+
+
Shares

संसद् र संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिसँग कांग्रेस असहमत

नेपाली कांग्रेसले संसद् तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १७:१४

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसद् तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति जनाएको छ । उसले जनप्रतिनिधिहरूलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम राख्न आग्रह पनि गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न कांग्रेसले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संसदीय मर्यादा, सुशासन र शासकीय जवाफदेहितामा जोड दिएको छ ।

‘संसद् तथा संसदीय समितिहरू लोकतान्त्रिक उत्तरदायित्वका महत्वपूर्ण संस्था भएकोले जनप्रतिनिधिको भाषा, व्यवहार र प्रस्तुति तथ्य, शीष्ट र संसदीय मर्यादामा आधारित हुनुपर्दछ,’ कांग्रेसले भनेको छ ।

कार्यपालिकाको शासकीय अराजकता, व्यवस्थापिकाप्रति अनुत्तरदायी व्यवहार, संवैधानिक निकाय वा न्यायपालिका क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, शक्ति पृथकीकरणको सीमालाई उल्लङ्घन गर्ने तथा राज्यका निकायलाई नियन्त्रणमा राख्ने सर्वसत्तावादी प्रवृत्ति लोकतान्त्रिक शासनका लागि स्वीकार्य हुन नसक्ने कांग्रेसको भनाइ छ ।

प्रतिनिधिसभामा सदस्यहरूले नेपालको सार्वभौमसत्ता र विदेश नीतिका विषयमा बारम्बार प्रधानमन्त्रीसँग जवाफ माग गरे पनि अनुत्तरदायी ढङ्गमा सदन सञ्चालन हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारलाई संविधान र कानूनको सीमाभित्र रही शासन सञ्चालन गर्न, संवैधानिक निकायको स्वतन्त्रता क़ायम गर्न तथा नागरिक एवं जनप्रतिनिधिप्रति पूर्ण जवाफदेही, पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ कांग्रेसले भनेको छ ।

सरकारका राम्रा काममा आवश्यक सहकार्य गर्ने र गलत काममा प्रश्न तथा सचेत गराउने प्रमुख प्रतिपक्षको भूमिकालाई जिम्मेवार लोकतान्त्रिक दायित्वका रूपमा निरन्तर निर्वाह गर्ने विषय कांग्रेसले दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?