+
+
Shares

ओलीको कदम निरंकुशतावादी र फासीवादी : मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते १२:२८

१६ पुस, काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फासीवादी कदम भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम भएको सो पार्टीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछिको परिस्थितिबारे छलफल गर्न नेकपा (क्रान्तिकारी माओवादी)को स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकका निर्णयबारे जानकारी दिन महासचिव वैद्यले आज जारी गरेको विज्ञप्तिमा वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको संकटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै नसक्ने उल्लेख छ । ‘यस संकटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, संघीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ,’ विज्ञप्तिमा लेखिएको छ ।

देशमा आन्तरिक तथा बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको निष्कर्ष निकालेको नेकपा (क्रान्तिकारी माओवादी)ले देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको जनाएको छ ।

यस स्थितिमा वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढंगले संघर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित महासचिव किरणले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?