Comments Add Comment

अन्तर्राष्ट्रिय मिडियाको भाष्य : नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैछ !

फाइल तस्वीर

१७ पुस, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणले अन्तराष्ट्रिय सञ्चार माध्यममा निकै प्राथमिकता पायो । विश्वका प्रमुख समाचार एजेन्सीदेखि ठूला अखबारले सो समाचारलाई राम्रै स्थान दिए । केही समय अगाडि भएको चिनियाँ रक्षामन्त्रीको भ्रमणको समयमा भन्दा यसपटक बढी कभरेज भयो ।

चिनियाँ विदेश मन्त्रालयमा हुने नियमित पत्रकार सम्मलेनमा पनि यी प्रश्नहरु उठे । यसको एउटै कारण हो– भ्रमणको समय र उद्देश्य ।

कुनै पनि मुलुकमा अनपेक्षित रुपमा राजनीतिक संकट उत्पन्न भयो भने पहिला नै तय भएका भ्रमणसमेत स्थगित गरिन्छन् । तर, चीनले भने राजनीतिक संकटकै बीचमा आफ्ना उच्च अधिकारीलाई नेपाल भ्रमणमा पठायो । अनि भ्रमणको उद्देश्य थियो– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई फुटबाट जोगाउनु । त्यसैले पनि यो घटनाले अन्तराष्ट्रिय सञ्चार माध्यमको ध्यान खिच्नु स्वाभाविकै थियो ।

भारतदेखि लिएर अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमको समाचार हेर्दा सबैले एकैखालको न्यारेटिभ(भाष्य) छ । त्यो हो– नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ ।

यस्तो भाष्य निर्माणमा सबैभन्दा अगाडि भारतीय मिडिया, त्यहाँका विश्लेषक, प्राज्ञ र नेपालमा राजदूतको भूमिका निर्वाह गरिरहेका व्यक्तिहरु छन् । नेपालको आन्तरिक मामिलामा लामो समय हस्तक्षेप गरेको भारत यतिबेला चीनले हस्तक्षेप गरिरहेको छ र हामीले गरेका छैनांै भन्ने भाष्य निर्माण गर्न चाहन्छ ।

विशेषतः भारतका अंग्रेजी पत्रिकाहरुले लगभग एकैखालको न्यारेटिभ दिने कोसिस गरिरहेका छन् । पछिल्लो समयमा नेपालका लागि भारतीय पूर्वराजदूतहरुले यही भाष्यमा लेखहरु लेखिरहेका छन् ।

चिनियाँ टोलीको नेपाल भ्रमणको सम्बन्धमा भारतीय पत्रिका दि हिन्दुले बुधबार एक सम्पादकीय प्रकाशित गरेको छ । सो सम्पादकीयको सुरुमा नै भनिएको छ, ‘नेपालका प्रधानमन्त्री केपीको संसद भंग गर्ने र निर्वाचनमा जाने विवादास्पद निर्णयको केही दिनमा नै चिनियाँ कम्युनिस्ट पार्टीको उच्च टिमलाई काठमाडौं पठाएर चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तयार रहेको चिन्ताजनक सन्देश दिएको छ ।’

सो पत्रिकाले चिनियाँ मिसनको घोषित उद्देश्य नेकपालाई विभाजनबाट रोक्नु र उच्च नेताहरुलाई मिलाउनु रहेको उल्लेख गरेको छ । सो पत्रिकाले भारतचाहिँ नेपालको मामिलामा बढी होसियार र ब्यवहारिक भएको उल्लेख गरेको छ । हिन्दु पत्रिकाले झैं अन्य भारतीय सञ्चारमाध्यमले पनि सोहीखालको न्यारेटिभ स्थापना गर्न खोजिरहेका छन् ।

बेलायतको समाचार संस्था रोयर्टर्सले चिनियाँ टोली नेपाल भ्रमण सम्पन्न गरेर फर्केपछि त्यससम्बन्धी लामो समाचार प्रकाशित गरेको छ जसलाई विश्वका प्रमुख सञ्चारमाध्यमले निकै प्रथामिकताका साथ प्रकाशित गरेका छन् ।

सो समाचारमा नेपाल कम्युनिस्ट पार्टी विभाजन भएमा आफ्ना रणनीतिक चासोहरु खतरामा पर्ने ठानेर त्यसलाई विभाजन हुनबाट रोक्न चीनले नेपामा एक टोली पठाएको उल्लेख गरिएको छ । सो समाचारमा काठमाडौंमा रहेका पश्चिमा र युरोपियन राजदूतहरुलाई समेत उद्धृत गरिएको छ ।
नाम बताउन नचाहाने एक युरोपियन कूटनीतिज्ञले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘यो प्रष्ट छ कि कोरोनाको महामारीका वीचमा अकस्मात् संसद भंग गर्ने ओलीको कदमबाट चीन रिसाएको छ । उनीहरु नेपालमा आफ्नो लगानीका बारेमा चिन्तित देखिन्छन् ।’

ती कूटनीतिज्ञले ओलीले चीनसँग कुनै पनि प्रकारको परामर्श नगरी सो कदम चालेकोमा अचम्मित भएको समेत बताएका छन् ।

त्यसैगरी एक पश्चिमा कूटनीतिज्ञले रोयटर्ससँग भनेका छन्, ‘कोरोना महामारीको समयमा कुनै पनि मुलुकले आफ्नो छिमेकमा प्रतिनिधिमण्डल पठाउन किन हतार गर्छ ? यसको प्रष्ट उद्देश्य हो– उनीहरुले नेपालको आन्तरिक मामिलामा नियन्त्रण गरेका छन् र आगामी दिनमा उनीहरु लगानी विस्तार गर्न चाहान्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment