+
+
Shares

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ, र उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।
  • क्यानबेरास्थित नेपाली दूतावासमा रिच फर नेपाल फाउन्डेसनका सीईओ लु नुलीले सहयोगको चेक कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरे।
  • नुलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था अध्ययन गर्न इन्जिनियर र विज्ञसहितको टोली नेपाल पठाउने तयारी भइरहेको बताए।

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लु नुलीले संकलित रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका सीईओ नुलीले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियामा रहेका सहयोगी, शुभेच्छुक तथा विभिन्न समुदायको साथबाट रकम संकलन गरिएको बताए।

अनलाइनखबरसँग कुरा गर्दै नुलीले रिच फर नेपाल फाउन्डेसनले सन् २०१५ मा स्थापना भएदेखि नै नेपालमा मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको बताए।

‘हामी नेपालका लागि सहयोग जुटाउन सधैँ पैसा खोज्दै हिँड्दैनौँ। नेपाललाई सहयोग गर्न चाहने मानिसहरू आफैँ हामीलाई खोज्दै आउँछन्,’ उनले भने।

नुलीका अनुसार संस्थाले नेपालको विशेषगरी पश्चिम नेपाल तथा गण्डकी प्रदेशका दुर्गम समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्यालय तथा सामुदायिक पूर्वाधार निर्माण र दिगो विकासका क्षेत्रमा काम गर्दै आएको छ।

सन् २०१५ को विनाशकारी भूकम्पपछि स्थापना भएको संस्थाले भूकम्पबाट क्षतिग्रस्त विद्यालयका कक्षाकोठा पुनर्निर्माण, खानेपानी तथा सरसफाइका सुविधा विस्तार, स्वास्थ्य र शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय समुदायको आवश्यकता र प्राथमिकताका आधारमा परियोजना छनोट गरी नेपालस्थित आफ्नै सहकार्य सञ्जालमार्फत काम गर्ने गरेको छ।

कार्यवाहक राजदूत तारा गौतमले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिच फर नेपाल फाउन्डेसनले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। उनले अस्ट्रेलियामा रहेर पनि नेपाल र नेपाली नागरिकलाई परेको विपद्का बेला मानवीय सहयोग जुटाउने संस्थाको प्रयासको प्रशंसा गर्दै सहयोगका लागि फाउन्डेसन, यसका नेतृत्वकर्ता, स्वयंसेवक तथा सहयोगदाताप्रति आभार व्यक्त गरिन्।

नुलीले आगामी दिनमा नेपालमा बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे अध्ययन गर्न इन्जिनियर तथा विभिन्न विषयका विज्ञ सम्मिलित टोली नेपाल पठाउने तयारी भइरहेको पनि जानकारी दिए। उक्त टोलीले स्थलगत अवस्था बुझेर आवश्यक प्राविधिक सहयोग तथा पुनर्निर्माणका सम्भावित योजनाबारे काम गर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) का तर्फबाट डा. कृष्ण हमाल तथा रिच फर नेपाल फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति थियो।

क्यानबेरा स्थित रिच फर नेपाल फाउन्डेसन सन् २०१५ मा स्थापना भएको अस्ट्रेलियाली परोपकारी संस्था हो। संस्थाले स्वयंसेवकको सहयोगमा सञ्चालन हुने आफ्ना कार्यक्रममार्फत अस्ट्रेलियाबाट संकलित सहयोग नेपालका दुर्गम तथा आवश्यकतामा रहेका समुदायसम्म पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?