Comments Add Comment

१५ दिनमा काठमाडौंमा ८ जना पैदलयात्रीको दुर्घटनामा मृत्यु, दोषी को ?

१८ पुस, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो ।

योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

गत बिहीबार ग्वार्काेको बीएण्डबी अस्पताल अगाडि आकाशेपुल मुनिबाट बाटो काटिरहेका अस्पतालका दुईजना कर्मचारीले टाटा सुमोको ठक्करबाट ज्यान गुमाए । बत्तीविहीन आकाशे पुलमा हिँड्न असुविधा भएपछि सो ठाउँमा अधिकांश त्यसमुनिबाट सडक पार गर्छन् ।

माइतीघर–बानेश्वर, रत्नपार्क–भद्रकाली–सिंहदरबार खण्डको भद्रकाली लगायतको आकाशेपुल छेउबाट धेरैले असुरक्षित रुपमा बाटो काट्ने गरेको देखिन्छ । काठमाडौं उपत्यकाका अधिकांश आकाशेपुल खाली हुन्छन् । रत्नपार्क लगायत क्षेत्रका आकाशेपुल व्यापारिक अड्डा बनेका छन् ।

जेब्रा क्रसिङमा कम जोखिम

ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्रा क्रसिङ र आकाशेपुल जथाभावी बाटो काट्नेहरूमाथि असुरक्षा बढेको छ । बिहीबारको दुर्घटनामा चाहिँ बत्ती नभएकाले पैदलयात्रुले आकाशेपुल प्रयोग नगरेको ट्राफिक प्रहरीको ठहर छ ।

त्यसो त काठमाडौंका सडकमा पैदलयात्रीको सुविधालाई ध्यानमा राखिएको छैन । त्यसमाथि पैदलयात्रीहरु आफैंले लापरबाही गर्छन् । यसबाट दुर्घटना बढेको सडक सुरक्षासम्बन्धी जानकारहरू बताउँछन् । काठमाडौंका चौडा सडकमा सवारीको गति तीव्र हुन्छ । त्यसैबीचमा पैदलयात्रुले लापरबाही गर्दै बाटो काट्दा धेरै दुर्घटना हुने गरेको उनीहरु बताउँछन् ।

पैदल यात्रुमैत्री पूर्वाधार नबनेको सडकमा यात्रुहरूले पनि लापरबाही गर्ने गरेको सडक सुरक्षासम्बन्धी जानकार पदमबहादुर शाही बताउँछन् । पैदलयात्री र सवारी चालकको लापरबाहीले सडक दुर्घटना बढेको उनले बताए ।

‘दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढीरहँदा सरकारी स्तरबाट कमीकमजोरीको कारण खोजी नहुनु अर्को दुःखद् पक्ष छ’, शाही भन्छन्, ‘पैदल यात्रु त सबै पैदलयात्रु नै हुन्, सवारी धनीहरू पनि तरकारी किन्न जाँदा पैदलयात्री नै हुन्छन् ।’

सरकारले सडक र सवारीमा जति लगानी गरे पनि पैदलयात्रीको सुरक्षालाई बेवास्ता गरेको उनी बताउँछन् ।

२० वर्ष पहिले फुटपाथको प्रावधान नै नरहेको सम्झदै शाही भन्छन् ‘अहिले फुटपाथ बनाउँदै गइयो तर खाल्डोमा पुर्याएर फुटपाथको अन्त्य गरिएको छ । यो पनि सडक दुर्घटनाको मुख्य कारण हो ।’

आकाशेपुल वा जेब्रा क्रसिङबाट बाटो नकाट्ने पैदलयात्रीको प्रवृत्ती पनि ठूलै समस्या भएको उनी बताउँछन् । भन्छन्, ‘पैदलयात्रुकै सुविधाका लागि बनाइएका संरचनाहरु चाहिँ कि रित्ता रहन्छन् कि त त्यहाँ व्यापार चलेको हुन्छ ।’

सहरी पूर्वाधार विज्ञ डा. किशोर थापा काठमाडौंमा जथाभावी बाटो काट्नु पैदलयात्रीको बाध्यता भएको बताउँछन् । स्थानीय सरकारले जेब्राक्रसिङको साटो आकाशेपुल बनाएका छन्, जुन तन्नेरीहरूबाहेक अरूलाई उपयुक्त नहुँदा धेरैजना सीधा सडकतिर लाग्ने गरेको उनी बताउँछन् ।

अर्काेतर्फ चालकहरू पनि आकाशेपुल भएपछि पैदलयात्रीहरू त्यतैबाट मात्र जान्छन् भन्ने हिसाबले तीव्र गतिमा सवारी चलाउँछन् । त्यसैले सबैलाई उपयुक्त हुनेगरी जेब्रा क्रसिङ बनाउन थापाको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment