Comments Add Comment

अनेरास्ववियूको आन्दोलन : बयलगाडा प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्म

कालापानी, लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न माग

२१ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यसैगरी पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने अनेरास्ववियूले जनाएको छ ।

पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने  र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गरी २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने अनेरास्ववियूका नेता बस्नेतले जानकारी दिए ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।

कालापानी, लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न माग

संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ ।

कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment