Comments Add Comment

जावा ४२ : पारम्परिक डिजाइनको वैज्ञानिक र आधुनिक बाइक (भिडियो रिभ्यु)

मोटरसाइकल कस्तो चढ्ने ? सबैको एउटै रोजाइ नहुन सक्छ । तर, कुनै मोटरसाइकल यस्ता हुन्छन्, जसलाई देख्नासाथ जो केही राइडरले सोच्नसक्छ, यस्तै बाइक चढ्न पाए !

यो हो जावा-४२ । केही समयअघिसम्म त नेपालमा यो बाइक चढ्ने कुरा सपना मात्रै थियो । तर, अहिले चाहानालाई वास्तविकतामा जावाको बदल्न सोरुम पुग्दा हुन्छ ।

चेक रिपब्लिकन कम्पनी जावाका नेपालमा उपलब्ध २ वटा मोडलमध्ये जावा-४२का आफ्नै विशेषताहरु छन् । बजारले यो बाइकलाई रुचाएको पनि छ ।

यो बाइकलाई अग्नि ग्रुपले नेपाली बजारमा ल्याएको ३ महिना पनि भएको छैन । तर, यसको ख्याति भने चुलिँदो छ ।

के छ जावा ४२ मा त्यस्तो खास ?

सुरुमा त यो बाइकको लुक्सलाई हेर्नुस् । यसलाई झट्ट हेर्दा रोयल इन्फिल्ड मोटरसाइकलको याद आउन सक्छ । तर, यसलाई नियालेर हेर्नुभयो भने बिल्कुल फरक विशेषताहरु भेटाउनुहुन्छ ।

यो बाइक प्रिमियम इटालियन इन्जिनियरिङको गज्जबको उदाहरण मात्रै हैन, मजबुत र मस्त डिजाइनको जोड पनि हो । सर भाषा भन्ने हो भने यो बाइक कला र विज्ञानको सुन्दर संयोजन पनि हो ।

जावा ४२ पचासको दशकको आइकोनिक मोडलको झझल्को पनि हो । कम्पनीले यो बाइकलाई पारम्पिरिक रेट्रो लुक दिएको छ । यो बाइकको आकर्षक क्रोम र क्लासिकल कर्भ डिजाइनले जो कसैलाई मोहित पार्न सक्छ ।

पारम्पिरक लुक्सको साथमा आधुनिक प्रविधि र विशेषताको संयोजन नै यसको मूलभूत पक्ष हो । यसको शानदार लुक्ससँगैको स्टाइलिस फिनिसिङले धेरैलाई तान्नसक्छ ।

लामो साइलेन्सरले जावालाई खास देखाएको छ । बाइकको अगाडि र पछाडिको डिजाइनका साना साना पक्षलाई नियाल्नु भयो भने यसप्रति तपाईंको चाख र मोह अझ बढ्न सक्छ ।


हेड ल्याम्पको मुनि हर्नको प्रयोग गरिएको छ । पछाडि सानो टेल ल्याम्प पनि दिइएको छ ।

जावामा बढीभन्दा बढी क्रोमको एक्सेन्टहरु दिइएको छ । यसले बाइकको चमकलाई वर्षौंसम्म पनि जोगाइराख्न मद्धत गर्छ ।

यस्ता खास डिजाइन रेट्रो बाइकहरुमा मात्रै देख्न पाइन्छ । पछिल्लो समयमा फेसन ट्रन्ड नै रेट्रो लुकको छ । त्यसलाई पछ्याउनेका लागि जावा गतिलो विकल्प हो ।

पर्फर्मेन्स

रोडमा पनि यो बाइकको पर्फर्मेन्स गज्जबकै छ । शक्तिशाली इन्जिनले सुसज्जित यो बाइकमा ४ स्ट्रोक ३०० सीसीको लिक्विड कुल्ड इन्जिन छ । जसले २७ बीपीएचको दमदार पावर र २८ एनएमको टर्क उत्सर्जन गर्छ ।

कम्पनीले यसबाट पारम्परिक साउन्ड आओस् भनेर विशेष मिहिनेत गरेको देखिन्छ । जुन बाइक चढ्नेले मात्रै हैन, सडकमा हिँड्नेले पनि मज्जाले महसुस पनि गर्न सक्छन् । २० औं शताब्दीमा जावा आफ्नो लुक्स र साउन्डबाट विशेष रुपमा चिनिन्थ्यो । जसको विरासतलाई जावा ४२ले बोकेको छ । यसको शक्तिशाली बनोटले अप्ठेरो बाटोको यात्रा पनि सहज बनाइदिन्छ ।

जावा ४२ मा ६ स्पीडको ट्रान्समिसन गियर बक्स र १४ लिटरको फ्युल ट्यांक छ । यो बाइकले प्रतिलिटर ३५ देखि ४० किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ । यसले १३५ किलोमिटर प्रतिघन्टाको उच्चतम गति दिनसक्छ ।


आरामदायी

यो बाइक आरामदायी पनि छ । कम्पनीले यसमा चौंडा सिट प्रयोग गरेको छ । यसले राइडरलाई आराम मात्रै हैन, आत्मविश्वास पनि दिलाउँछ । पछाडिको सस्पेन्सनमा क्रोम हाइट्सको प्रयोग गरिएको छ ।

अगाडि टेलिस्कोपिक हाइड्रोलिक फोर्क सस्पेन्सन र पछाडि ग्यास क्यानिस्टर-टि्वन सक हाइड्रोलिक सस्पेन्सन छ । यसलाई ४ वटा प्वाइन्टसम्म एड्जस्ट गर्ने विकल्प छ । ७६५ एमएम हाइट उचाइ भएकाले जावा ४२ छोटा कदमा राइडरले पनि सहजै चलाउन सक्छन् ।

१७२ किलोग्रामको यो बाइक शहरी क्षेत्र र राजमार्गमा सहज तरिकारले चलाउन सकिन्छ । कच्ची सडकमा पनि यसको यसले चालकलाई रोमाञ्चकता प्रदान गर्छ ।

सुरक्षित र वैज्ञानिक

कम्पनीले बाइकको अन्य फिचर्सलाई पनि साधाराण र व्यवहारिक बनाएको छ । केही खास र स्टान्डर्ड प्रविधि पनि यसमा भेटिन्छ । कतिपय फिचर्स यसको रेट्रो लुक र फिलका लागि अनिवार्य पनि देखिन्छन् ।

यसमा विशेष सुरक्षा फिचर्स पनि छन् । यसमा २८० एमएमको फ्रन्ट डिस्क र १५३ एमएमको ड्रम ब्रेक छ । यो बाइकमा सिंगल र डबल च्यानल एबीएसको दुबै विकल्प छन् । इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम पनि छ ।

यो बाइकको अगाडि र पछाडिका टायरहरु पनि व्यवहारिक र वैज्ञानिक आकारका राखिएको छ । जसले सडकमा गज्जबको गि्रपिङ दिँदै शानदार र सुरक्षित राइडिङ अनुभव दिन सघाउँछ । बाइकको हि्वलबेस नै १३६९ एमएम छ ।

यो बाइकमा सिंगल इन्सट्रुमेन्ट क्लस्टरको पनि प्रयोग गरिएको छ । यसमा स्पीडोमिटर, फ्युल इन्डिकेटर र समय देखाउने गरी डिस्प्ले पनि दिइएको छ । जसले बाइक चलाउनेहरुलाई यात्राबारे पर्याप्त सूचना लिन सघाउँछ ।


मूल्य

यो बाइकको मूल्य पनि प्रतिस्पर्धात्मक छ । जावा ४२ सिंगल च्यानल र डबल च्यानल एबीएससहित २ भेरिएन्टमा उपलव्ध छ ।

सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment