Comments Add Comment

किशोर उमेरका छोराछोरीका लागि कस्तो वातावरण जरुरी छ ?

१२ बर्षदेखि १९ बर्षसम्मको उमेर चरण, जसलाई हामी किशोर अवस्था भन्छौं । यतिबेला शारीरिक र मानसिक रुपले उनीहरुमा तिब्र परिवर्तन हुन्छ । यसलाई ‘गोल्डेन एज’ पनि भनिन्छ, जो जीवनकै सर्वाधिक स्मरणिय क्षण समेट्ने मौका हो । तर, ठीक यहि चरणमा पुगेपछि किशोर-किशोरीले विभिन्न किसिमको परिवर्तनलाई आत्मसात गर्नुपर्ने हुन्छ ।

एकातिर पढाई, करियर, साथीभाई सबैतिर समय व्यवस्थापन गर्नुपर्ने । अर्कोतिर वहकिने मनलाई नियन्त्रण गर्नुपर्ने । साथसाथै, शारीरिक परिवर्तनलाई बुझ्दै र सिक्दै जानुपर्ने । एकसाथ उनीहरु धेरै किसिमको परिस्थिती झेलिरहेका हुन्छन् ।

हर्मोनल परिवर्तनले उनीहरुको मन–मस्तिष्कमा हलचल मच्याइरहेको हुन्छ । मुड स्विङको कारण स–सानो कुरा कुरामा उनीहरुले अप्रत्यासित व्यवहार देखाउँछन् । यसका साथै विपरित लिंगप्रति स्वभाविक आकर्षण पनि बढ्छ ।

किशोरीको हकमा उनीहरुको मासिक स्राव सुरु हुन्छ । मासिक श्रावको बेला पेट दुख्ने, दिक्क लाग्ने, झर्को लाग्ने जस्ता समस्या देखिन्छ । स्तनको आकार बढ्ने, स्वरमा परिवर्तन आउने, गोप्य अंगमा रौं आउने जस्ता परिवर्तन यहिबेला सुरु हुन्छ ।

अभिभावकले आफ्ना छोराछोरीलाई किशोरवयमै पुगेपछि बढी नियन्त्रणमा राख्न खोज्छन् । छोराछोरीले गलत बाटो समात्लान भन्ने कुराले पनि अभिभावकहरु सर्तक रहन्छन् । त्यसैले टिनएजर्सको धेरैजसो कुरामा अभिभावकले रोकटोक गरिरहेका हुन्छन् । जबकी यसरी उनीहरुमाथि हस्तक्षेप गर्दा त्यसले उनीहरुलाई दवाव पैदा गर्छ ।

वास्तवमा अभिभावकले छोराछोरीको मनोदशा, शारीरिक अवस्था सबैलाई बुझ्नुपर्ने हुन्छ । त्यसपछि उनीहरुलाई सही ढंगले मार्गदर्शन गर्नुपर्छ ।

भन्नलाई त सजिलो छ, टिनएजर्सलाई सही मार्गदर्शन दिने कुरा । तर, टिनएजर्सलाई उचित अभिभावकत्व दिन चुनौतीपूर्ण कुरा हो ।

टीनएजर्ससँग मित्रवत सम्बन्ध बनाउन तब संभव हुन्छ, जब उनीहरु सानै हुन्छन् । अर्थात टिनएज प्रवेश गर्नुअघि नै उनीहरुसँग अभिभावक हेलमेल हुन थाल्नुपर्छ । बच्चासँग हाँस्ने, खेल्ने, कुराकानी गर्ने बानी गर्नुपर्छ । यसले गर्दा उनीहरु अभिभावकसँग हेलमेल हुन्छन् र मनको कुरा खुलेर बताउन सक्छन् ।

टिनएजमा प्रवेश गरिसकेपछि बच्चाले आफुले सामाना गरिरहेको परिस्थितीबारे अभिभावकलाई बताउन अप्ठ्यारो मान्छन् । उनीहले शारीरिक परिवर्तनबारे खुलेर कुरा गर्न सक्दैनन् । विपरित लिंगप्रतिको आकर्षणबारे चर्चा गर्न सक्दैनन् । सबै कुरा मनमै लुकाउने प्रयास गर्छन्, जसले उनीहरुमा अतिरिक्त मानसिक भार परिरहेको हुन्छ ।

