, र दक्षिण भारतीय सिने उद्योगमा बाँम्बे रविका नामले पनि चिनिन्थे।
रविशङ्कर शर्मा उर्फ रवि, हिन्दी सिनेमाका संगीतमा सरल लाग्ने धुनहरू भरेर सफल बनेका संगीतकार हुन्।
यो क्षेत्रमा लाग्नुअगावै हिन्दी भाषामाथि उनको राम्रो पकड थियो । यो खासियात नै सिने जगतमा प्रवेशको कारण पनि थियो । उनी आफ्नो सुरुवाती दिनमा हेमन्त कुमारजस्ता दिग्गज संगीतकारको सहायकका रूपमा यस क्षेत्रमा छिरेका थिए । हेमन्त कुमार उनलाई मायाले पण्डितजी भनेर बोलाउँथे । यसको कारण पनि रविको हिन्दी भाषामा राम्रो पकड हुनु नै थियो ।
बाल्यावस्थादेखि नै संगीतप्रति चासो राख्ने रविले हेमन्त कुमारको सहायकका रूपमा काम गरेका प्रमुख सिनेमाहरू शर्त, नागिन, दुर्गेशनन्दिनी र एक ही रास्ता आदि हुन् ।
रवि त्यस समयका अन्य ठूला संगीतकार भन्दा काम गर्ने शैली र व्यक्तिमा केही फरक थिए । त्यही नै उनको सफलताको कारण भएको पनि धेरैले भन्ने गर्छन् ।
उदाहरणका लागि, उनी सबैसँग आत्मीय सम्बन्ध राख्ने संगीतकार थिए । उनका लागि हरेक गायकगायिकाको उत्तिकै सम्मानजनक स्थान हुन्थ्यो । त्यसैगरी, उनको मुख्य प्राथमिकता सधैं ब्यानर र निर्देशकको चाहनामा हुन्थ्यो । भन्नुको अर्थ निर्देशकले आफ्नो सिनेमाका लागि जस्तो धुन खोज्थे, रवि त्यसलाई पूरा गर्न सक्दो प्रयास गर्थे ।
लामो समयमा रविले हेमन्त कुमारको सहयोगीदेखि उनलाई स्वतन्त्र संगीतकारका रूपमा अवसर दिने निर्देशक देवेन्द्र गोयलसम्म काम गरेका छन् । स्वतन्त्र कलाकार भनेको कुनै पनि संस्थामा प्रत्यक्ष नजोडिइ स्वैच्छिक रूपमा काम गर्ने कलाकार हुन् । गोयलकै सिनेमा वचन (१९५५) बाट उनले स्वतन्त्र संगीतकारका रूपमा आफ्नो करियरको थालनी गरेका थिए ।
त्यसपछि यस यात्रामा एसडी नारङ, रामानन्द सागर, एए नाडियाडवाला, एसएस वासन, एभी मय्यपन, बीआर चोपरा, वासु मेनन, शिवाजी गणेशन तथा गुरुदत्तजस्ता हस्तीहरू थपिँदै गएका थिए ।
स्वतन्त्र संगीतकारका रूपमा रविले ८० बढी सिनेमामा संगीत भरे । घूँघट (१९६०), घराना (१९६१), गृहस्थी (१९६३), भरोसा (१९६३), खानदान (१९६५), आरत (१९६७), मेहरबान (१९६७), नयी रोशनी (१९६७) केही उदाहरण हुन् ।
रविको सन्दर्भमा उल्लेख गर्नै पर्ने अर्को तथ्य के हो भने उनले लता मङ्गेशकरको तुलनामा आशा भोसलेका लागि अझ सुन्दर धुनहरू बनाएका थिए । सिधाभन्दा आशालाई बढी उनले माया गर्थे । आशाका गीतहरूका लागि अलि बढी काम गर्थे ।
तर, आशा भोसलेका गीतहरूको सांगीतिक विरासतबारे कुरा गर्दा सधैं ओपी नैयर र आरडी बर्मनको नाम अगाडि आउँछ । यता रविको ठूलो योगदानको चर्चा भने त्यति प्राथमिकताका साथ गरिएको पाइँदैन ।
लेखक यतीन्द्र मिश्रका अनुसार रविले आशा भोसलेको सांगीतिक विविधता र उचाइको मूल्यांकन गरेर ती धुनहरू बनाएका थिए । ती मध्ये अधिकांश गीतहरू हिट भएका थिए । ती गीतहरू अहिले पनि धेरै गाइन्छ । त्यससँगै रविको संगीतकार व्यक्तित्वको एउटा छुट्टै कोमल र भावुक पक्ष बुझ्न ती गीतहरू सहयोगी हुने मिश्रको भनाइ छ ।
श्रोताका ओठओठमा झुन्डिएका ती चर्चित गीतहरूमा चन्दा मामा दूर के (वचन), तुम संग लागी बालम मोरी अखियाँ (अलबेली), बहार ले के आई करार ले के आई (जवानी की हवा), इस तरह तोड़ा मेरा दिल, पवन मोरे अँगना में धीरे-धीरे आना (शहनाई), सितारों आज तो हम भी तुम्हारे साथ (राखी) केही उदाहरण हुन् ।
त्यसैगरी तोरा मन दरपन कहलाए, मेरे भैया मेरे चन्दा मेरे अनमोल रतन (काजल), दिल की कहानी रंग लाई है (चौधवीं का चाँद), कौन आया कि निगाहों में चमक जाग उठी, चेहरे पे खुसी छा जाती है, आगे भी जाने न तू (वक्त), शीशे से पी या पैमाने से पी (फूल और पत्थर) आदि पनि हुन् । यो सूची अलि लामै पनि हुन जान्छ ।
आशा भोसलेसँगै रविको संगीतमा लता मङ्गेशकरले पनि टन्नै गीत गाएकी थिइन् । त्यो सूची पनि निकै लोभलाग्दो छ । ऐ मेरे दिले नादाँ तू गम से न घबराना (टावर हाउस), वो दिल कहाँ से लाऊँ तेरी याद जो भुला दे (भरोसा), लागे न मोरा जिया, मोरी छम-छम बाजे रे पायलिया (घूँघट) आदि हुन् ।
तर, यी दुई दिदी बहिनीमा संगीतकारका रूपमा रविले आशालाई छानेको उनलाई बुझ्नेहरू बताउँछन् ।
रविको समग्र सिर्जना हेर्दा उनले आधुनिकतालाई अँगाल्दै पूर्ववर्ती परम्पराको मर्मलाई पनि सन्तुलित रूपमा कायम राखेको धेरैले भन्ने गर्छन् । उनले परम्परागत शैली र समकालीन नवीनता दुवैलाई उत्तिकै आफ्नो सिर्जनामा महत्त्व दिन्थे । सायद त्यसैले उनका सिनेमा अधिकांश गीतहरूले आफ्नो युगको प्रतिनिधित्व गर्दै ताजगीको अनुभूति दिन्छन् ।
हिन्दी सिने संगीतमा सफलताको शिखर चुमेपछि दक्षिण भारतीय सिने उद्योगमा पनि उनी उत्तिकै जमेका थिए । त्यहाँ उनले बाँम्बे रवि भनेर ख्याति कमाएका थिए ।
प्रतिक्रिया 4