यस्तो अवस्थामा अभिभावकले बच्चालाई सहज वातावरण बनाइदिनुपर्छ, ताकि उनीहरु खुलेर सबै कुरा गर्न सकोस् । किशोरवयमा प्रवेश गरिरहेकै बेला उनीहरुलाई संभावित परिवर्तनबारे जानकारी गराउनुपर्छ ।

धेरै तारिफ गर्दा बच्चा बिग्रन्छन् । प्यारेन्टिङको पुरानो धारणा अब गलत साबित भइसकेको छ । बच्चासँग राम्रो सम्बन्ध विस्तार गर्नका लागि यो एकदमै जरुरी छ कि, उनीहरुको सानो सानो कुरामा पनि खुसी व्यक्त गरौं ।

जब उनीहरुले कुनै राम्रो काम गर्छ तब तारिफ गर्न कन्जुस नगरौं । अहिले किशोरवयमा प्रवेश गरिसकेका बच्चा धेरै समझदार भइसकेका हुन्छन् । उनीहरुसँग पनि आफ्नो भावना साझेदार गरौं ।

यदि कुनै किशोर÷किशोरीसँग आफ्ना छोराछोरी आकर्षित भइरहेका छन् भने यसलाई लिएर धेरै चिन्तित हुन आवश्यक छैन । यस्तो सम्बन्धमा रोकटोक पनि नगरौं । सबै साथीहरुको बारेमा पूर्ण जानकारी हुन आवश्यक छ ।

बर्थ डे जस्ता अवसरमा उनीहरुका साथीलाई पनि आफ्नो घरमा आमन्त्रण गरौं । छोराछोरीको साथीमार्फत पनि अभिभावकलाई छोराछोरीसँग निकट हुने अवसर मिल्छ । बच्चाको सुरक्षाको दृष्टिले पनि उनीहरुसँग नजिक हुन आवश्यक छ ।

केहि महत्वपूर्ण कुरा

– आफ्ना टिनएजर्स छोराछोरीलाई खेलकुद, म्युजिक, साहित्य जस्ता अतिरिक्त गतिबिधिमा व्यस्त राख्ने प्रयास गरौं । यसले उनीहरुमा शारीरिक, मानसिक क्षमता विकास हुन्छ । अनुशासन, संघर्ष, मिहेनत गर्न सिक्छन् । नराम्रो काममा उनीहरुको ध्यान जाँदैन ।

-यस उमेरमा पीयर प्रेसर बढी हुन्छ । अर्थात अभिभावकको दवाव बढी अनुभव गरिरहेका हुन्छन् । त्यसैले बच्चासँग मित्रवत् व्यवहार गरौं । उनीहरुको साथीसँग पनि घुलमिल हुनुपर्छ ।

-कहिले काहिँ उत्सुकताले पनि उनीहरु चुरोट, मदिरा, ड्रग्स लिन सक्छन् । त्यसैले उनीहरुको गतिविधिमा ख्याल राख्नुपर्छ । त्यस्ता कुलतले हुनसक्ने हानीको बारेमा प्रष्टसाथ बताउनुपर्छ ।

-आफ्नो शालिन व्यवहारले बच्चाको रोल मोडल बन्ने प्रयास गरौं ।

-कुनैबेला उनीहरुले गल्ती गर्न सक्छ । त्यस्तो बेला उनीहरुसँग रिसाउने, कराउने, पिट्ने नगरौं । धैर्यतापूर्वक सम्झाई बुझाई गरौं ।

-यदि छोराछोरीले कुनै गल्ती गरेमा उनीहरुलाई कुटेर अपमानित नगरौं ।

-छोराछोरीले विद्यालयमा राम्रो पठन पाठन गर्न सकेनन् भने त्यसको कारण खोजौं । यद्यपी पढाईमा अनावश्यक दवाव दिन हुँदैन ।

-प्रेमपूर्वक व्यवहारले छोराछोरीको मन जितौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment